कालंगा हाइड्रोको वार्षिक साधारण सभा चैत २८ गते
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समिति बैठकले चैत २८ गते बुधबारका लागि सभा बोलाएको हो । कम्पनीको सभा केन्द्रीय कार्यालय धोवीघाट, ललितपुरमा दिउँसो १ बजे हुने भएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।
अरुण भ्याली हाइड्रोको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । फागुन १७ गतेदेखि बिक्री खुला भएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । उक्त हकप्रद सेयरको लागि यसले माघ १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको छ ।
एकैदिन पौने अर्बले बढ्यो सेयर कारोबार, तीन कम्पनीमा सर्किट
काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटी हो । बजारमा परिसूचक घटेपनि कारोबार रकम भने पौने एक अर्बले बढेको छ । सोमबार २ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार भने ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सामान्य घटेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौरागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । जसमध्ये सर्वोत्तम सिमेन्टको आजै दोश्रो बजारमा पहिलो कारोबार भएको हो । बजारमा तीन समूह मात्रै हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।