सोमबारको सेयर बजारमा उतारचढाव, नेप्से १७ अंकले वृद्धि, ५१ करोडको सेयर कारोबार

काठमाडौ, १८ पुस । सोमबार सेयर बजारमा उतारचढाव देखिएको छ । सेयर कारोबार सुरु भएको आधा घन्टामै नेप्से परिसूचक बढेर १४८४ अंकमा पुगेको थियो । त्यसपछिको एक घण्टामा फेरि घटेर १४६६ अंकमा पुगेको थियो । त्यसपछिको सेयर कारोबार भने केही टेवा पुगेको देखिन्छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक १७ दशमलब १३ अंकले बढेर १४८२ अंकमा अडेको छ । सोमबार बजारमा ५१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोही दिन १३० कम्पनीको १० लाख १७ हजार कित्ता सेयर किनबेच भएको हो । सोमबार जस्तै आइतबार पनि सेयर बजार उकालो लागेको थियो । सो दिन होटल समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २८ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २३ र १३ अंकले बढेका छन् । होटल समूहको परिसूचक ६ दशमलब ३७ अंकले ओरालो लागेको छ । बजारमा तीन कम्पनीका सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, अरुण फाइनान्स र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले क्रमशः ९.७५, ९.६४ र ९.२९ प्रतिशत कमाएका छन् । मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सिटिजन बैंक इन्टरनेशनल, बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको २ करोड बढीको सेयर कारोबार भएको छ ।

सोमबार मात्रै ३ करोड कित्ता बोनस र एक लाख बढीको हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १८ पुस । सोमबार मात्रै २ करोड ९९ लाख ४४ हजार ६८१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन मिथिला लघुवित्त विकास बैंकको एक लाख ६९ हजार ७४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार ४ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । नविल बैंकको एक करोड ४२ लाख ८९ हजार ३७४ कित्ता र अपी पावर कम्पनीको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ४९ लाख १४ हजार ०२७ कित्ता र कन्ट्रि डेभलपमेन्ट बैंकको २ लाख ४१ हजार २८० कित्ता गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृति भएको छ ।

कञ्चनको ९ लाख ९० हजार कित्ता हकप्रद खुला, माघ २३ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, १८ पुस । कञ्चन डेभलपमेन्ट बैंकले कुल ९ लाख ९० हजार कित्ता हकप्रदको बिक्री खुला गरेको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले सोमबार (आज) देखि माघ २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार लगानीकर्ताले कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालय, ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका अन्य विभिन्न सात शाखाबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटले गरिरहेको छ । हाल बैंकको चुक्ता पूँजी १९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।