सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस दिने, पुस २७ गते साधारणसभा बस्दै

काठमाडौं, ५ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २२ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय पुस १ गते र पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । साथै, उक्त बैठकले कम्पनीको २०औँ साधारणसभा यही पुस २७ गते बोलाएको छ । कम्पनीको बोनस दिने निर्णयलाई सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउनेछन् ।

जनता बैंकले हकप्रद सेयर आवेदन भर्ने म्याद थप्यो, पुस १० गतेसम्म हकप्रदको आवेदन दिन सकिने

काठमाडौ, ५ पुस । जनता बैंकले हकप्रद सेयर आवेदन दिने म्याद थपेको छ । आवश्यक रुपमा हकप्रदको लागि आवेदन नपरेपछि बैंकले आवेदन भर्ने म्याद थपेको हो । जनता बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । बैंकले सेयर आवेदन भर्ने म्याद मंगलबारसम्म राखिएको थियो । तर पर्याप्त आवेदन नपरेपछि पाँच दिन बढाएर पुस १० गतेसम्मको लागि आवेदन दिने म्याद राखेर मंगलबार सार्वजनिक सुचना जारी गरेको छ । हकप्रद सेयर भर्नका लागि भने कात्तिक १० गते सम्म जनता बैंकको सेयर किनिसक्नुपर्ने छ । जनता बैंकको सेयर बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ ।

नागबेली लघुवित्तले ६० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर दिने

काठमाडौं, ५ पुस । नागबेली लघुवित्त विकास बैंकले ६० प्रतिशत बोनस सेयर र शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस ४ गते बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको नाफाबाट ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै, कम्पनीले शप्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । कम्पनीले पुँजी वृद्धिको योजनासहित हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बोनस सेयर र हकप्रद सेयर जारी प्रयोजनका लागि नागबेलीले आगामी पुस २९ गते सातौं बार्षिक साधारण सभा समेत बोलाएको छ । त्यस बाहेक नागबेलीले सोही साधारण सभाबाट कार्य क्षेत्र विस्तारका योजना समेत पारित गर्ने योजना बनाएको छ । कार्य क्षेत्र विस्तार गरेर कम्पनीले १० जिल्लामा सेवा सञ्जाल पुर्याउने छ ।