बैंकको नाममा एसएमएस ठगी बढ्दै, शंकास्पद लिंक क्लिक नगर्न टेलिकमको आग्रह
काठमाडौं । नेपाल टेलिकमले एसएमएस सेवाको दुरुपयोग गर्दै बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । टेलिकमका अनुसार ‘एसएमएस’ सेवामार्फत कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम प्रयोग गरी नक्कली सन्देश पठाइँदै आएको पाइएको छ । यस्ता सन्देशमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको भन्दै ग्राहकलाई शंकास्पद लिंकमा प्रवेश गर्न प्रेरित गरिन्छ । कम्पनीले यस्ता एसएमएस, फोन कल तथा लिंकप्रति सजग रहन अनुरोध गर्दै कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न आग्रह गरेको छ। साथै आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न समेत सुझाव दिएको छ । नेपाल टेलिकमले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटीपी, पासवर्ड, पिन, सिभिभी लगायतका संवेदनशील जानकारी कसैसँग पनि साझेदारी नगर्न आग्रह गरेको छ । बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न कम्पनीले सुझाएको छ । त्यस्तै, शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ । ग्राहकको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकाले यस्ता भ्रामक गतिविधिबाट बच्न सबैमा सचेतना आवश्यक रहेको टेलिकमले जनाएको छ ।
शुक्रबार किताब बोक्नु नपर्ने, साढे ६ हजार विद्यार्थीको बीमा
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा हरेक शुक्रबारलाई ‘बुक फ्रि डे’का रूपमा सञ्चालन गर्न थालेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान र नैतिक शिक्षामा अब्बल बनाउने उद्देश्यले सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए । ‘हामीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई व्यावहारिक र जीविकोपार्जनसँग सम्बन्धित शिक्षा दिन सुरु गरेका छौँ,’ राष्ट्रिय सञ्चार केन्द्र नेपालले आइतबार आयोजना गरेको वडागत विकास तथा सामाजिक कार्यको स्थलगत अवलोकन कार्यक्रममा उनले भने, ‘शुक्रबारलाई ‘बुक फ्रि डे’ बनाएर फरक ढङ्गबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेका छौँ ।’ प्रवक्ता आचार्यले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको दाबी गरे । ‘अहिले सामुदायिक विद्यालयमा भर्ना नै नपाउने अवस्था बनेको छ । विद्यार्थीको चाप अत्यधिक बढिरहेको छ,’ उनले भने । मध्यपुरथिमि नगरपालिका-३ का वडाध्यक्ष समेत रहेका आचार्यले वडा कार्यालयले भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक सुरक्षा, स्वास्थ्योपचार, शिक्षा तथा अन्य जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउन विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा केन्द्रीकृत भान्छा घर सञ्चालन गरी विद्यार्थीलाई गुणस्तरीय दिवा खाजा खुवाउँदै आइरहेको छ । त्यसका लागि नगरपालिकाले ‘केन्द्रीकृत भान्छा घर सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । प्रत्येक विद्यालयमा दिवा खाजा तयारीका लागि अलगअलग भान्छाको व्यवस्था गर्दा समय, श्रम र लागत बढ्नकाे साथै गुणस्तरमा एकरूपता कायम गर्न कठिन हुने भएकाले एकीकृत भान्छा घर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । गुणस्तरीय दिवा खाजा कार्यक्रमले अभिभावक र विद्यार्थीलाई ठूलो राहत भएको प्रवक्ता आचार्यले बताए । ‘यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकका लागि आफ्ना छोराछोरीलाई के खाजा पठाउने भन्ने चिन्ता हटेको छ,’ उनले भने । सो कार्यक्रमबाट सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास कक्षा (इसिडी) देखि ५ सम्म अध्ययनरत करिब २ हजार ८०० विद्यार्थी लाभान्वित भएका छन् । विद्यार्थीलाई दैनिक फरक-फरक पोषणयुक्त खाजा खाद्य निरीक्षकको निगरानीमा वितरण गरिँदै आइएको छ । यस कार्यक्रमले बालबालिकाको पोषण, स्वास्थ्य तथा विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव परिरहेको नगरपालिकाको दाबी छ । नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने ६ हजार ५०० बढी विद्यार्थीको दुर्घटना बिमाको कार्यक्रम पनि अघि सारेको छ ।
