एपोलो हाइड्रोको आईपीओ प्रत्याभूतिकर्तामा मुक्तिनाथ क्यापिटल

काठमाडौं । एपोलो हाईड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ । यस कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिति २०७५ साल साउन २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको छ ।

३ बैंकसहित ७ कम्पनीको आज सेयर खरिद गरे लाभांश पाइने

काठमाडौं । बुधबार विभिन्न ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेपाल टेलिकम (एनटिसी), शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरूले पुस १९ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न २३औं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे बोलाएको हो । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद गरी कूल १०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न १७औं वार्षिक साधारणसभा पुस २८ गते सिटी स्क्वायर न्यूरोड काठमाडौंमा दिनको १ बजे बोलाएको हो । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँको ६.४० प्रतिशत अर्थात् २६ करोड ६९ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न २२औं वार्षिक साधारणसभा पुस २८ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बोलाएको हो । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत नगद (कर सहित) लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न पुस २९ गते लेकसाइड पोखरामा ११औँ वार्षिक साधारण सभा बोलाएको छ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश पारित गर्न पुस २९ गते १६औं वार्षिक साधारणसभा राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । शिवम् सिमेन्टले गत वर्षको नाफाबाट १४.२७ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २७ गते बिहान ९ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा आठौं वार्षिक साधारण सभा डाकेको हो । बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशतका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ३१औं वार्षिक साधारणसभा पुस २९ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको हो ।

लक्ष्मी सनराइज मर्जपछि राजेन्द्र खेतान एसबिआई बैंकमा प्रवेश

काठमाडौं । नेपाल एसबिआई बैंकमा विभिन्न ३ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ३ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार स्टेट बैंक अफ इण्डिया (एसबिआई)को ५५ प्रतिशत अर्थात् ५ अर्ब ५६ करोड ६३ लाख ४५ हजार ७२९ रुपैयाँ लगानी नेपाल एसबिआईमा छ । यस्तै, सबैभन्दा धेरै ठूलो सेयरधनीहरूमध्ये कर्मचारी संचय कोषको १५ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड ८० लाख ९४ हजार ३४० रुपैयाँ सेयर स्वामित्व छ । बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ छ । जसमध्ये सर्वसाधारण सेयरधनीहरूको ३० प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६१ लाख ८८ हजार ६१२ रुपैयाँ सेयर लगानी बैंकमा छ । बैंकको सञ्चालक समेत रहेकी अप्सरा उप्रेतीको ५ हजार ४६१ कित्ता सेयर रहेको तथ्याङ्क छ । यस्तै, बैंकको व्यवस्थापकहरू सहायक महाप्रबन्धक विष्णुदेव यादवको २ कित्ता र अर्जुन नेपालको ६ हजार ४८३ कित्ता सेयर लगानी छ । साथै, कम्पनी सचिव श्रीधर अधिकारीको २ हजार ३४९ कित्ता सेयर रहेको बैंकले जनाएको छ । सन् २०२३ जुलाई १६ तारिखसम्मको तथ्याङ्क अनुसार बैंकका सबैभन्दा ठूला १० सेयरधनीहरू स्टेट बैंक अफ इण्डिया, कर्मचारी संचय कोष, हिमालयन लाइफ इन्स्योरेन्स, बालकृष्ण श्रेष्ठ, राजेन्द्र कुमार खेतान, प्रभु सेलेक्ट फण्ड, रोजन कर्मचार्य, नेपाल लाइफ इन्स्योरेन्स, अमिर श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठ हुन् । जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको ०.५१७२ प्रतिशत सेयर छ । राजेन्द्र खेतान लक्ष्मी बैंकका मुख्य प्रवर्द्धक हुन् । खेतानले लक्ष्मी बैंकको अध्यक्ष पद छाेडेकाे करिब एक दशक भयाे । लक्ष्मी र सनराइज मर्जपछि अहिले लक्ष्मी सनराइज बैंक भएको छ । पछिल्लाे समय खेतान सेयर बजारका सक्रिय ठूला लगानीकर्ता भएकाे जानकारहरू बताउँछन् ।