नेप्से परिसूचक घट्दा कारोबार बढ्यो, सोल्टी होटलको सेयर सर्वाधिक किनबेच
काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले घटी हो । परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब ५१ करोडको कारोबार भएको बजारमा बिहीबार एक अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २७५ वटा स्क्रीप्स कारोबारमा आएको बिहीबारको बजारमा सोल्टी होटलको सर्वाधिक सेयर किनबेच भएको छ । होटलको एकैदिन ७ करोड ८७ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कित्ताको आधारमा पनि सोल्टी होटलकै सर्वाधिक किनबेच भएको छ । जसको एकैदिन एक लाख ७० हजार २१८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसको सेयर मूल्य भने ७.९० रुपैयाँले घटेर अन्तिम कारोबार प्रतिकित्ता ४५५.१० रुपैयाँमा भएको छ । बिहीबार टप गेनरको शीर्ष स्थानमा कुथेली बुखारी स्मल हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा मौलुङ हाइड्रोपावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता १६२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । दुई दिन लगातार हरियाली छाएको बजार बिहीबार राताम्मे देखिएको छ । कारोबारमा आएका सबै उपसूचकहरु घट्दा बजार राताम्मे भएको हो ।
नेप्सेमा एक लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्त संस्थाको १४.२५ प्रतिशत बोनस अर्थात २ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले हिमालयन एभरेष्टको सेयर बेच्दै
काठमाडौं । नेपाल इनभेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी वहादुर पाँडेले हिमायलन एभरेष्ट इन्स्योरेन्सको सेयर बिक्री गर्ने भएका छन् । हिमायलन एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरधनी पाँडे आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । पाँडेले आफ्नो नाममा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । दोश्रो बजारमा खुला कारोबार नहुने भएकाले सो सेयर बिक्री गर्न पाँडेले संचालक समितिमा निवेदन दिएका थिए । सो सेयरमा संस्थापक सेयरधनीहरुको पहिलो हक रहने छ । उनले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता २ सय रुपैयाँ तोकिएको छ । त्यसैले सो मूल्य नघट्ने गरी खरीद गर्न ईच्छुक संस्थापकले आवेदन पेश गर्नु पर्नेछ । ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन आग्रह गरिएको छ ।