एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिँदै !
काठमाडौं । प्रविधि क्षेत्रका ठूला कम्पनीहरूले कृत्रिम बौद्धिकता (एआई) मा अचम्मलाग्दो रूपमा बढ्दो लगानी गरिरहेका बेला तिनीहरूको डिजिटल विज्ञापन व्यवसाय पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । यो हप्ताका त्रैमासिक नतिजा विवरणहरूले मेटा, अमेजन, अल्फाबेट र माइक्रोसफ्ट सबैले विज्ञापनबाट उल्लेख्य आम्दानी गरेको देखाएका छन् । अनलाइन विज्ञापन बिक्रीमा भएको वृद्धि यस वर्षको सुरुवातमा देखिएका चिन्ताहरूलाई कम गरेको छ, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले बढाएको आर्थिक अस्थिरताले विज्ञापन बजेटमा नकारात्मक असर पार्ने आशंका गरिएको थियो । ‘मलाई लाग्छ डिजिटल विज्ञापन बजार बलियो छ,’ स्केलेबल नामक क्रिएटर इकनमी मिडिया फर्मकी सह–संस्थापक जस्मिन एनबर्ग भन्छिन्, ‘आर्थिक अस्थिरता र उतारचढाव अहिले धेरैका लागि सामान्यजस्तै भइसकेको छ, मानौं यो नै नयाँ सामान्य अवस्था हो ।’ यस त्रैमासमा मेटाले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै विज्ञापन आम्दानी वृद्धिमा अग्रता हासिल गर्यो । मेटाको कुल तेस्रो त्रैमासिक आम्दानी जसको ९८ प्रतिशत अनलाइन विज्ञापनबाट आउँछ, गत वर्षको तुलनामा २६ प्रतिशतले बढेर ५१.२४ अर्ब डलर पुगेको छ । जुन सन् २०२४ को पहिलो त्रैमासपछि कम्पनीको सबैभन्दा उच्च बिक्री हो । अमेजनको अनलाइन विज्ञापन इकाइको आम्दानी पनि वर्षको तुलनामा २४ प्रतिशतले बढेर १७.७ अर्ब डलर पुगेको छ, जुन कम्पनीको एडब्ल्यूएस क्लाउड कम्प्युटिङ इकाइको २० प्रतिशत वृद्धिभन्दा बढी दर हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी ज्यासीले अमेजनको आय कलमा बताएअनुसार कम्पनीले आफ्नो विज्ञापन(केन्द्रित डिमान्ड–साइड प्लेटफर्म (डीएसपी) लाई थप तेस्रो पक्षका एप्स र साइटहरूमा विस्तार गरिरहेको छ । ‘हामीले गरेका केही साझेदारीहरू हेर्दा रोकुसँगको साझेदारीले हामीलाई अमेरिकाको सबैभन्दा ठूलो ‘कनेक्टेड टिभी’ नेटवर्क दियो,’ ज्यासीले भने,’ र त्यसमा थप्दै हामीले हालै नेटफ्लिक्स, स्पोटिफाई र सिरियसएक्सएमका विज्ञापन सूचीहरूसँग हाम्रो डीएसपी ग्राहकहरूलाई एकीकृत हुने अवसर दिएका छौं । यो निकै शक्तिशाली संयोजन हो ।’ अल्फाबेटको तेस्रो त्रैमासिक विज्ञापन आम्दानी १३ प्रतिशतले बढेर ७४.१८ अर्ब डलर पुगेको छ । युट्युबको अनलाइन विज्ञापन आम्दानी १५ प्रतिशत बढेर १०.२६ अर्ब डलर पुगेको छ । माइक्रोसफ्टको सर्च र न्युज विज्ञापन इकाइले कम्पनीको आर्थिक पहिलो त्रैमासमा ३.७ अर्ब डलर आम्दानी र्गयो जुन गत वर्षको ३.२ अर्ब डलरभन्दा १४ प्रतिशत बढी हो । इमार्केटरका वरिष्ठ निर्देशक जेरेमी गोल्डम्यानका अनुसार आर्थिक अनिश्चितताका कारण केही कम्पनीहरूले विज्ञापन बजेट घटाए पनि सम्भवतः उनीहरूले पत्रपत्रिका जस्ता परम्परागत माध्यमहरूबाट बजेट सारेर डिजिटल विज्ञापन प्लेटफर्महरूमा लगानी गरेका छन्। ‘मलाई लाग्छ यो स्पष्ट निर्णय हो,’ गोल्डम्यानले भने, ‘तपाईंको पैसा सामाजिक सञ्जालमा, खुद्रा विज्ञापनमा र सर्च विज्ञापनमा लगाउनु नै बुद्धिमानीको कुरा हो ।’ यस हप्तामा ठूला कम्पनीहरू मात्र होइन अन्य पनि अनलाइन विज्ञापन आम्दानीमा उल्लेख्य वृद्धि देखिए । रेडिटले बिहीबार तेस्रो त्रैमासिक आम्दानीमा ६८ प्रतिशत वृद्धिको घोषणा गर्यो जुन विश्लेषकहरूको अनुमानभन्दा बढी थियो । कम्पनीका अनुसार विश्वव्यापी दैनिक सक्रिय प्रयोगकर्ता १९ प्रतिशत बढेर ११६ मिलियन पुगे, जुन अनुमानित ११४ मिलियनभन्दा माथि हो । स्न्याप र पिन्टरेस्टले आफ्नो परिणाम अर्को हप्तामा सार्वजनिक गर्नेछन् । एआईमा ठूला लगानी यी प्रविधि कम्पनीहरूले स्पष्ट रूपमा देखाएका छन् कि उनीहरूले एआईमा लगानी घटाउने कुनै कारण देख्दैनन् बरु पूँजीगत खर्च अझ बढाउने घोषणा गरेका छन् — एआई ‘बबल’ को चिन्ताबीच पनि । अल्फाबेट, मेटा, अमेजन र माइक्रोसफ्टले संयुक्त