भिजन लुम्बिनी उर्जाले भदौ १९ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता भर्ने ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले भदौ १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । सो सेयरमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १, २, ३, ४ र पोखरा महानगरपालिका १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख ९१ हजार २५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम स्थानीयले ३ लाख ८० हजार कित्ता र वेदेशिक रोजगारमा रहेका नेपालीले १९ हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा असोज १७ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।

माण्डु हाइड्रोपावरको आईपीओ २०६ रुपैयाँमा बिक्री खुला

काठमाडौं । माण्डु हाइड्रोपावरले आज भदौ १० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण्लाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको स्थानीयलाई बिक्री गरेको सेयरमा आवेदन नपरेको ७९ हजार ३० कित्ता सहित गरी कूल १३ लाख ६ हजार ३०६ कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारी र ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २४ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।

मेगा स्टक मार्केट्सले शुरु गर्यो ब्रोकर सेवा, लगानीकर्ताले आइतबारदेखि कारोबार गर्न सक्ने

काठमाडौं । मेगा स्टक मार्केट्सले धितोपत्र दलाल सदस्य नं ७५ बाट धितोपत्र दलाल सेवा शुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेको मेगा स्टकले शुक्रबार अर्थात भदौ ८ गतेदेखि सेवा शुरु गरेको हो । होटल एलोफ्टमा एक कार्यक्रम आयोजना गर्दै उक्त स्टक मार्केट्सको उद्घाटन गरिएको हो । यससँगै भदौ १० गते आइतबारका दिनबाट लगानीकर्ताले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि ग्राहकले यो लिंकमा लगइन गर्नुपर्ने हुन्छ । कार्यक्रमको अवसरमा कम्पनीले सुशासन, नियम परिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शीर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रीत रहने कम्पनीले जानकारी गराएको छ । उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रीत हुने, पूँजीबजारको बिकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।