अरुण काबेलीको हकप्रद बिक्री खुला, १ सय कित्ता बराबर नयाँ १ सय कित्ता पाउने

काठमाडौं । अरुण काबेली पावर कम्पनीले आज भदौ ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको हकप्रदमा सेयरधनीहरुले नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ ।

लक्ष्मी सनराइज बैंकको सेयर नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंककाे सेयर सूचीकृत भएको छ । साविक लक्ष्मी र सनराइज बैंक मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट सेयर सूचीकृत भएको हो । आइतबार बैंकको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेले पहिलो कारोबारका लागि लक्ष्मी सनराइज बैंकलाई प्रतिकित्ता १७३.०५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । सोही मूल्यबाट सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने छ । नेप्सेले मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरेको छ । साबिक लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । यी दुवै बैंकले गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए । नेप्सेले असार २९ गतेबाट मर्जर प्रयोजनका लागि यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।

फेरि २००० अंक मुनी ओर्लियो नेप्से, कुथेली बुखरीको सर्किट लेभलमै कारोबार जारी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २०.५४ अंक घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको नेप्सेलेले आज पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो । आइतबारको कारोबारपछि नेप्से पुनः २००० विन्दुभन्दा तल अर्थात १९९३.३८ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ । आइतबारको सेयर बजारमा २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से उच्च अंकले घट्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विहीबार पनि उक्त हाइड्रोपावरको सेयर सकरात्क सर्किट लेभलमा कारोबार भएको थियो । आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आइतबार एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । एशिएन लाइफ इन्स्योरेन्सको ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको करिब ५ करोडको शेयर किनबेच भएको छ । १३ उप–समूहमध्ये यस दिन म्युचुअल फण्ड उप–समूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।