रूपमा यस वर्ष ३८० अर्ब डलरभन्दा बढी पूँजीगत खर्च हुने अपेक्षा गरेका छन् जुन ओपनएआईले हालै एनभीडीया, ओरेकल र ब्रोडकमसँग गरेको करिब १ ट्रिलियन डलरको डेटा सेन्टर र क्लाउड सम्झौताभन्दा सानो हो । तर लगानीकर्ताहरू अमेजन र गूगलप्रति सकारात्मक भए पनि माइक्रोसफ्ट र विशेष गरी मेटाप्रति त्यति उत्साहित देखिएनन् । मेटाको सेयर बिहीबार ११ प्रतिशत घट्यो जब कम्पनीले पूँजीगत खर्चको न्यूनतम सीमा ६६ अर्ब–७२ अर्ब डलरको दायराबाट बढाएर ७० अर्ब–७२ अर्ब डलर बनाउने घोषणा गर्यो । ओपेनहाइमरका विश्लेषकहरूले मेटाको सेयरलाई ‘बाय’ बाट घटाएर ‘होल्ड’ मा राखे किनभने उनीहरूको भनाइमा मेटाले गरेको एआई लगानीले क्लाउड सेवा चलाउने प्रतिस्पर्धीहरूको जस्तै प्रत्यक्ष लाभ दिने कुनै स्पष्ट संकेत देखाएको छैन । ‘अज्ञात आम्दानी स्रोतहरूबीचको सुपरइन्टेलिजेन्समा ठूलो लगानी सन् २०२१/२०२२ को मेटाभर्स खर्चजस्तै देखिन्छ,’ विश्लेषकहरूले लेखेका छन् । उनीहरूले मेटाको सुपरइन्टेलिजेन्स ल्याब्समा भइरहेको एआई लगानीको तुलना कम्पनीको घाटामा गएको रियालिटी ल्याब्स (भीआररएआरप्रविधि) सँग गरे । मेटाकी वित्त प्रमुख सुसान लीले बुधबारको ‘अर्निङ कल’ मा भनिन्, ‘एआईसम्बन्धी डेटा सेन्टर र तेस्रो पक्षका क्लाउड सेवामा लगानी नगरे कम्पनी पछि पर्न सक्छ ।’ उनले सीईओ मार्क जुकरबर्गको भनाइ दोहोर्याउँदै थपिन्, ‘कम्पनीको उच्चतम प्राथमिकता एआईमा नेतृत्व लिने उद्देश्यले स्रोतहरू लगानी गर्नु हो । त्यसैले नजिकिँदै गरेको अवधिमा हाम्रो नाफामा केही उतारचढाव देखिन सक्छ ।’ मेटाले बारम्बार भनिरहेको छ कि एआई लगानीले उसको अनलाइन विज्ञापन व्यवसाय सुधार गरिरहेको छ, तर भविष्यमा यसले कम्पनीलाई कसरी फाइदा र्पुयाउँछ भन्ने देखाउन कठिन भइरहेको छ। ‘हामीले हरेक त्रैमासमा एउटै कुरा सुन्दै आएका छौं — मेटाले एआईलाई आफ्नो विज्ञापन व्यवसायमा समावेश गरेर वृद्धि इञ्जिनको रूपमा प्रयोग गरिरहेको छ,’ एनबर्गले भनिन्, ‘तर त्यसपछि के हुन्छ भन्ने कुरा बुझाउन कठिन र लगानीकर्ताहरूका लागि कम देखिने खालको छ ।’ यद्यपि मेटाले नयाँ उत्पादनहरूमा केही वृद्धि देखिरहेको छ जस्तै ‘मेटा एआई’ एप जसमा ‘भाइब्स’ नामक एआई–समर्थित छोटा भिडियो सेवा छ । गोल्डम्यानका अनुसार कम्पनीले भविष्यमा सदस्यता मोडेल विस्तार गर्न वा निगमहरूका लागि एआई सेवा प्रदान गर्न सक्छ जुन क्षेत्रमा उसले अहिलेसम्म प्रवेश गरेको छैन । हालका लागि मेटाको डिजिटल विज्ञापन इकाइ नै उसको मुख्य व्यवसाय रहन्छ । तर अघिल्ला त्रैमासहरूजस्तै अर्थतन्त्रले विज्ञापन बजेटमा कस्तो असर पार्ने हो भन्ने अझै स्पष्ट छैन । बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा ! सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने
जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…
कैलाली । कैलारी गाउँपालिका-५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन्। यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ । गाउँका सबैले कठरियालाई स्नेहपूर्वक 'रामदास डाक्टर' भनेर सम्बोधन गर्छन् । तर उनी न त डाक्टर न वैद्य नै हुन् । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् । हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन् । उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउँछन् । छामेरै भन्छन्, 'यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।' त्यसपछि उपचार गर्छन् । आजसम्म कति बिरामी निको पार्नुभयो भन्ने यकिन तथ्यांक छैन । त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका हाेइनन् । उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थे । त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे । अहिले त्यही सीप उनको परिचय बनेको हो । ४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको । उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् । कठरियाको उपचार शैली पनि सरल छ । उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उनको हात, सीप र अनुभव नै औजार हो । बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउँछन् । उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन्। उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उनले उपचारको शुल्क निर्धारण गर्दैनन् । