होटल व्यवसायमा जम्दै देशबन्धु, डेढ अर्ब लगानीमा इटहरीमा बनाए पाँचतारे होटल
काठमाडौं । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा पाँचतारे होटल निर्माण गरेका छन् । केही महिनाअघि मात्रै काठमाडौंमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालनमा ल्याएका उनले इटहरीमा पनि सोही स्तरको होटल निर्माण गरेका हुन् । बस्नेतले गत माघमा काठमाडौंको सुकेधारामा पाँचतारे होटल मक्युर सञ्चालनमा ल्याएका थिए । त्यसबाट उत्साहित भएर इटहरीमा पनि उनले पाँचतारे होटल निर्माण थालेका हुन् । होटल निर्माण लगभग सम्पन्न भएको छ। उनले रमडा विश्वप्रसिद्ध अमेरिकी चेन होटेल भित्र्याएका छन् । एक अर्ब ६० करोड रुपैयाँ लागतको उक्त होटल ८ तलासहित ८० वटा कोठाको रहेको छ । होटेलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल लगायत सेवा सुविधा रहेका छन् । होटलको ९० प्रतिशत वित्तीय प्रगति भएको जानकारी छ । होटलले रेटिङ पनि गराएको छ । ग्राण्ड सेन्ट्रल होटल प्रालिले निर्माण गरेको होटलका लागि २ अर्ब १३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको हो । जसका लागि कम्पनीले डबल बी माइनसको रेटिङ पाएको छ । होटल सञ्चालनमा आएपछि एक सय बढी जनाले रोजगारी पाउने उल्लेख छ । भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरूलाई विश्वस्तरीय होटलको सुविधा दिने दाबी गरिएको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीहरूलाई आरामदायी र सुरक्षित आवासका साथै व्यावसायिक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्ने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका बस्नेत अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रुपमा काम गरिरहेका छन् । उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारेस्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट निर्माण गरेका छन् । पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।
विश्वको पहिलो ५ ट्रिलियन डलर कम्पनी बन्यो एनभीडीया, अमेरिकाको जीडीपीको १६ प्रतिशत बराबर
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) चिप बनाउने अमेरिकी कम्पनी एनभीडीयाको बजार मूल्य (मार्केट क्याप) हालै ५ ट्रिलियन डलर पुगेको छ । संसारमा पहिलोपटक कुनै कम्पनी यो स्तरमा पुगेको हो । एनभीडीयाको बजार मूल्य अमेरिकाको कुल जीडीपीको १६ प्रतिशत बराबर भइसकेको छ । यो प्रतिशत पछिल्ला दुई वर्षमा दोब्बर भएको हो । ३० नोभेम्बर २०२२ मा जब च्याटजीपीटीको सुरुवात भएको थियो, त्यतिबेला एनभीडीयाको बजार मूल्य अमेरिकाको जीडीपीको मात्र ४ प्रतिशत बराबर थियो । एनभीडीयाका एआई चिपहरूको उच्च मागका कारण कम्पनीको बजार मूल्य तीव्र रूपमा बढेको हो । यही कारणले कम्पनीलाई ४ ट्रिलियन डलरबाट ५ ट्रिलियन डलरसम्म पुग्न मात्र तीन महिना लागेको हो । यसअघि कम्पनीलाई ३ ट्रिलियन डलरबाट ४ ट्रिलियन डलरसम्म पुग्न १३ महिना लागेको थियो । यस वर्ष कम्पनीका सेयरहरूमा करिब ५० प्रतिशत वृद्धि भएको छ र यो पछिल्ला केही वर्षदेखि एसएन्डपी ५०० सूचकांकमा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरूमध्ये एक रहिआएको छ । विश्वभर एआईको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ, जसका कारण आगामी दिनमा एनभीडीयाका सेयरहरू अझ बढ्ने अपेक्षा गरिएको छ । एनभीडीयाले बनाउने चिपहरूलाई ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू) भनिन्छ, जुन एआई उद्योगको मेरुदण्ड मानिन्छ । विश्वका सबै देशहरू चिप आपूर्ति शृंखलामा आफ्नो प्रभुत्व जमाउन चाहन्छन् । अमेरिका र चीनबीचको वास्तविक प्रतिस्पर्धा पनि यही क्षेत्रमा केन्द्रित छ । एनभीडीयाको मुख्यालय अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारामा रहेको छ । यसको स्थापना सन् १९९३ मा ताइवानी इन्जिनियर जेनसन हुआङले गरेका थिए । एनभीडीयामा उनको करिब ३.५ प्रतिशत हिस्सेदारी छ । उनी १७६ अर्ब डलरको नेटवर्थका साथ विश्वका धनी व्यक्तिहरूको सूचीमा नवाैं स्थानमा छन् । सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने
वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट, सचिव मैनालीको संयोजकत्वमा समिति गठन
काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार समिति गठनको निर्णय गरेकी हुन् । समितिमा क्याप्टेन कुलबहादुर लिम्बुलाई विज्ञ सदस्य राखिएको छ । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ । खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्ने गरि जिम्मेवारी तोकिएको छ । यसैगरी, निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।