अमेरिकी सरकारका लागि अमेजनले एआई पूर्वाधारमा ५० अर्ब डलर लगानी गर्ने
काठमाडौं । अमेजनले अमेरिकी सरकारका लागि कृत्रिम बौद्धिकता (एआई) तथा उच्च क्षमता कम्प्युटिङ सेवा विस्तार गर्न ५० अर्ब डलरसम्म लगानी गर्ने भएको छ । कम्पनीले सोमबार आफ्नो क्लाउड सेवा (एडब्ल्यूएस) का अमेरिकी सरकारी ग्राहकहरूका लागि यस्तो घोषणा गरेको हो । यो परियोजना २०२६ मा सुरु हुनेछ र संघीय एजेन्सीहरूका लागि विशेषरूपमा डिजाइन गरिएका नयाँ डेटा सेन्टरमार्फत १.३ गिगावाट क्षमताको पूर्वाधार थपिनेछ । उक्त लगानीपछि एजेन्सीहरूले एडब्ल्यूएसका एआई उपकरणहरू, एन्थ्रोपिकको क्लाउडी मोडेलहरू, एनभीडीया चिपहरू तथा अमेजनकै ट्रेनियम एआई चिपहरूको प्रयोग गर्न सक्नेछन् । यसअघि एन्थ्रोपिक, मेटा, ओराकल, ओपनएआई, सफ्टबैंकलगायत कम्पनीहरूले पनि अमेरिकी भूमिमा विशाल एआई पूर्वाधार विस्तार गर्ने योजनाहरू घोषणा गरिसकेका छन् । यो क्रममै स्टारगेट नामक संयुक्त परियोजनाले अर्का ५०० अर्ब डलरसम्म अमेरिका भित्रै एआई पूर्वाधारमा लगानी गर्ने लक्ष्य लिएको छ । एडब्ल्यूएसका अनुसार नयाँ परियोजनाले एजेन्सीहरूले कस्टम एआई समाधान विकास, डेटासेट अनुकूलन, तथा कार्यदलको उत्पादकता वृद्धि गर्न मद्दत पुर्याउनेछ। अमेजनका अनुसार एडब्ल्यूएसले हाल ११ हजारभन्दा बढी अमेरिकी सरकारी निकायहरूलाई सेवा दिइरहेको छ। प्रमुख कार्यकारी अधिकृत (सीईओ) म्याट गार्मनले भने, ‘यस लगानीले सरकारले सामना गर्दै आएको प्रविधिगत अवरोध हटाउनेछ र एआई युगमा अमेरिकालाई अग्रणी बनाउनेछ ।’ एआई सेवाका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको प्रतिस्पर्धामा अघिल्ला वर्षहरूमा टेक कम्पनीहरूले अर्बौं डलर छुट्याइरहेका छन् । अमेजनले पनि अक्टोबरमा २०२५ को लागि आफ्नो पूँजी खर्च अनुमान ११८ अर्बबाट बढाएर १२५ अर्ब डलर पुर्याएको थियो । फेसबुक–इन्स्टाग्राम मानसिक स्वास्थ्यका लागि हानिकारक ? मेटाले रोक्यो आफ्नै अनुसन्धान १ ट्रिलियनको नयाँ प्याकेज होइन, २०१८ को पे डिलले टेस्ला संकटमा
नेपाल रेमिटर्स एसोसिएसन र मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसबीच साझेदारी
काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनले मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेससँग औपचारिक साझेदारी गरेको छ । नेपाल रेमिटर्सले यस कदमलाई ‘ऐतिहासिक’ भन्दै एक महत्वपूर्ण कदमका रूपमा औंल्याएको छ । दुवै संघबीच केही चरणको छलफलपछि गरिएको सहकार्यले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ गर्ने, सहकार्य विस्तार गर्ने र दुवै देशका उद्योगको वृद्धि प्रोत्साहन गर्ने लक्ष्य राखेको नेपाल रेमिटर्सले जनाएको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहकार्य र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्नेछ ।' साझेदारी घोषणा कार्यक्रममा मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसका अध्यक्ष जाजाखान बिन कादेर गनी र नेपाल रेमिटर्सका अध्यक्ष रितेश मित्तलले दुवै देशका रेमिटेन्स उद्योगले सामना गरिरहेका साझा चुनौतीबारे विचार–विमर्श गरेका थिए । दुवैले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवर्द्धन, डिजिटल रूपान्तरण, अवैध सञ्चालकका गतिविधि नियन्त्रण, तथा उपभोक्ता संरक्षणजस्ता विषयमा संयुक्त पहल आवश्यक भएको कुरा उल्लेख गरे । नेपाल रेमिटर्सका अध्यक्ष मित्तलका अनुसार यो सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत मात्र होइन, ज्ञान आदान–प्रदान र नवप्रवर्तनलाई पनि बल पुर्याउनेछ । उनका अनुसार अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपालीहरू र नेपालको समग्र अर्थतन्त्रलाई प्रत्यक्ष लाभ दिनेछ ।
पहाडकी रानी हेर्न पर्यटकको ओइरो, होटल भरिभराउले व्यवसायी उत्साहित
काठमाडौं । बन्दिपुरमा ७ महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । वैशाखदेखि कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिए । ‘यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । ७ महिनामा ५ हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्ने गरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन्,’ उनले भने । उनका अनुसार वैशाखमा ३ हजार २९७, जेठमा ३ हजार ३४२, असारमा २ हजार ७६६, साउनमा २ हजार ७५, भदौमा १ हजार ८३२, असोजमा ३ हजार ७८६ र कात्तिकमा ४ हजार ६२७ जनाले भ्रमण गरेका छन् । त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा १ हजार ८९८, जेठमा २ हजार १३५, असारमा २ हजार ११५, साउनमा २ हजार ४५१, भदौमा १ हजार ९८२, असोजमा ५ हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् । कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देख्न सकिन्छ । विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । ‘यतिबेला बन्दिपुरमा रहेका चारवटा घरवास र ७० होटल भरिभराउ छन्, पर्यटकको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्,’ उनले भने ।