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उनले धन्यवादसहित ग्रहण गर्छन् । भजनीका भागिलाल चौधरी आफ्नो अनुभव सुनाउँदै भन्छन्, 'मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौं, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।' हरेक गाउँमा उनले उपचार गरेका अनेकौं उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उनीकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् । उपचारमा उनी प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन्। कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउँछन् । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउँछन् । उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । 'मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,' उनी भन्छन्, 'उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो।' उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहन्छन् । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उनी भन्छन् 'अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।' रासस
५ हेलिकप्टर मार्फत मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार
काठमाडौं । गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आइतबार ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो । ‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ । ५ हेलिकप्टर मार्फत पर्यटकको उद्धार गरियो । जसमध्ये ८५ प्रतिशत विदेशी पर्यटक थिए,’ निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने । मौसम सफा भएसँगै केही पर्यटक लार्केपास गरी मनाङ झरेका छन् । केही भने आरु घाटतर्फ फर्कँदै गरेका सहायक प्रजीअ बरालले जानकारी दिए । एक/दुई दिनभित्रमा उद्धार कार्य सम्पन्न हुने उनको भनाइ छ । आइतबार मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवा मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका-१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताए । उनीहरू गत मङ्गलबारदेखि परेको हिमपातले ढाकिएका र पहिरोले पुरिएका बाटो सफा गर्न गएका उनले जानकारी दिए । ‘आइतबार कतिपय पैदलमार्फत आरु घाटतर्फ झरे । बिरामी, अशक्तलाई हेलिकोप्टरबाट उद्धार गरियो । ३८० जना भने साम्दोबाट लार्केपास गर्न धर्मशालातर्फ गएका छन् । उनीहरू लार्केपास गरेर मनाङ झर्छन्,’ पर्यटन व्यवसायी लामाले भने । साम्दोमा पर्यटक आउने क्रम नरोकिएको उनको भनाइ छ । यो याममा (भदौ १६ देखि कात्तिक १५ सम्ममा) ६ हजार ४१४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कमा उल्लेख छ । हाल उक्त क्षेत्रमा सयौं पर्यटक रहेका छन् । तातोपानीबाट ३५ पर्यटकको उद्धार गोरखाको तातोपानी क्षेत्रमा अलपत्र परेका ३५ स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका-३ तातोपानीबाट नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले २० विदेशी र १५ नेपाली पर्यटकको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरू सामा गाउँबाट माछी खोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका हुन् । पर्यटक अलपत्र परेको जानकारी प्राप्त हुना साथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरु घाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछी खोलातर्फ पठाइएको थियो । उद्धार गरिएका पर्यटकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।