विज्ञान मन्त्रालयको स्थापनासँगै नेपाल प्रविधि नवप्रवर्तन केन्द्रको भूमिका र सक्रियता बढ्दै
काठमाडौं । नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उच्च प्राथमिकता दिँदै सरकारले पहिलो पटक विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेसँगै देशमा डिजिटल रूपान्तरण र प्रविधिमैत्री विकासले नयाँ गति लिने विश्वास गरिएको छ । यस नीतिगत परिवर्तनलाई व्यवहारमा उतार्न शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण देखिएको परिवेशमा, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा स्थापित नेपाल प्रविधि नवप्रवर्तन केन्द्रले युवाहरूका नवीन सोचलाई व्यावहारिक रूप दिन महत्वपूर्ण योगदान पु¥याइरहेको छ । विगतमा सरकार तथा सरोकारवालाहरूको पर्याप्त ध्यान नपुग्दा राष्ट्रिय स्तरमा पहिचान बनाउन विभिन्न कठिनाइहरू झेलेको यस केन्द्रले माननीय महावीर पुनको नेतृत्वदायी अभियानबाट थप ऊर्जा प्राप्त गर्दै विशेषगरी ग्रामीण क्षेत्रमा नवप्रवर्तनको पहुँच विस्तार गर्न उल्लेखनीय भूमिका खेलिरहेको छ । नेपाल सरकार र दक्षिण कोरिया सरकार कोइकाको संयुक्त सहयोगमा स्थापित यो अत्याधुनिक केन्द्रले सुरुवाती चरणदेखि नै कृषि, वैकल्पिक ऊर्जा र स्वास्थ्यजस्ता ग्रामीण जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । केन्द्रका निर्देशक प्रा. डा. बिम प्रसाद श्रेष्ठको परिकल्पना र नेतृत्वमा सञ्चालित यस संस्थाले दीर्घकालीन सैद्धान्तिक अनुसन्धानभन्दा बाहिर निस्केर व्यवसायीकरण, स्टार्टअप प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिएको छ । केन्द्रले स्टार्टअप र इन्क्युबेसन कार्यक्रममार्फत युवा तथा महिलाहरूलाई बीउ पूँजी, परामर्श र प्राविधिक सहयोग उपलब्ध गराउँदै उद्यमशीलताको विकासमा समेत टेवा पु¥याइरहेको छ । हाल एनटीआइसीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँगको सहकार्यमा ठूला र दूरगामी परियोजनाहरू अघि बढाइरहेको छ । जसअन्तर्गत, इसिमोडसँगको सहकार्यमा जलवायु-स्मार्ट कृषिका लागि हरित मलसम्बन्धी अनुसन्धान, एसिया–प्रशान्त क्षेत्रीय नवप्रवर्तन उत्कृष्टता केन्द्रमार्फत वन डढेलो रोकथाम, र दक्षिण कोरियाको योन्सेई विश्वविद्यालयसँग ग्रह स्वास्थ्य सम्बन्धी अनुसन्धान भइरहेका छन् । त्यस्तै, अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटी र थाइल्याण्डको केएमआइसीएलसँग मिलेर इन-सिटु एनआईआर प्रविधिमार्फत २४ सै घण्टा फोहोर पानी निगरानी गर्ने प्रणालीको विकास र डाइअक्सिन प्रदूषण मापन गर्ने सेन्सर निर्माणको काम भइरहेको छ । विगतमा ग्रामीण क्षेत्रका लागि उपयोगी म्यानुअल राइस ट्रान्सप्लान्टर, वनस्पतिमा आधारित सौन्दर्य प्रसाधन, समुदायस्तरको शीतभण्डार, दूध प्रशोधनका लागि स्प्रे ड्राइङ प्रविधि, प्लास्टिक फोहोरबाट वैकल्पिक इन्धन र अण्डा इन्क्युबेटर जस्ता दर्जनौं प्रविधिको सफल विकास र व्यावसायीकरण गरिसकेको यस केन्द्रले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय ‘हार्वर्ड हेल्थ ह्याकाथन’ समेत सफलतापूर्वक आयोजना गरिसकेको छ । हालसम्म मुख्यतः विदेशी दातृ सहयोगमा निर्भर रहँदै संघर्ष गरिरहेको यस केन्द्रले अब सरकारले विज्ञान र प्रविधिलाई दिएको उच्च महत्वका कारण राष्ट्रिय स्तरमा उचित स्थान पाउने र नेपाली युवाहरूले अझ बढी अवसर पाउनेमा निर्देशक प्रा. डा. बिम प्रसाद श्रेष्ठ विश्वस्त छन् । नयाँ मन्त्रालयको आगमनसँगै यस्ता नवप्रवर्तन केन्द्रहरूको भूमिका अझ सुदृढ बन्ने र धुलिखेलको यो अभ्यासले राष्ट्रिय विकासलाई नयाँ मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।