सुत्केरी र गर्भवतीका लागि भाले र पोथी कुखुरा वितरण

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ  । ‘आफै पाल्दै, आफै खाँदै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको पोषणका लागि कुखुरा वितरण गरेको जनाएको छ । पालिकाले छवटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गरेको  गाउँपालिका अध्यक्ष किरण राईले बताए ।  वितरण गरिएको कुखुरा पालेर महिलाहरूले आवश्यक रुपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको विश्वास छ । गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ ।  गर्भवतीले प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत पालिकाले वितरण गरिरहेको छ । कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले र दुईवटा अण्डा दिने पोथी वितरण गरिएको छ ।

एनटीसीलाई एनसेलको शुभकामना- सँगै सहयात्रा गर्न पाउँदा गौरवान्वित छौं

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम (एनटीसी) आजदेखि २० वर्ष पुरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । विभिन्न कार्यक्रमको आयोजना गरी कम्पनीले २१औँ वार्षिकोत्सव मनाइरहेको छ । कम्पनीको २१औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल लगायत सरोकारवाला सबैले कम्पनीलाई शुभकामना व्यक्त गरेका छन् । दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकमको एक्लो प्रतिस्पर्धी हो एनसेल । एनसेलले आफ्नै प्रतिस्पर्धी नेपाल टेलिकमको २१औं वार्षिकोत्सवको शुभकामना दिएको छ । यसरी आफ्नै प्रतिस्पर्धी कम्पनीलाई शुभकामना व्यक्त गरेको कुनैपनि क्षेत्रमा विरलै देखिन्छ । तर, एनसेलले भने व्यावसायीक प्रतिस्पर्धालाई टाढै राखेर शुभकामना दिने गरेको छ । ‘देशको दूरसञ्चार क्षेत्रको विकासमा सधैं सँगै योगदान पुयाउँदै उज्ज्वल डिजिटल भविष्य निर्माणका लागि मेरुदण्ड बनेर निरन्तर सहयात्रा गर्न पाएकोमा हामी अत्यन्तै गौरवान्वित छौं,’ नेपाल दूरसञ्चार कम्पनीलाई २१औं वार्षिकोत्सवको शुभकामना दिँदै भनेको छ, ‘सुखद अवसरमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं ।’ दूरसञ्चार क्षेत्रलाई खुला प्रतिस्पर्धी बनाई मुलुकभर सर्वसुलभ र भरपर्दो अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउन नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीमा परिणत भएपछि यस कम्पनीले ‘नेपाल टेलिकम’को नामबाट आफूलाई परिचित गराई व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । वि.सं. १९७३ मा ओपन वायर म्याग्नेटो सिस्टम प्रयोग गरी मुलुकमा दूरसञ्चार सेवा प्रारम्भ भएको मानिन्छ । वि.सं. १९७४ देखि सर्वसाधारणले समेत टेलिफोन प्रयोग गर्नसक्ने व्यवस्था भएको थियो भने वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना भएपछि वि.सं. १९९२ देखि मात्र दूरसञ्चार सेवा निजी प्रयोगमा समेत उपलब्ध हुन थालेको देखिन्छ । वि.सं. २००५ मा मोहन आकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भयो । यसको कार्यालयलाई ‘आकाशवाणी हेड अफिस’ को नामबाट चिनिन्थ्यो । वि.सं. २०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत ‘दरसञ्चार विभाग’ को स्थापना भएको थियो । यस विभागलाई वि.सं. २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरियो र वि.सं. २०३२ साल असार १ गते नेपाल दरसञ्चार संस्थानमा परिणत गरिएको थियो । वि.सं. २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भयो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस संस्थानलाई वि.सं. २०६१ वैशाख १ गते नेपाल दरसञ्चार कम्पनी लिमिटेडमा रूपान्तरण गरिएकाे हाे ।

स्थापना भएको पाँच वर्षपछि औषधी लिमिटेडले पायो जीएमपी प्रमाणपत्र

काठमाडौं । नेपाल औषधी लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधी उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । स्थापना भएको पाँच दशकपछि जीएमपी प्रमाणपत्र पाएको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए । विसं २०२९ सालमा कम्पनी स्थापना हुँदा जीएमपीको प्रावधान थिएन ।  यो प्रावधान आएपछि कम्पनीले औषधी उत्पादन बन्द गरेको थियो । विसं २०७४ सालदेखि कम्पनीले मापदण्डमा औषधी उत्पादन सुरु गरेपछि सोमबार प्रमाणपत्र प्राप्त गरेको हो । पनेरुले प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धी भएको बताए । हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाइसस  फ्लूड  (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ । कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधी उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरुले बताए । सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने पनेरुलेको भनाइ छ । दीर्घरोगीका लागि औषधी उत्पादन गर्न काठमाडौं महानगरपालिकासँग सहकार्य सुरु गर्ने बताइएको छ । पनेरुले कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको बताए ।