एकैदिन पौने २७ करोडले बढ्यो सेयर कारोबार, सबैभन्दा बढी सोल्टी होटलको
काठमाडौं । बिहीबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै बढेको छ । बजारमा परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको छ । जुन बुधबारको तुलनामा ०.२४ प्रतिशतले बढी हो । त्यस्तै, कारोबार रकम पनि २६ करोड ८२ लाख रुपैयाँले बढेको छ । बुधबार एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभरको कारोबारमा २६९ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसमध्ये सोल्टी होटलको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार होटलको १६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । जसको एकैदिन ११ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये अभियान लघुवित्त वित्तीय संस्थाको सेयर भने सर्किट लेभलमा कारोबार भएको छ । जसको सेयर मूल्य ९.०९ प्रतिशतले प्रतिकित्ता ७८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ६५ रुपैयाँले बढी हो । यता टप लुजरको शीर्ष स्थानमा पनि लघुवित्त संस्था छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५३ प्रतिशतले घटेर प्रतिकित्ता ६१६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४३ रुपैयाँले घटेको छ ।
नेप्सेमा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत, आइतबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार मात्रै घोराही सिमेन्ट इन्डष्ट्री, थ्री स्टार हाइड्रोपावर र अप्पर स्याङ्गी हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बिहीबार सूचीकृत भएको कम्पनीको सेयर आगामी आइतबार अर्थात साउन २८ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये घोराही सिमेन्ट इन्डष्ट्रीको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ओपनि न्यूनतम २२६.६१ रुपैयाँ र अधिकतम ६७९.८३ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने जीसीआईएल रहेको छ । त्यस्तै, नेप्से सिम्बोल टीएसएचएल रहेको थ्री स्टार हाइड्रोपावरको ४९ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम ८५.६५ र अधिकतम २५६.९५ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै आइतबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । त्यसैगरी, अपर स्याङ्गी हाइड्रोपावरको २२ लाख कित्ता आईपीओ दोश्रो बजारमा सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ८४.५४ र अधिकतम २५३.६२ रुपैयाँ तोकिदिएको छ । यससँगै कम्पनीले नेप्से सिम्बोल यूएसएचएलको नामबाट आइतबारदेखि सेयर किनबेच गर्ने छ । यी तीन वटै कम्पनीले हालै सर्वसाधारणमा आईपीओ जारी गरेका हुन् । जुन सूचीकृत भएपछि दोश्रो बजारबाट किनबेच गर्न पाइने छ ।
हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, कसलाई कति पर्यो ?
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि हाथवे इन्भेष्टमेन्ट नेपालले निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहिबार नक्साल स्थित आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रूपैयाँमध्ये १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रूपैयाँ रकमबराबरको प्रतिकित्ता अंकित मूल्य ५० दरका २९ लाख २५ हजार रूपैयाँ कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ। त्यसमध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गत साउन ४ गतेदेखि साउन १८ गतेसम्म बिक्री खुला गरेको थियो। यो आईपीओमा मागभन्दा झन्डै ४.८४ गुणा बढी आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ। आईपीओमा २७ हजार २३६ जना आवेदनबाट १४ लाख १७ हजार ४४० कित्ता सेयरको लागि दरखास्त प्राप्त भएकोमा आवश्यक रुजु र छानबिनपश्चात दोहोरो आवेदन दिने र श्रम अनुमतिको म्याद सकिएका कारणले ५ वटा आवेदन (३ जना आवदेकको) मार्फत प्राप्त २६० कित्ता सेयर रद्द गरी २७ हजार २३१ जना आवेदकबाट प्राप्त भएको १४ लाख १७ हजार १८० कित्ता सेयर बाँडफाँट लागि योग्य देखिएको क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार २० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिने २७ हजार २३१ जना आवेदकमध्ये १४ हजार ६२५ जनालाई गोलाप्रथा विधिमार्फत २० कित्ताका दरले बाँडफाँड गरिएको छ। त्यसैगरी सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरिएको २९ लाख २५ हजार कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात १ लाख ४६ हजार २५० कित्ता सेयर १३ वटा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४३ वटा सामूहिक लगानी कोषका योजनाहरुलाई समानुपातिक रुपमा बाँडफाँड भइसकेको क्यापिटलले जनाएको छ। आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडीएसले आइपीओ नतिजा हेर्न संचालनमा ल्याएको आइपीओ रिजल्ट डट सिडियससी डट कम एनपी वेबसाइटबाट हेर्न सकिन्छ ।