फाप्लु विमानस्थलमा १७ दिनपछि उडान, नियमित तालिका कागजमै सीमित
काठमाडौं । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सं) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिए । भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बार लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरुलाई काठमाडौं पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् । काठमाण्डौं ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ । सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातायात व्यवसायी मिङ्मार शेर्पाले बताए । नियमित उडान तालिका कागजमै सीमित जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरूले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नहुने भएपछि निजी विमान कम्पनीहरूले नियमित उडान तालिका समावेश नगरेको हुन् । नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौं–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरू अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०/१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ । फाप्लुबाट काठमाडौंसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बीपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौं आउजाउ गर्न कठिन छ । स्थानीय बिमला राई भन्छिन्, ‘सडकबाट जान भनेको शरीरलाई यातना दिनु हो । बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ ।’ स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्छन्, ‘मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ । जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ ।
एक साताभित्र एसइईको नतिजा सार्वजनिक हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेश प्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए । उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उनले भने, ‘हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेट लाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।’ असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौंमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
२५ जिल्लामा फैलियो कोरोना: बागमतीमा सबैभन्दा धेरै संक्रमित, तयारी अवस्थामा स्वास्थ्य मन्त्रालय
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । हाल नेपालमा १ सय ८७ जना कोरोना संक्रमितहरू रहेका छन् भने २५ जिल्लामा कोरोना फैलिएको छ । प्रदेशगत हिसाबमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा १ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा २५, कोशी प्रदेशमा ७ मधेस प्रदेशमा ५ जनालाई कोरोना संक्रमण भएको छ भने लुम्बिनी प्रदेशमा ४, गण्डकीमा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा संक्रमित एक जनाको भने मृत्यु भएको छ । नेपालमा पुष्टि भइरहेको कोरोना भारत, चीन र अन्य दक्षिण एसियामा फैलिएको कोरोना नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालमा अहिले पुष्टि भइरहेको कोरोना ओमिक्रोनकै सब भेरियन्ट रहेको बताए । ‘यो भेरियन्टमा नयाँ होइन जुन नेपालमा पहिल्यै देखिसकिएको थियो,’ उनी भन्छन्, ‘यो भेरियन्ट त्यति कडा नभएकाले आत्तिनुपर्ने अवस्था छैन ।’ अहिले भारत चीन लगायतका अन्य मुलुकमा कोभिड १९ को एनबी १.८.१ र एलएफ ७ भेरियन्ट फैलिरहेको छ । बाहिर फैलिएको यो भेरियन्ट पनि जोखिम नरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसअघि नै बताइसकेको छ । कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु भएका संक्रमित महिला रहेको खुलेको छ । इलामको सूर्याेदया नगरपालिकाकी ३९ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ७ दिन अगाडि श्वासप्रस्वासको समस्या देखिएपछि ती महिलालाई झापाको बिर्तासिटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालमा पुर्याइयो । अस्पतालको सघन कक्षमा लैजाँदै गर्दा उनको मृत्यु भएको नोवेल अस्पतालले जनाएको छ । अस्पतालका एक चिकित्सकले भने, ‘यही अस्पतालमा कोरोना पुष्टि भएको होइन, बिर्तासिर्टीबाट रेफर गरिएको केश थियो, जसमा कोरोना संक्रमित पनि भनिएको थियो तर यहाँ आईसीयूमा राख्न खोज्दा मृत्यु भयो ।’ मृतक महिलालाई अस्पतालले मङ्गलबार नै प्रहरीको जिम्मा लगाइएको थियो । स्वास्थ्य मन्त्रालयले भने मृत्यु भएकी महिलाको केशको विषयमा अध्ययन भइरहेको बताएको छ । ‘समाचार कोरोनाको कारण मृत्यु भयो भन्ने आएको छ, यो विषयमा मन्त्रालयले भेरिफाइड गर्ने काम गरिरहेको छ,’ प्रवक्ता बुढाथोकी भन्छन्, ‘हामीले पाएको सूचनाका आधारमा ती महिलामा हेपाटाइटिस बी र किड्नीको समस्या भएको रहेछ । ९ दिन पहिले नै बिरामी हुँदा एक दिन अगाडिमात्र कोरोना संक्रमण भनिएकोले प्रमाणित गर्न हामी लागिरहेका छौं ।’ मन्त्रालयको कस्तो छ तयारी ? कुनै पनि विपद महामारी कतिबेला आउँछ थाहा हुँदैन । हजारौंको संख्यामा ज्यान लिसकेको कोरोना फेरि फैलियो भन्ने सुन्नेबित्तिकै नागरिकहरू त्रसित हुन्छन् । तर अहिलेको अवस्थामा कोरानोको त्रास लिएर बस्नुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयको दाबी छ । प्रवक्ता बुढाथोकी अहिलेको संक्रमण संख्यालाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको तर यो भन्दैमा बेवास्ता गरेर नहिँड्न आग्रह गर्छन् । ‘कोरोनाबाटमात्र होइन, विभिन्न किसिमका सरुवा जन्य रोगबाट बच्न माक्स अनिवार्य लगाउनुपर्छ,’ उनी भन्छन्, ‘भेट हुँदा हात नमिलाउने, माक्स लगाउने, कसैलाई रुघाखोकी लागेको भए टाढै बस्ने गर्नुपर्छ ।’ सम्भावित जोखिमका लागि कसरी काम गर्ने भन्ने विषयमा औषधी, आवश्यक जनशक्ति सबै तयारी राखिएको छ भने इमरजेन्सी मेडिकल टिम र रिप्रेजेन्टिटिभ टिमसमेत तयारी अवस्थामा राखेको बुढाथोकीले बताए । ‘तत्कालको अवस्था हेरेर जोखिम हुन्छ भन्ने छैन तर महामारी हो कुन बेला कस्तो रूप लिन्छ थाहा हुँदैन । त्यसैले यसका लागि आवश्यक सामाग्री, औषधी, चिकित्सक सबैको जोहो र व्यवस्था गरेका छौं,’ उनले भने । डा. बुढाथोकीले मन्त्रालयले योभन्दा बाहेक जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नेदेखि प्रभावित क्षेत्रबाट आएका मान्छेलाइ क्वारेन्टीनमा राख्ने काम गरिरहेको बताए । १७ वटा नाका र तीनवटा हवाइ नाका छन् । अहिले प्रभावित क्षेत्रबाट आएका सीमानाकाका हेल्थ डेस्कमा कोरोनाको टेस्ट पनि भइरहेको छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिलेको अवस्था हेर्दा डराइहाल्नुपर्ने नभएपनि सचेत रहन भने आवश्यक रहेको बताउँछन् । ‘विगतको अनुभव छ भारतमा देखियो भने नेपालमा ढिलो चाँडो आउन सक्ने सम्भावना छ । हामी अहिले नै तयारीको अवस्थामा रहनुपर्छ । तर डराइहाल्ने स्थिति भने अहिले छैन,’उनले भने ।