एनसेलका ग्राहकले फेसबुक निःशुल्क चलाउन पाउने, ८० लाख नेपालीले फेसबुक चलाउने अाधिकारीक जानकारी
काठमाडौं । एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ । फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन । ‘‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौं । यसले ग्राहकलाई सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहनु भएका आफन्त, साथीभाई र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन मद्दत पुर्याउनेछ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले मंगलबार अायाेजित पत्रकार सम्मेलनमा भने । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले ईन्टरनेटको पहुँच र आर्थिक वृद्धिबिच स्पष्ट सम्बन्ध देखाएको परिप्रेक्षमा एनसेल सरकारसँग सहकार्य गर्दै सन् २०२० भित्र सबै गाउँ विकास समितिमा ईन्टरनेट पुर्याउने जस्ता राष्ट्रिय लक्ष्य प्राप्त गर्नमा योगदान पुर्याउन कटिबद्ध रहेको पर्किन्सले बताए । ‘‘ईन्टरनेट कभरेजमा वृद्धि गर्दै, सुलभ दर तथा नविनतम सेवा मार्फत हामी यस्ता राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउन काम गरिरहेका छौं । प्रविधि तटस्थताले कभरेज विस्तारलाई थप गति प्रदान गर्नेछ,” फेसबुक फ्रि योजना सार्वजनिक गर्दै पर्किन्स्ले भने । पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरुपमा फेसबुक फ्रि सार्वजनिक गरेका थिए । “एनसेलसँगको सहकार्यमा नेपालमा फेसबुकको यो सामाजिक अफर ल्याउन पाएकोमा हामी हर्षित छौं । यस्तो अफरले नेपालमा थप कनेक्टिभिटी सुनिश्चित गर्दै थप व्यक्तिहरुलाई ईन्टरनेटमा जोड्न योगदान पु¥याउने विश्वास छ,” नाइग्रेनले कार्यक्रममा भनिन् । फेसबुक फ्रि अफर यहि बुधबार (फागुन ४) बाट लागु भई ९० दिनको लागि रहनेछ । यो अफर फेसबुकसँग विश्वब्यापी रुपमा उसको आन्तरिक प्रणालीसँग मिलाईएको हुनाले निःशुल्क संस्करणको मजा लिन ग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नपर्ने छैन । अफरमा फेसबुकको अधिकांश फिचरहरु निःशुल्क उपलब्ध छन् । फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्नको लागि भने विद्यमान डेटा शुल्क लाग्ने छ । ग्राहकले आफुले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहेने ‘सि फोटोज’ बटन क्लिक गरी पेड संस्करणमा फोटो तथा भिडिया हेर्न सक्नेछन् । फेसबुकको फ्रि संस्करणबाट पेड संस्करणमा जानु भन्दा अगावै ग्राहकलाई सुचित पनि गराइने एनसेलले जनाएकाे छ । फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियोहरु अझ सुलभ दरमा हेर्नका लागि ग्राहकहरुले फेसबुक पेजबाटै आफ्नो आवश्यकता अनुसारको डेटा प्याकहरु खरिद गर्न पनि सक्नेछन् । त्यसैगरी एस्ट्रिक्स १२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार पनि ग्राहकहरुले आफुलाई चाहिएको डेटा प्याक खरिद गर्न सक्नेछन् । फेसबुकका अनुसार, हाल नेपालबाट ८० लाख भन्दा बढि मानिसहरु फेसबुकका माध्यमबाट सामाजिक रुपमा आवद्घ रहेका छन् । यसअघि कति नेपालीले फेसबुक चलाउँछन् भन्ने अाधिकारिक तथ्याङ्क सार्वजनिक भएकाे थिएन । फेसबुक फ्रि ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजरमा उपलब्ध हुने छैन । उदाहरणका लागि ओपेरा मिनि जस्ता प्रोक्सी ब्राउजरहरुबाट फेसबुक प्रयोग गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । त्यस्तै ग्राहकले फेसबुकका अन्य बाह्य लिङकहरु क्लिक गर्दा फेसबुक फ्रि संस्करणबाट बाहिर गएको सुचित गराइने छ र ग्राहकले यदि फेसबुक फ्रिबाट बाहिर जान चाहेमा विद्यमान डेटा शुल्क लाग्ने कम्पनीले जनाएकाे छ ।
