‘हेरिटेज होम्स’ उद्घाटन : झापा आन्दोलनको स्मृति र सांस्कृतिक पर्यटनको नयाँ गन्तव्य

काठमाडौं । अल्फाविटा ग्रुपले झापाको अर्जुनधारा नगरपालिकास्थित सालवारीमा ‘सालवारी हेरिटेज होम्स’ सुरु गरेको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको समारोहमार्फत परियोजनाको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रम अल्फाविटा ग्रुपका अध्यक्ष द्विराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य प्रमुख अतिथि थिए । साथै, संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । ‘सालवारी हेरिटेज होम्स’ केवल एक निर्माण परियोजना मात्र नभई झापा आन्दोलनको ऐतिहासिक गौरव र सहिदहरूको सम्मानमा समर्पित सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा प्रस्तुत गरिएको छ । यस परियोजनाले सालवारीको ऐतिहासिक गाथालाई उजागर गर्नुका साथै झापा आन्दोलनको ५० वर्षको स्मृतिलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको छ । १० कोठाको आधुनिक भवन, स्विमिङ पुल, झापा आन्दोलनसम्बन्धी संग्रहालय, प्रदर्शनी कक्ष लगायतका संरचनाले परियोजनालाई आकर्षक बनाएका छन् । अल्फाविटा ग्रुपले यसलाई केवल पर्यटकीय स्थलमा सीमित नराखी सामाजिक र आर्थिक विकासको केन्द्रको रूपमा पनि विकास गर्ने लक्ष्य राखेको छ। भविष्यमा कृषि, ऊर्जा, पर्यटन, शिक्षा, रोजगारमूलक तालिम र स्वरोजगारका अवसरहरू समेत विस्तार गरिने योजना सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले सालवारी हेरिटेज होम्सलाई झापा आन्दोलनको क्रान्तिकारी चेतना, सहिदहरूको बलिदान र सांस्कृतिक जागरणको प्रतीकका रूपमा उल्लेख गरेका थिए । यस पहलमार्फत सालवारीलाई राष्ट्रियस्तरको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य बनाउने विश्वास गरिएको छ ।

पर्ल मोन्टेश्वरी स्कुलमा पथ्य आहार तथा पोषणबारे अभिभावक र शिक्षिकाको प्रतियोगिता सम्पन्न

काठमाडौं । चन्द्रागिरीकाे बलम्बुस्थित पर्ल मोन्टेश्वरी स्कुलले पथ्य आहार तथा पोषणसम्बन्धी अभिभावक–शिक्षिका प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा झन्डै २५–३० जनाको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसहित चार समूहलाई विजेता घोषणा गरिएको थियो । कार्यक्रमले अभिभावक र शिक्षकबीचको सम्बन्ध अझ घनिष्ट बनाएको विद्यालयले जनाएको छ । २०७९ फागुनमा स्थापना भएको पर्ल मोन्टेश्वरी स्कुलमा इसीडी मोन्टेश्वरी तालिमप्राप्त शिक्षिकाहरु कार्यरत छन् । विद्यालयमा पोषण विज्ञको रेखदेखमा पारिवारिक वातावरणमा दुई पटकसम्म स्वस्थकर खाजाको व्यवस्था पनि छ । विद्यालयकी शिक्षिका रितु शर्माले भनिन्, 'हामी अभिभावक तथा बालबालिकाको हितलाई केन्द्रमा राखेर मात्रै कार्यक्रम आयोजना गर्छौं । विद्यालय र अभिभावक दुवै पक्षका लागि यस्ता कार्यक्रम उपयोगी छन् ।' कार्यक्रमको निर्णायकमा बुक राइटर, एमफिल तथा तीन विषयमा स्नातकोत्तर गरेकी त्रिभुवन विश्वविद्यालयको सेन्टरल डिपार्टमेन्ट अफ होम साइन्सकी विभाग प्रमुख सन्तोष गिरी तथा पोषण विज्ञ मिरा शाहले भूमिका निर्वाह गरे । सभी सहभागीको प्रस्तुति उल्लेखनीय थियो । एक अभिभावकले आफू युरिक एसिडको समस्याबाट ग्रसित भए पनि औषधि सेवन नगरी जीवनशैली र पोषणयुक्त खानपानमार्फत सुधार आएको अनुभव सुनाए । निर्णायक सन्तोष गिरीले स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुधार गर्न औषधिको मात्र होइन, पोषणको पनि महत्त्व बराबरी रहेकोमा जोड दिइन् । 'औषधिले निको पार्छ, तर कहिलेकाहीं अर्को अंगमा नोक्सानी पनि गर्छ। हरेक वडामा पोषण सचेतनामूलक कार्यक्रम आवश्यक छ,' उनले भनिन् । कार्यक्रममा पोषणप्रति सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइएको थियो । 'एक स्कुल–एक नर्सको अवधारणा कार्यान्वयन भइसकेको छ भने अब एक स्कुल–एक पोषण विज्ञ पनि जरुरी छ,' गिरीले भनिन् । अहिले पनि धेरै अस्पतालहरूमा पोषण विज्ञको उपस्थिति छैन । भएका अस्पतालमा पनि चिकित्सकहरूले रिफर नगरेका कारण बिरामीले आवश्यक पोषण परामर्शबाट वञ्चित हुने गरेको गुनासो गरिएको थियो । कार्यक्रममा नेपालमा पोषणसम्बन्धी चेतना अझै ओझेलमा रहेको, पोषण सप्ताह कहिले मनाइन्छ भन्नेबारे धेरैलाई जानकारी नभएको, र युट्युब–फेसबुकमा गलत र अपूर्ण जानकारीकै भरमा खानपान गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गरियो । गिरीले भनिन्, 'हरेक खानेकुरामा विषादीको प्रयोगले हामी विभिन्न रोगको घर बनेका छौं । अब हामी सचेत हुनैपर्छ । स्वस्थ रहनु भनेको सही पोषण र जीवनशैलीबाट सम्भव छ ।'

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

वाग्मती । वाग्मती प्रदेश सरकारको रु आठ करोड तीन लाख ७१ हजारको लागतमा हेटौँडा उपमहानगरपालिका–१७ हटियामा ३० शय्याको सुविधासम्पन्न प्रहरी अस्पताल भवन निर्माण सुरु भएको छ । पहिलो चरणमा १५ शय्याको भवन निर्माणमा गरिने छ । भवन निर्माणको मङ्गलबार आयोजित एक कार्यक्रममा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने शिलान्यास गरे ।   हेटौँडास्थित वाग्मती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने अस्पताल भवनमा सबै किसिमका भौतिक पूर्वाधार एवं संरचना निर्माण गरिने मन्त्री लामिछानेले बताएका छन् । उक्त भवन आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न लक्ष्य छ ।