पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’, धौलागिरि हिमाल, दाङका फाँट हेर्न मिल्ने

काठमाडौं । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताए । ‘अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुईवटा सडक प्रयोग गरेर पर्यटकहरू यहाँ आउने गरेका छन् । त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुग्ने गरिन्छ,’ उनले भने, ‘छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सम्पन्न भए झनै सहज हुने छ र पर्यटकको सङ्ख्या थप बढ्ने छ ।’ अहिले पनि कहिलेकाहीँ दैनिक १ हजार ५ सयसम्म पर्यटकले अवलोकन गर्ने गरेको पुनले बताए । छिल्लीकोटमा निर्माण भएको भ्यूटावर, कालिका-मालिका मन्दिर, राजा बसेको दरबारको भग्नावशेष, छिल्लीकोटबाट देखिने सिस्ने, धौलागिरिलगायतका हिमाल, दाङका फाँट, सल्ल्यान, रोल्पा, रुकुमका पहाडी भेग, छिल्लीकोटमकै मालागिरि, त्यहाँ बनेको जिपलाइनलगायत अवलोकन गर्न त्यहाँ पर्यटक पुग्ने गर्छन् । मुलुकमा तीन ‘गिरि’ छन् । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौंको उत्तरी भू-भागमा पर्दछ । यस्तै मल्लागिरि दाङको छिल्लीकोटमा रहेको छ । त्यसले गर्दा पनि पर्यटकको आकर्षण बढेको जनाकारहरू बताउँछन् । यहाँ कालिका र मालिका मन्दिर निर्माण गरिएका छन् । मन्दिर र भ्यूटावर पुग्नका लागि सिडी बनाइएको छ । यस क्षेत्रमा केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ भने प्याराग्लाइडिङको सफल परीक्षण पनि भइसकेको छ । यी दुवै कार्यसम्पन्न भएमा यो क्षेत्र नेपालकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्ने स्थानीयको विश्वास छ । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाहले नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको बताइन्छ । तत्कालीन अवस्थामा छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालन गरिएको विसं २००६ सालसम्म त्यो यहाँ रहेको जानकारहरू बताउँछन् । त्यसकारण पनि यसको महत्व रहेको बताउने गरिएको छ । पछिल्लो समय यस क्षेत्रको पर्यटकी विकासका लागि काम भइरहेका छन् । यहाँ सातमूलेबाट ‘लिफ्टिङ’ गरेर पानी ल्याइएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले व्यवस्थापन गरिरहेको छ । ‘यस क्षेत्रको व्यवस्थापनका लागि पहल भइरहेको छ । अब अत्यावश्यक पूर्वाधार विकास र प्रचारप्रसार भएका पर्यटन प्रवर्द्धन हुनाका साथै त्यसबाट स्थानीयवासी लाभान्वित हुने थियौँ,’ स्थानीय प्रवीर पुनले भने ।

सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीहरुको शिक्षामा खर्च हुने जनाइएको छ । बुधबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तान्तरण गरेका छन् । सबैका लागि शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ । सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

२७औं वर्षमा प्रवेश गर्‍यो सिद्धार्थ हस्पिटालिटी, धनगढीमा पाँचतारे होटल बनाउने

काठमाडौं । सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश गरेको छ । नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरु भएको थियो । हाल यस कम्पनी देशभर फैलिएको छ । सिद्धार्थ हस्पिटालिटीले २७औं वार्षिकोत्सवकाे अवसरमा २०३० सम्म स्वदेश तथा विदेशमा गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको जनाएकाे छ । कम्पनीले उक्त योजनालाई ‘भिजन २०३०’ नाम दिएकाे छ । उत्कृष्ट सेवा प्रदान गरेकाे भन्दै दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट दुई पटक कम्पनी सम्मानित भएकाे छ । साथै कर्णाली प्रदेश सरकारबाट पनि उत्कृष्ट एचआर प्राक्टिस (मानव संसाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो । साथै सिद्धार्थले ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरु गरेको छ । सिद्धार्थले धनगढीमा पाँचतारे होटलकाे याेजना अगाडि सारेकाे छ । यसअन्तर्गतका विभिन्न आउटलेटमा २ हजार ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । सिद्धार्थ भिलासा कम्पनीकाे पाँचतारे होटल हाे । यसैगरी, सिद्धार्थ वैभव चारतारे र सिद्धार्थ बाटिका तीनतारे होटल सञ्चालनमा आएकाे छ । सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान मंगलबारदेखि सुरु गरेको छ । विश्व क्यान्सर दिवसका अवसरमा यो अभियान सुरु गरिएको हाे । सिद्धार्थ हस्पिटालिटीका अनुसार खानामार्फत क्यान्सर रोगविरुद्ध लड्न जागरुकता जगाउनका लागि ‘विशेष स्वस्थकर मेनु’को तयार गरिनेछ । अभियानअन्तर्गत नै सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका होटल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषण खानासम्बन्धी जानकारी दिने कार्डहरू राखिने जनाइएकाे छ ।