काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक ३ सय ८१ स्वास्थ्य संस्थाहरूलाई रु. १ अर्ब ४५ करोडभन्दा बढी रकम भुक्तानी गरेको छ ।
बोर्डले असोज २ गते सेवा प्रदायक स्वास्थ्य संस्थालाई पठाएको पत्रअनुसार जेठ महिनासम्मको दाबी रकममध्ये सूचना प्रविधि शाखाबाट रुजु भई स्वीकृत भएका दाबीको भुक्तानी प्रक्रिया अघि बढाइएको हो ।
स्वीकृत दाबी रकममध्ये केही स्वास्थ्य संस्थाको रकम बाँकी रहेको, केही संस्थाको बैंक खाता नम्बर उपलब्ध नभएको तथा दुईवटा संस्थाको रकम रोक्का रहेको थियो ।
ती रकमसमेत व्यवस्थापन गरी भुक्तानी गरिएको पत्रमा उल्लेख छ ।
यसअघि रुजु भइसकेर पनि भुक्तानी हुन बाँकी रहेको रकमलाई समेत समेटेर भुक्तानी गरिएको बोर्डले जनाएको छ ।
स्वीकृत दाबी रकमको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गरी बाँकी रकम सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाको खातामा पठाउने व्यवस्था गरिएको छ ।
बोर्डले २०८३/०६/०१ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेटबाट निकासा भएको रकमबाट सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी गर्ने जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अस्पतालहरूले बीमितलाई उपचार सेवा उपलब्ध गराएपछि त्यसबापतको रकम बोर्डमा दाबी पेस गर्छन् ।
दाबी रुजु तथा स्वीकृत भएपछि मात्र अस्पतालले शोधभर्ना पाउने भएकाले दाबी व्यवस्थापन र भुक्तानीको समय स्वास्थ्य संस्थाका लागि महत्त्वपूर्ण हुने गरेको छ ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सम्बन्धित भुक्तानीबारे जानकारी गराउँदै दाबी भुक्तानीसम्बन्धी विवरण अद्यावधिक राख्नसमेत अनुरोधसमेत गरेको छ ।