सुरक्षाकर्मीको साहसिक उद्धार अभियानले बचायो अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटक

म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशीसहित ७२ जना पर्यटकहरूलाई सुरक्षाकर्मीहरूको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार गरेको छ ।  म्याग्दीदेखि मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा हिउँले बाटो पुरिएपछि समस्यामा परेका पर्यटक उद्धार गर्न मुस्ताङ तर्फबाट सुरक्षाकर्मी टोली परिचालन भएको छ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरु सोमबार रातीदेखिको वर्षा र हिमपातका कारण पैदलमार्ग पुरिएपछि फर्कन नसकेर समस्यामा परेका थिए ।  शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट प्रहरी निरीक्षक बिनोद पौडेलको नेतृत्वमा गएको सात जना शसस्त्र, तीन जना जनपद प्रहरी र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोलीले पर्यटकको उद्धार गरेको हो ।  गुल्मपति प्रमुख प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलले १७ विदेशी सहित ७२ जना पर्यटकहरुलाई आधार शिविरबाट उद्धार गरेर बिहीबार बिहान हुमखोला झारिएको र उनिहरु सकुशल रहेका जानकारी दिए ।  ‘हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ,’ उनले भने, ‘उद्धार टोलीले पदमार्गमा थुपिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ ।’ अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग खाली बनाएर सबै पर्यटकहरुलाई सकशुल सुरक्षित ठाउँमा ल्याइएको प्रनाउ भुजेलले जानकारी दिए । वर्षा, हिमपात र मौसम खराब भएपछि समुन्द्रि सतहदेखि चार हजार एक सय ९० मिटर उचाइको आधार शिविर भ्रमणमा गएका पर्यटकहरु बास बसेकै ठाउँमा रोकिएका थिए।  हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाट, भुसकेत मेला र पञ्चकुण्डको होटलमा बसेका पर्यटकहरु सुरक्षाकर्मीहरुको सहायतामा फर्किएका छन् । मंगलबार दिनभर हिमपात भएको उक्त क्षेत्रमा बुधबार मौसम सफा भएको थियो भने बिहीबार बिहानदेखि पुन हिउँ पर्न थालेको छ ।  म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र बर्षाका कारण हुन सक्ने सम्भावित जोखिमको आँकलन गरेर सोमबार देखि कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको बताए । खोप्रालेक, घोडेपानी, पुनहिल, मोहरेडाडा लगायत क्षेत्रको भ्रमणमा नजान र सतर्कता अपनाउन प्रशासन तथा अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक सूचना मार्फत अपिल गरेका छन् ।  यसैगरी म्याग्दीको धवलागिरी–४ मुदीमा पर्ने धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा समुन्द्री सतहदेखि पाँच हजार एक सय मिटर उचाईको ‘हिडन भ्याली’मा समस्यामा परेका तीन जना बेलायतका महिला पर्यटक र १२ जना नेपाली पथप्रर्दशक तथा मजदुरहरुको उद्दारका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।  जोमसोम देखि बुधबार गएको नेपाली सेना, शसस्त्र र जनपद प्रहरीको तालिमप्राप्त सुरक्षाकर्मीहरुको टोली बिहिबार बिहान समुन्द्रि सतहदेखि तीन हजार सात सय मिटर उचाईमा अवस्थित मार्फाको आलुबारी पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुषालले बताए । ‘पर्यटकको टोली हिडन भ्यालीबाट धम्पुल लेकमा आइपुगेको जानकारी पाएका छौं,’ उनले भने, ुसुरक्षाकर्मीको टोलीले बाटो बनाउदै लेकतर्फ गइरहेको छ । मौसमले साथ दिएमा दिउँसोसम्म सुरक्षाकर्मी र पर्यटकको भेट हुने अनुमान गरेका छौं ।’ जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त बिष्टको नेतृत्वमा १५  तालिमप्राप्त सुरक्षाकर्मीहरु उद्धारमा परिचालन भएका हुन् ।   

मेडिकेयर हस्पिटलको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेडिकेयर हस्पिटलले लाभांश वितरण गर्ने भएको छ । हस्पिटलको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशतका दरले ४ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ छ । उक्त लाभांश प्रस्ताव पारित गर्न हस्पिटलले मंसिर ६ गते बिहान ११ बजे काठमाडौंमा २८औँ वार्षिक साधारण सभा बोलाएको छ ।  हस्पिटलको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  सन् १९९६ मा स्थापित, मेडिकेयर अस्पताल करिब ३ दशकदेखि स्वास्थ्य सेवा व्यवसायमा संलग्न छ । सानिमा र महतो ग्रुपको लगानीमा सञ्चालित मेडिकेयर हस्पिटलको काठमाडौंमा ८७ सैय्यामा चलिरहेको छ ।  सन् २०२४ मा हस्पिटलले ५४ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ५० करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ४७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

निजी अस्पतालका नर्सहरूको आन्दोलनमा स्वास्थ्य क्षेत्रका १४ संघसंस्थाको ऐक्यबद्धता

काठमाडौं । निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको समस्या समाधानका लागि भएको आन्दोलनमा स्वास्थ्य सेवासँग सम्बन्धित सबै ट्रेड युनियन तथा पेशागत संघ संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । देशभरका निजी अस्पतालमा कार्यरत नर्सको आन्दोलनमा समर्थन जनाउँदै नेपाल नर्सिङ संघ लगायतका स्वास्थ्यकर्मीहरूले राखेको माग उनीहरू समर्थन जनाउँदै ऐक्यवद्धता जनाएका हुन् ।   विभिन्न १४ वटा संघ संस्थाले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै माग प्रस्तुत गरेका छन् । जसमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०८२ असोज २४ गतेको पत्रमा उल्लेख गरिए अनुसार स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक दिनुपर्ने, तोकिएको समय भन्दा अतिरिक्त कार्य गरेवापत अतिरिक्त भत्ता दिनुपर्ने, ज्यालादारीमा कार्य गराउन नहुने, सक्कल शैक्षिक प्रमाणपत्रहरू राख्न नपाइने, अनुभवको पत्र दिनुपर्ने, सबै स्वास्थ्यकर्मीहरूको तलब भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी दिनुपर्ने परिपत्र तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यस्तै प्रत्यक्ष मानव जीवनसँग सरोकार राख्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरू माथि विभिन्न समयमा आक्रमण गरी भौतिक तथा मानवीय क्षति पुर्याउने कार्य प्रति पनि गम्भीर रूपमा ध्यानाकर्षण गरेको छ । नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल जनस्वास्थ्य संघ, नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल रेडियोलोजिकल सोसाइटी, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल नर्सिङ संघ र नेपाल डेन्टल साईन्स हाइजिनिस्ट एसोसिएसनले संयुक्त रुपमा उपभोक्ता संरक्षण ऐनका स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै दफाहरू स्वास्थ्यसँग सम्बन्धित विभिन्न ऐनहरूसँग बाझिएको हुँदा उक्त बाझिएका दफाहरू बाझिएको हदसम्म खारेज गर्न भनेका छन् । ‘तत्काल यो ऐन संशोधन गरी स्वास्थ्यसँग सम्बन्धित ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूसँग नेपाल सरकारले विगतमा गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।