शाइन रेसुङ्गाको नयाँ शाखा गुल्मीमा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गुल्मी जिल्लाको खज्र्याङ्ग बजारमा नयाँ शाखा कार्यालय खोली वित्तीय सेवा शुभारम्भ गरेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकको नयाँ शाखा कार्यालय सञ्चालन पश्चात २७ वटा शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गर्नेछ । १ अर्व १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको २०७३ पौष मसान्तमा निक्षेप ९ अर्व २० करोड रुपैयाँ र कर्जा लगानी ८ अर्व १७ करोड रुपैयाँ परिचालन गरेको छ । सोही अवधिमा कम्पनीले सञ्चालन मूनाफा २६ करोड ८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताएका छन् ।
२ वटा नयाँ जहाज ल्याउँदै गोमा एयर, सिंगल इन्जिनमा यात्रु प्रतिबन्धपछि मल्टि इन्जिनमा फोकस
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले दुईवटा नयाँ जहाज ल्याउने भएको छ । गोमाले दुर्गम क्षेत्रका विमानस्थलाई आधार बनाएर हवाई उडान गर्ने गरी चेकोस्लोभाकियामा निर्मित दुई जहाज खरिद गरिसकेको छ । जहाज आगामी एक सातामा आइपुग्ने गोमा एयरका अध्यक्ष विकास राणाले बताए । उनका अनुसार गोमाले ल्याउने जहाज सम्भवत आगामी मंगलबार उताबाट उड्ने २ दिनपछि नेपाल आइपुग्ने भएको छ । जहाज चाइनाको हवाई रुट हुँदै आउनुपर्ने र त्यहाँ लगातार दुईतीन दिन विदा परेकोले अनुमति लिन ढिलो भएको हो नत्र आइसक्यो उनले भने । गोमाले मल्टि इन्जिनका १९ सिट क्षमतायुक्त जहाल ल्याउने भएको छ । गोमाले एकैपटक दुईवटा जहाजलाई काठमाडौं अवतरण गराउने भएको छ । गोमा एयरले दिएको जानकारी अनुसार करीब सवा अर्ब रुपैयाँ खर्च गरेर दुई जहाज ल्याइने भएको छ । गोमाले चेक रिपब्लिकको एयरक्राफ्ट इन्डस्ट्रिजबाट खरिद गर्ने लेट–४१० यूभीपीई–२० नामक दुई जहाज एक सतामा नै काठमाडौं ल्याउने बताएको छ । यस अघि ६ महिना पहिले नै नयाँ विमान खरिदका गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्की र जहाज निर्माता कम्पनीका कमर्सियल डाइरेक्टर रोबर्ट इरार्टबीच खरिदपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार गोमाले दुईवटा जहाज ल्याउने भएको छ । विमानलाई निर्माता मुलुक चेकबाट ग्रिस, साउदी अरेबिया, ओमन, चीन हुँदै जहाज नेपाल आउँनमै पाँच दिनमा लाग्ने उल्लेख छ । हाल सुर्खेत र नेपालगन्जलाई आधार बनाएर गोमाले कर्णालीको सिमीकोट, जुम्ला, रारा, डोल्पा र बाजुरामा उडान गरिरहेको छ । थप जहाज आएपनि गोमाले पोखरा विमानस्थललाई आधार बनाउने बताएको छ । २ वटा सिंगल इन्जिनका जहाज सेस्ना क्याराभानबाट सेवा सुरु गरेको वायुसेवासँग हाल दुई वटा लेटका जहाज रहेका छन् । थप दुईवटा थप हुने भएको छ । दुई वटा सिंगल इन्जिनका जहाज पनि उडानमै रहेका छन् । यो वायुसेवाले काठमाडौंबाट लुक्ला पनि उडान गरिहरको छ । फिस्टेल ग्रुप अन्तर्गतको गोमा एयरको जहाज सिंगल इन्जिनमा यात्रु प्रतिबन्ध भएपनि मल्टि इन्जिनमा केन्द्रित सरकारले यस अघि काष्टमण्डप र मकालु एयरका सिंगल इन्जिनका जहाज दुर्घटना भएपनि यात्रु उडानमा जोखिम रहेको भन्दै सिंगल इन्जिनका जहाजलाई प्रतिवन्ध लगाएको थियो । यी वायुसेवाले यात्रु तथा कार्गो चार्टरको मात्रै अनुमति पाएका छन् । हाल गोमासँग २ र मकालुसँग एक जहाज मात्रै सिंगल इन्जिनको जहाज उडानमा प्रयोग भएको छ । एउटा सिंगल इन्जिनको जहाज काष्टमण्डप एयरसँग पनि छ । सरकारले यात्रु उडानमा प्रतिवद्ध लगाएपछि सिंगल इन्जिनको वायुसेवा गोमा एयरले छोटो समयमा नै आफूलाई मल्टि इन्जिनतर्फ डाइर्भ गरिसकेको छ । यो वायुसेवासँग दुर्गम क्षेत्रमा यात्रु उडान गर्ने र कार्गो सेवा दिने दुबै प्रकृतिको जहाज रहेको छ ।