सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फण्डहरुको लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा फण्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई लाभांश वितरण गर्ने छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले भने लाभांश वितरण नगर्ने भएको हो । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई करसहित ६.५ प्रतिशतका दरले ७ करोड ८० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले ७ करोड ५० लाद रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई भने प्रतिफल वितरण नगर्ने घोषणा गरेको हो ।

थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । सेबोनले बिहीबार गरेको निर्णयअनुसार ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो । सेबोनका अनुसार सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्युरिटिज, बेनी सेक्यूरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्यूरिटिजलाई लाइसेन्स दिएको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । एनका अनुसार सजिलो ब्रोकर, रोडसो र बेनी सेक्यूरिटिजले सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्यूरिटिजले पूर्ण कार्य गर्ने लाइसेन्स पाएका हुन् । नेपाल धितोपत्र बोर्डबाट नयाँ ब्रोकरको संख्या ३७ पुगेको छ । ब्रोकर लाइसेन्सका लागि आवेदन दिएकामध्ये ४३ कम्पनीहरुलाई आशयपत्र प्राप्त गरेका छन् ।

यातायात अवरुद्ध भएपछि माथिल्लो मैलुङको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई भदौ १७ गतेसम्म आवेदन सदने समय थप गरेको हो । कम्पनीले यसअघि गत साउन ४ गतेदेखि भदौ १ गतेसम्म आवेदन समय खुला गरेको थियो । तर, अविरल वर्षाले बाढी पहिरो लगायतले यातायात संचालन अवरुद्ध भएको थियो । त्यसैले आईपीओ संकलन केन्द्रमा आवेदन बुझाउन सहज नभएकाले भदौ १७ गतेसम्म आवेदन दिने समय थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका १ (साबिक हाकु गा.वि.स. ८ र ९ तथा डाँडागाउँ गा.वि.स. ७, ८ र ९)का बासिन्दालाई ५ लाख ७१ हजार ४३० किता, आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका २, ३, ४ र ५ (साबिक डाँडागाउँ गा.वि.स. १, २, ३, ४, ५ र ६, ठुलोगाउँ गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८ र ९, लहरेपौवा गा.वि.स. १, २, ३, ४, ५, ६, ७ र ९) र नुवाकोटको किस्पाङ गाउँपालिका ५ (साबिक मनकामना गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८, र ९)का स्थानीय बासिन्दालाई २ लाख ८५ हजार ७२० किता र रसुवाको अन्य क्षेत्रका बासिन्दालाई १ लाख ४२ हजार ८५० किता गरी कूल १० लाख कित्ता सेयर बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १ लाख १५ हजार कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले सानिमा बैंकका विदुर, किस्पाङ, धुन्चे शाखाबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।