यूनिभर्सल पावरको लाभांश घोषणा, आह्वान गर्याे साधारणसभा

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते काठमाडौंमा दिउँसो १२ः१५ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । आयलको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२५.९२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २८२.४० रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २२५.९२ रुपैयाँलाई आधार मानेर हुने छ ।

नाफा बुक गर्नेको हावी हुँदा घट्यो सेयर बजार, ७ अर्ब माथिको कारोबार

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक २१.०३ बिन्दुले घटेर २०८८.०७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशतले घटी हो । परिसूचक दोहोरो अंकले घटेको बजारमा सेयर कारोबार रकममा भने सुधार देखिएको छ । बजारमा एकैदिन ७ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन विगत एक वर्षयताकै उच्च कारोबार हो । गत साता लगातार बढेको बजारमा नाफा बुक गर्नेको हावी हुँदा नेप्से परिसूचक घट्न पुगेको जानकारहरु बताउँछन् । ३०९ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा अधिकांश अथाएत १६१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थीर छ । घटेको बजारमा पनि दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा बोटलर्स नेपाल (बालाजु), कालिका पावर कम्पनी, सामलिङ्ग पावर कम्पनी, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनी र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिकक कम्पनीको ९.९८ प्रतिशत, भिजन लुम्बिनी उर्जा कम्पनीको ९.९८ प्रतिशत, नेपाल वेयरहाउजिङ्ग कम्पनीको ९.९७ प्रतिशत, माई खोला हाइड्रोपावरको ९.९७ प्रतिशत र मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.९७ प्रतिशतले सेयर मूल्य बढेको छ । यता ज्योति विकास बैंक बोण्ड २०८७ र नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य ९.८५ प्रतिशतले घटेर प्रतिकित्ता ८३२.१० रुपैयाँमा झरेको छ ।