निषेधित क्षेत्र मनास्लुमा हालसम्मकै बढी पर्यटक
काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७८२, आव २०७९/८० मा ७ हजार ७०५ र आव २०७८/७९ मा २ हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । उनका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । एमक्यापले आव २०८१/८२ मा १२ हजार ५०० पर्यटक भित्र्याउने लक्ष्य राखेकाेमा ९८.०७ प्रतिशत लक्ष्य प्राप्त भएको जनाउँदै उनले चालु आवमा लक्ष्यभन्दा बढी पर्यटन भित्रिने अनुमान गरिएको बताए । ‘कोभिड पछि पर्यटकको आगमन न्यून थियो,’ आयोजना प्रमुख शेरचनले भने, ‘आव २०७७/७८ मा सबैभन्दा कम अर्थात् १९४ जना पर्यटकमात्र सो क्षेत्रमा पुगेका थिए ।’ सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या आव २०७६/७७ मा ५ हजार ३३८ र २०७५/७६ मा ७ हजार ६५५ रहेको थियो । मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले ३ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख शेरचनले जानकारी दिए । उनका अनुसार पर्यटकले काठमाडौंको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउन सक्ने व्यवस्था गरिएको छ । ‘यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँ स्थित चेकपोस्टमा दोब्बर दस्तुर तिर्नुपर्ने छ,’ प्रमुख शेरचनले भने । निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्छ । उक्त अवधिभर चुम भ्यालीका लागि पर्यटकीय सिजनमा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेमौसममा २५ डलर मात्र बुझाउनु पर्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । उनका अनुसार नुब्री भ्यालीका लागि सिजनमा प्रतिव्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक साताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनुपर्ने हुन्छ । मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिकाको सातवटा वडा पर्छ । साविकका सिर्दीबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविककाे सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रूपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रूपमा चिनिन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको हो ।
गाई भैँसी चर्ने चौर बन्यो पर्यटकीय क्षेत्र, ४० लाखमा निर्माण भयो फनर्पाक
काठमाडौं । बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले ४० लाख रुपैयाँ लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो । पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ । एक दशक अगाडिसम्म झाडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताए । गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उनको भनाइ छ । करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोज स्थल, भवन, फोटो खिच्ने स्थान लगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गरे । बरेङका सबै वडासहित गुल्मी, स्याङ्जा, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उनले बताए । ‘पहिले हामीले यहाँ गाई भैँसी चराउने गर्थ्यौ, अहिले सुन्दर पार्क बनेको छ । सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन्,’ उनले भने । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पद मार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताए । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोज स्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उनको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । ‘यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसार र पर्याप्त पूर्वाधार नहुँदा ओझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ पूर्वाधार निर्माण गर्यौं, पद मार्ग र मोटरबाटो दुवैले जोड्यौँ,’ अध्यक्ष शर्माले भने, ‘अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन् । वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।’
भारत र चीनमा तीव्र रुपमा फैलिँदै कोरोना, नेपालमा त्रास
