काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक २१.०३ बिन्दुले घटेर २०८८.०७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशतले घटी हो ।
परिसूचक दोहोरो अंकले घटेको बजारमा सेयर कारोबार रकममा भने सुधार देखिएको छ । बजारमा एकैदिन ७ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन विगत एक वर्षयताकै उच्च कारोबार हो ।
गत साता लगातार बढेको बजारमा नाफा बुक गर्नेको हावी हुँदा नेप्से परिसूचक घट्न पुगेको जानकारहरु बताउँछन् ।
३०९ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा अधिकांश अथाएत १६१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थीर छ ।
घटेको बजारमा पनि दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा बोटलर्स नेपाल (बालाजु), कालिका पावर कम्पनी, सामलिङ्ग पावर कम्पनी, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनी र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिकक कम्पनीको ९.९८ प्रतिशत, भिजन लुम्बिनी उर्जा कम्पनीको ९.९८ प्रतिशत, नेपाल वेयरहाउजिङ्ग कम्पनीको ९.९७ प्रतिशत, माई खोला हाइड्रोपावरको ९.९७ प्रतिशत र मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यता ज्योति विकास बैंक बोण्ड २०८७ र नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य ९.८५ प्रतिशतले घटेर प्रतिकित्ता ८३२.१० रुपैयाँमा झरेको छ ।