होटल संघको सुझाव : कर्जा, डलर कारोबार र भुक्तानी प्रणाली सहज बनाऊ
काठमाडौं । होटल संघ नेपालको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गरी मौद्रिक नीतिमा पर्यटन र होटल क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेको छ । संघले सोमबार गभर्नरसँगको भेटमा हालको आर्थिक वर्षको बजेटमा समेटिएका योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि मौद्रिक नीतिले टेवा पुर्याउनुपर्नेमा जोड दिएको हो । संघका अध्यक्ष विनायक शाहले होटल उद्योगमा लागत बढ्दो क्रममा रहेकाले व्यवसायको वित्तीय अवस्था अनुसार विशेष उद्योगसरह कर्जाको साँवा र ब्याज भुक्तानीमा सुविधा दिनुपर्ने माग गरे । उनले होटेल व्यवसायीहरूलाई डलर खाता सञ्चालन तथा डलर कार्ड प्रयोगमा सहजता, पर्यटकहरूका लागि सटही सीमा वृद्धि, र बुकिङ प्लाटफर्ममार्फत डलरमा भुक्तानी गर्ने बाध्यता समाधान गर्नसमेत आग्रह गरे । शाहले पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिइसकेको अवस्थामा कर्जामा न्यून ब्याजदर कायम गर्नुपर्ने बताए । साथै, पर्यापर्यटनमा आधारित होटेल तथा रिसोर्टलाई सस्तो व्याजदरमा विद्युतीय सवारीसाधन तथा उपकरण खरिदका लागि ऋण प्रवाह गर्न अनुरोध गरे । संघले अनलाइन भिषा फारम त भरिए पनि विदेशी मुद्रामा भुक्तानी गर्न नपाइने स्थिति हटाउन र बैंकहरूसँग सहकार्य गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आग्रह गर्यो । बंगलादेश र श्रीलंकाबाट आउने पर्यटकहरूलाई स्थानीय मुद्रामै भुक्तानी गर्ने व्यवस्था भएमा क्षेत्रीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने संघको भनाइ छ । अन्त्यमा, गभर्नर पौडेलले संघका मागहरूलाई सकारात्मक रूपमा लिने आश्वासन दिएको संघले जनाएको छ ।
वर्षातले चितवनमा जिप सफारी बन्द, विद्युत भूमिगत परियोजना पनि स्थगित
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेबाट जिप सफारी बन्द हुने भएको छ । वर्षातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ । वर्षात हटेसँगै चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुल्ने गर्दछ । वर्षा लम्बिँदा सोहीअनुसार खुल्ने समय पनि पछाडि सार्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनःसञ्चालनमा आएको थियो । उनका अनुसार वर्षाले बिगारेको सडक मर्मत सम्भार गरेर जिप सफारी खुला गरिन्छ । निकुञ्जभित्र सफारी बन्द भए पनि मध्यवर्ती सामुदायिक वनमा भने जिप सफारी सञ्चालन हुने उनले बताए । निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकन लगायतका पर्यटकीय गतिविधि भने नियमित सञ्चालन हुने उनले जानकारी दिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका लागि बन्द गर्ने गरिन्छ । त्यसका कारण निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीपनयापन सहज हुने उनले जानकारी दिए । वर्षायाममा बाढी आउने र खोला खोल्सा बढ्ने, रुख ढल्ने, बाटोसमेत चिप्लो र हिलो हुने, घाँस र झाँडी बढेर जङ्गली जनावरसमेत नदेखिने उनको भनाइ छ । निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसाराबाट १०, मेघौलीबाट सात र अमलटारीबाट पाँचवटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् । भूमिगत विद्युतीकरणको काम वर्षातसँगै रोकियो । यसैबीच भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीका अनुसार असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । उनले भने, 'अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्ने लगायतका रोकिएको छ ।' अहिले पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने, खम्बा गाड्ने लगायतका काम भइरहेको उनले बताए । सडक विभागले वर्षातमा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उनका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भाँसिने जस्ता समस्या हुने भएकाले काम रोकिएको हो । आयोजनाले हालसम्म सो महानगरपालिकामा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको सुवेदीले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोकदेखि केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीदेखि केन्द्रीय बस ट्रमिनलसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छ भने अर्कोतर्फ भूमिगत गर्ने काम बाँकी रहेको छ । उनले भने, 'फाउण्डेसन राख्ने काम सकिएको छ, केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ ।' यस्तै ३३ केभि जडानको काम सकिएको छ भने ११ केभि र ४०० भोल्टको केवल राख्ने काम जारी रहेको छ । खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षातपछि कामलाई तीव्र बनाइने उनले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ । सुरुवाती समयमा एक अर्ब ३० करोड रुपैयाँ बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको सुवेदीले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बिमा कोषबाट थप १ लाख उपलब्ध हुने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् । मन्त्रीको निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन् । स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन् । यस आधारमा मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई सत्तरी नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्ने गरी पाउने सुविधामा नदोहोरिने गरी सुविधा दिन पत्राचार गरेको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमामा आकर्षण बढाउन तथा दिगोपनाका आधारमा बीमा थैली लागु गराउन समेत तयारी गरेका छन् । तर, यस्ता थैलीहरु बनाउँदा बीमा कोष दुरुपयोग हुन नदिन सजगताका लागि समेत मन्त्रालयले स्वास्थ्य बीमा कोषलाई निर्देशन जारी गरेको छ । यसका लागि मन्त्रालयले ‘स्वास्थ्य बीमा बोर्डलाई स्वास्थ्य बीमाका सुविधा थैलीहरू निर्धारण गर्दा रोगको भार नागरिकको स्वास्थ्य आवश्यकता, लागत प्रभावकारीता र वित्तिय दिगोपनाको आधारमा निर्धारण गरी बीमा कोषको दुरुपयोग हुन नदिनेतर्फ ध्यान दिन’ भनेको छ ।