रोजगारी सृजनामा योगदान पुर्याएको भन्दै होटल संघ नेपाल श्रम मन्त्रालयबाट सम्मानित
काठमाडौं । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह-आयोजकका रूपमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै होटल संघ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मानित गरेको छ । सम्मेलनका अवसरमा श्रममन्त्री शरतसिंह भण्डारीले होटल संघ नेपाललाई कदरपत्र र सम्मेलनको प्रतीक चिन्ह प्रदान गर्दै सम्मान गरेका हुन् । संघका अध्यक्ष विनायक शाहले होटल संघले स्वदेशमै रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न क्षमता अभिवृद्धि तालिम, साथै 'सिक्दै कमाउँदै' अवधारणामा आधारित २४ महिने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । यी कार्यक्रमले सम्मेलन र समग्र श्रम क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ थियो । शाहका अनुसार संघले हालै श्रम मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान सगको सहकार्यमा होटल क्षेत्रमा आवश्यक प्राविधिक तालिमहरू निर्धारण गर्दै पाठ्यक्रम विकास र प्रशिक्षण सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ । उनले देशभरका होटलहरूबाट आन्तरिक रोजगारी सृजनामा उल्लेखनीय योगदान दिन सकिने विश्वास व्यक्त गरे ।
डा. रिजालको गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक
काठमाडौं । स्त्रीरोग तथा निसन्तान विशेषज्ञ डा. भोला रिजालको अङ्गदान सम्बन्धी सन्देशमूलक गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक भएको छ । जसमा न्यूह बज्राचार्यले सङ्गीत छ भने गायक प्रवीण बेडवालले स्वर रहको छ । गीतको सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन् । भिडियोमा डा. रिजाल आफै र डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. रिता गुरुङलगायतले पनि अभिनय गरेका छन् । शनिबार एक कार्यक्रम गरी यो गीत सार्वजनिक गरिएको हो । डा. रिजालले मृत्यु पछि आफ्नो अंग अरुलाई दान गरे सबैभन्दा पुण्य मिल्ने बताए । उनले यो गीतले अङ्ग प्रत्यारोपणका क्षेत्रमा ठुलो सहयोग हुने बताए । गीतको भिडियो डा. रिजालले आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।
मस्तिष्क मृत्यु भएका एकै व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएको डोनरबाट एउटै बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरेको छ । सडक दुर्घटनामा परी घाइते भएका धादिङका १८ वर्षका एक युवाको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार क्रममा मस्तिष्क मृत्यु भएपछि भएको थियो । परिवारले अङ्गदान गर्न सहमति जनाएपछि उनको कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको हो । एक पुरुषलाई यी दुवै अङ्ग एकैसाथ प्रत्यारोपण गरिएको छ भने अर्का ४२ वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । यो नेपालमा पहिलो पटक एकै व्यक्तिबाट दुई वटा महत्त्वपूर्ण अङ्ग (मिर्गौला र कलेजो) लिएर प्रत्यारोपण गरिएको छ । नौ दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो प्रत्यारोपण नेपाली चिकित्सकहरूको ऐतिहासिक उपलब्धि भएको बताए । प्रत्यारोपण गरिएका दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज गरिने जनाइएको छ । प्रत्यारोपणमा कलेजतर्फ डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले साथ दिएका थिए यस्तै मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारीले सहयोग गरेका थिए । त्यस्तै प्रत्यारोपण टोलीमा डा. विकास खड्का नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्यलगायत संलग्न थिए ।