गणपुरक संख्या नपुगेपछि सपोर्ट लघुवित्तले पुनः डाक्यो एजीएम

काठमाडौं । सपोर्ट लघुवित्त वित्तिय संस्थाले चैत १७ गते पुनः नवौं वार्षिक साधारण सभा(एजीएम) बोलाएको छ । यसअघि गणपुरक संख्या नपुगेका कारण पुस २७ गते बोलाइएको साधारण सभा स्थगित भएको थियो । सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरूसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

कुमारी बैंकको १ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको १ लाख ४८ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकमा विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ४८ हजार ३६३ संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी निरप्रसाद घिमिरेले ७० हजार ६५, जनक तिमल्सिनाले २७ हजार ३३ र बालकृष्ण दाहालले ६१ हजार २६५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो चरणमा बिक्रीका लागि प्राथमिकता दिइएको छ । इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् । तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा कानुनी प्रावधानअनुसार अन्य व्यक्ति तथा संस्थालाई उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

बजारमा परिसूचकसँगै घट्यो कारोबार, अधिकांश समूह राताम्मे

काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा परिसूचक १०.६२ अंकले घटेको छ भने कारोबार रकम ५६ करोडले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक गत बिहीबारको तुलनामा ०.५१ प्रतिशतले घटेर २०७०.२५ बिन्दुमा झरेको छ । त्यस्तै, आइतबारको बजारमा ३ अर्ब ३८ कम्पनीको सेयर कारोबार भएको छ । यसअघि अर्थात गत बिहीबारको बजारमा भने ३ अर्ब ९४ करोडको सेयर किनबेच भएको थियो । आइतबार सर्वाधिक सेयर कारोबार हुनेको सूचीमा शिवम् सिमेन्ट रहेको छ । जसको एकैदिन ४१ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै सेयर मूल्य पनि एकैदिन २१.९० रुपैयाँले बढेर प्रतिकित्ता ५७६ रुपैयाँ पुगेको छ । घटेको बजारमा पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १० प्रतिशतले बढेर प्रतिकित्ता २८७.१० रुपैयाँ पुगेको छ । त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ३४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आइतबार टप लुजरको अग्रस्थानमा भने वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य एकैदिन ९०.५० रुपैयाँ अर्थात ७.८३ प्रतिशतले घटेर प्रतिकित्ता १०६६ रुपैयाँमा झरेको छ । आइतबार कारोबारमा आएका अधिकांश समूह राताम्मे देखिएका छन् । विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूह बाहेक बाँकी समूह घटेर राताम्मे देखिएका हुन् ।