सेयर बजारमा एक वर्षयताकै उच्च कारोबार, ७ अर्बको सेयर किनबेच हुँदा १५ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । बुधबारको सेयर बजारमा ७ अर्ब माथिको सेयर कारोबार भएको छ । जुन विगत एक वर्ष यताकै उच्च कारोबार हो । यसअघि २०७९ पुस २६ गतेको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयताको बजारमा भने ७ अर्ब रुपैयाँको सेयर कारोबार हुन सकेको थिएन । ३०६ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ६१३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १९ रुपैयाँले बढी हो । त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने ३५.३९ अंकले बढेर २१४१.८७ बिन्दुमा पुगेको छ ।  जुन अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशतले बढी हो भने गत पाँच महिना यताकै उच्च हो । गत साउन १० गतेको बजारमा नेप्से परिसूचक २१५६ बिन्दुमा थियो ।

नेप्सेमा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत, बिहीबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार मात्रै नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिर्ख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बुधबार सूचीकृत भएको कम्पनीको सेयर बिहीबार अर्थात पुस ५ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये नेपाल वेयरहाउजिङ्ग कम्पनीको ६८ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्यूनतम ९३.०४ रुपैयाँ र अधिकतम २७९.१२ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने ‘एनडब्लुसीएल’ रहेको छ । त्यस्तै, नेप्से सिम्बोल ‘सीकेएचएल’ रहेको चिर्ख्वा हाइड्रोपावरको ४० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १००.०१ र अधिकतम ३००.३ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बिहीबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । त्यसैगरी, भिजन लुम्बिनी उर्जा कम्पनीको एक करोड ९१ लाख २५ हजार कित्ता आईपीओ दोश्रो बजारमा सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम १२१.७८ र अधिकतम ३६५.३४ रुपैयाँ तोकिदिएको छ । यससँगै कम्पनीले नेप्से सिम्बोल ‘भीएलयूसीएल’को नामबाट बिहीबारदेखि सेयर किनबेच गर्ने छ । यी तीन वटै कम्पनीले हालै सर्वसाधारणमा आईपीओ जारी गरेका हुन् । जुन सूचीकृत भएपछि दोश्रो बजारबाट किनबेच गर्न पाइने व्यवस्था छ ।

फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा, भन्छ : इन्टरनेटको समस्याले गल्ती भयो

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । लाभांश घोषणा सम्बन्धी जानकारी समयमा नगरेको भन्दै नेप्सेले रोकिदिएको लघुवित्तको सेयर कारोबार बुधबार अर्थात पुस ४ गतेबाट फुकुवा भएको हो । नेप्सेलाई समयमा जानकारी नगराएको भन्दै नेप्सेले कारणसहितको स्पष्टिकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार लघुवित्तले पत्रमार्फत सुविसु इन्टरनेटको कनेक्टीभिटीमा समस्या आएकोले समयमा जानकारी गराउन नसकिएको बताएको छ । साथै, कम्पनीले पत्रमार्फत आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिवद्धता समेत गरेको नेप्सेले बताएको छ । कम्पनीको मंसिर २७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश जारी नगर्ने निर्णय गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर २८ गते बिहीबार दिउँसो १२ बजेर ४६ मिनेटमा मात्रै उपलब्ध गराएको थियो । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर फरवार्ड माइक्रोफाइनान्सले त्यसको विपरित काम गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार गत मंसिर २८ गतेदेखि स्थगन गरिदिएको थियो । उक्त कारोबार पुस ४ गतेदेखि पुनः सुचारु भएको नेप्सेले जानकारी गराएको छ ।