काठमाडौं । बुधबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज पुस १९ गते अन्तिम दिन हो ।
साधारणसभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरूले पुस २० गते सेयरधनी किताब बन्द (बुक क्लोज) निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे २९औँ वार्षिक साधारणसभा डाकेको छ ।
बोटलर्स नेपाल (तराई)ले गत वर्षको नाफाबाट सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २७ गते सोल्टी होटल ताहाचल काठमाडौंमा दिउँसो १२ बजे ३७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
मन्दाकिनी हाइड्रोपावरले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे १०औँ वार्षिक साधारणसभा बोलाएको हो ।