काठमाडौं । भारत, चीन लगायत दक्षिण एसियामा केही दिन यता कोभिड १९ संक्रमण फैलिएको छ । छिमेकी देशमा तीव्र रुपमा कोरोना संक्रमण फैलन थालेपछि नेपालमा पनि त्रास बढेको छ । खुला सीमाका कारण आवत जावतमा रोकतोक नहुँदा नागरिक त्रसित बनेका हुन् । अहिले भारतका १६ राज्य यो संक्रमण तीव्र रुपमा फैलिएको छ । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन अहिलेको अवस्था हेर्दा डराइहाल्नुपर्ने नभएपनि सचेत रहन भने आवश्यक रहेको बताउँछन् । ‘नेपालमा अहिले कोरोना संक्रमण भएको व्यक्ति भेटिएको छैन, भोलि पर्सी देखिन्छ कि त्यो हेर्दै जानुपर्ला तर, नेपालमा हाम्रो अस्पतालमा कोरोना संक्रमण भएको हामीले फेला पारेका छैनौं,’ डा. पुन भन्छन्, ‘विगतको अनुभव छ भारतमा देखियो भने नेपालमा ढिलो चाँडो आउन सक्ने सम्भावना भने रह्यो नै, यसका लागि तयारी व्यक्ति आफैंबाट गर्नुपर्छ ।’ भारतमा देखिएको कोरोना नेपालमा फैलिएको छ या छैन भनेर यत्तिकै भन्न सकिने अवस्था छैन । यसका लागि सिक्वेन्सिङ गर्नुपर्छ । तर नेपालमा यो सिक्वेन्सिङ गरिएको छैन । डा. पुन भारतमा देखिनु भनेकै नेपालमा सर्तक रहनुपर्ने अवस्था भएको बताउँछन् । अहिले अस्पतालमा कोरोनाको जाँच गर्न कुनै व्यक्ति जाँदैनन् । कुनै दीर्घ रोगीलाई त्यस्तै लक्षण देखापर्यो कोरोनाको आशंका लागेमा मात्र जाँच गर्ने चलन छ । बिरामीले कोरोना जाँच गर्न छोडेसँगै नेपालमा कोभिडका एक जना पनि बिरामी छैनन् । भारत लगायत दक्षिण एसियामा देखिएको कोरोना खासै घातक नभएको डब्लुएचओले जनाएको छ । डा. पुन यसका लागि सबै नागरिक आफै सचेत रहनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले सम्म घातक छैन भनिएको छ भोलिपर्सि के हुन्छ भन्न सकिँदैन, कुनै रोग लाग्न दिनुभन्दा लाग्नै नदिनु भनेजस्तै सबैले सचेत चाहिँ रहनै पर्छ ।’ नेपालमा तयारी के हुँदैछ अहिले घातक नदेखिएको कोरोनाले भेरियन्ट परिवर्तन गर्दा भोलि घातक हुन सक्ने सम्भावना रहेको विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. पुन विगतमा नेपालले कोरोनाबाट ठूलो जनको क्षती पुर्याइरहेको अवस्थामा सामान्य छ भन्दैमा हलका रूपले लिन नहुने बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण एसियामा देखिएको कोरोनालाई मध्यनजर गर्दै कुनै तयारी नगरे पनि संक्रामक जन्य रोग नियन्त्रणका लागि कसरी अघि बढ्ने भन्ने विषयमा भने आइतमात्र छलफल गरेको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्त बहादुर केसीले बताए । उनी भन्छन्, ‘हामीले कोरोनाकै लागि भनेर केही तयारी गर्न सकेका छैनौं, अहिले भारत चीनमा कोरोना तीव्र रुपमा फैलिरहेको भन्ने कुरा आएको छ, अब यसको लागि पनि कसरी अघि बढ्ने भन्ने विषयमा भोलि पर्सी छलफल हुन सक्छ ।’ उनले यसमा छलफल गरेर यो यो काम यसरी गर्ने भन्ने यकिन कार्ययोजना भनेर सरकारले नबनाएको बताए । सीमा नाकामा हेल्थडेस्कको बिजोग कोभिड १९ को महामारीका बेला नेपालले सिमानाकामा हेल्थ डेस्क निर्माण गरेको थियो । कोरोना संक्रमण सेलाएसँगै नाकामा रहेका हेल्थ डेस्कको अवस्था पनि बिजोग भएको छ । लाखौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका हेल्थ डेस्क अहिले अलपत्र अवस्थामा छन् । सूचना अधिकार डा. केसी हेल्थ डेस्क पहिलेदेखिनै रहेकाले तिनैलाई प्रयोग गरी सीमामा कडाइ गर्ने योजना मन्त्रालयले गर्न सक्ने बताउँछन् । सरकारले नेपाल भारत १४ वटा सीमामा हेल्थ डेस्क स्थापना गरेको थियो भने चीन र नेपालको सीमामा दुईवटा हेल्थडेस्क सञ्चालनमा ल्याएको थियो । हेल्थ डेस्कको मुख्य उदेश्य सिमानाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नु थियो । यसो गर्दा कोभि १९ संक्रमतिको संख्या कम गर्न सकन्छ । भारत चीनमा देखिएको कोराना कस्तो हो ? अहिले भारत चीन लगायत दक्षिण एशियामा देखिएको कोभिड १९ को एनबी.१.८.१ र एलएफ.७ भेरियन्ट हो । यी भेरियन्ट भारतमो तमिलनाडु, गुजरात, महाराष्ट्र, र केरलामा देखिएको छ । भारतमा मात्र १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीमा मात्र १ सय ४ जनामा कोरोना पुष्टि भएको छ । एनबी.१.८.१ भेरियन्टमा ए४३५एस, भी ४४५एच र टी४७८आइ जस्ता स्पाइक प्रोटिन म्युटेसनहरू छन् । एलएफ.७ भेरियन्ट पनि जेएन.वान समूहको उपभेरियन्ट हो । यसले पनि संक्रमणदर वृद्धि गरिरहेको छ । चीनमा पनि एनबी.१.८.१ भेरियन्ट देखिएको छ । त्यहाँ पनि संक्रमणदर वृद्धि भइरहेको छ । भारत र चीन दुवै देशमा संक्रमण दर वृद्धि भएपनि घातक भने त्यति नरहेको समाचारहरूमा जनाइएको छ ।