हिमालयन क्यापिटलले सिभिललाई गाभ्ने, स्वाप रेसियो १००:३१ अनुपात
काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई गाभ्ने भएको छ । दुवै क्यापिटलका माउ संस्था (हिलमायन बैंक र सिभिल बैंक) एक आपसमा मर्जर तथा एक्विजिशन भएपश्चात् हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई गाभ्ने भएको हो । दुवै क्यापिटललको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन (डीडीए)अनुसार सेयर आदान प्रदान अनुपात १००ः३१ स्वाप रेसियो मर्ज हुने भएका हुन् । अर्थात् सिभिल क्यापिटलको १ सय कित्ता सेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता सेयर पाउने छन् । सिभिल क्यापिटललाई गाभेपश्चात् हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार गर्नेछन् । हिमालयन क्यापिटलले सिभिललाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २७ गते बिहान ११ बजे रजिष्टर्ड कार्यालय ठमेलमा सभा बोलाएको हो । क्यापिटलको सभाले डीडीए प्रतिवेदनले निर्धाणरण गरेको स्वाप रेसियो पारित गर्नेछ । त्यस्तै, सिभिललाई गाभेपछि जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । साथै, सिभिललाई प्राप्ति गर्ने प्रक्रिया सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
बाराही सेदी र एनएमबि क्यापिटलबीच सम्झौता, बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल नियुक्त
काठमाडौं । पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी र एनएमबी क्यापिटलबीच इसियु मेनेजमेन्ट एग्ररिमेन्ट साइनिगं सेरोमोनी सम्पन्न भएको छ । बाराही सेदीले सर्वसाधारणका लागि आइपीओ मार्फत साधारण शेयर निष्काशन गर्नका लागि यी दुई कम्पनीबीच सम्झौता भएको हो । यो सम्झौतापछि बाराही सेदी लिमिटेडको शेयर निस्काशन र बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको हो । जारी पूँजी १ अर्व १६ करोड रुपैयाँ रहेको उक्त होटलले जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ६० लाख रुपैयाँ बराबरको ११ लाख ६० हजार कित्ताको शेयर जारी गर्ने कम्पनीले जनाएको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि होटलले एनएमबि क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक बिप्लब पौडेल तथा धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरि प्रसाद पौडेल, बोर्ड सदस्य बसन्ती पौडेल, बैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटलका कमल प्रसाद नेपाल तथा आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी सञ्चालक विप्लव पौडेलले बताएका छन् । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भै सकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको । होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । पोखराको लेकसाइड मै पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको छ । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् ।
सोमबार लक्ष्मी सनराइजको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो
काठमाडौं । सोमबारको सेयर बजारमा लक्ष्मी सनराइज बैंकको सर्वाधिकर सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य पनि बढेको छ । दिनभरको बजारमा बैंकको सेयर रमूल्य बढेर प्रतिकित्ता १८१.२० रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४.७१ प्रतिशतले बढी हो । सोमबारको सेयर बजार सामान्य अंकले बढेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले बढी हो । बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले बढेको छ । सो दिन हाइड्रोपावर, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी होटल्स समूह ४५.२३ अंकले बढेको छ ।