बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द, ४ जिल्लाका सेवाग्राही समस्यामा
म्याग्दी । प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्यांकअनुसार वार्षिक एक सय २० देखि एक सय ५० जनाले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । म्याग्दी ,मुस्ताङ सहित पर्वतको जलजला, बागलुङको ताराखोलाका गर्भवती समस्यामा परेका छन् । जिल्लाको एकमात्र अस्पतालमा कार्यरत चिकित्सकले कात्तिकमा राजीनामा दिएर गएपछि अब प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यता सृजना भएको हो । प्रसूति ब्यथाले छटपटिएका गर्भवतीलाई बागलुङ र पोखरा पुर्याउनुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले गुनासो गरे । ‘विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव नहुने जनाउँदै पठाएपछि बागलुङ लैजान बाध्य भए’, उनले भने, ‘प्रसूति सेवाका लागि जिल्लाबाहिर जानुपर्दा समय र आर्थिक भार बढेको छ ।’ गुरुङले श्रीमतीलाई प्रसूति गराउन बागलुङ लैजानु परेको गुनासो गरे । केही वर्ष अगाडि धवलागिरि अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालले समेत पोखरा रिफर गरेको गर्भवतीको बेनीमा सफल शल्यक्रिया भएको थियो । बेनी अस्पतालका निमित्त प्रमुख डा रामु सापकोटाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । ‘हामीले गरेको विज्ञापनमा कोही आउनुभएन’, उनले भने, ‘प्रदेशको स्वास्थ्य मन्त्रालयमा समस्याका बारेमा जानकारी गराए पनि हालसम्म चिकित्सक आउनुभएको छैन ।’ ‘निक साइमन इस्टिच्युट’को सहयोगमा २०७१ सालदेखि बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा सुरु भएको थियो। दाताको कार्यक्रम सकिएपछि यो कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिँदै आएको छ । जनशक्ति अभावमा हाल हाडजोर्नी तथा नशारोगबाहेक अन्य शल्यक्रिया सेवा पनि बन्द भएको छ। गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकारमातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समितिका प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पतालहरू नेतृत्वविहीन भएका हुन् । रासस
कृष्णसार एफएम ‘जेसी च्याम्पियन मिडिया २०८२’ बाट सम्मानित
काठमाडौं । नेपालगन्जमा रहेको रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जले ‘लैंगिक समानता र सामाजिक समावेशिता पुरस्कार २०८२’ (जेसी च्याम्पियन मिडिया) प्राप्त गरेको छ । समुदायका लागि सञ्चार अभियान नेपालद्वारा सञ्चालित यस एफएमलाई नेपालमा लैंगिक समानता तथा समावेशितामूलक पत्रकारिताको प्रवर्द्धनमा देखाएको प्रभावकारी भूमिका, नवीन पहल र निरन्तर अभ्यासको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो । सम्मानपत्रमा समाचार कक्षमा महिलाको सक्रिय सहभागिता, समावेशी भर्ना प्रक्रिया, लैंगिक तथा सामाजिक समावेशीकरण नीतिको कार्यान्वयन, महिलासम्बन्धी मुद्दाको प्राथमिकता, गुनासो व्यवस्थापन संरचना, अपाङ्ग–मैत्री पूर्वाधार, र पत्रकार सुरक्षा जस्ता विषयमा रेडियोले अपनाएका नमूना अभ्यासहरू विशेषरूपमा प्रशंसनीय रहेको उल्लेख छ । उपलब्धि सम्मानित गर्न राजधानीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले रेडियोका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक तुला अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, महासंघकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दिपक आचार्य लगायतको सहभागिता थियो । आयोजकका अनुसार सम्मान छनोट समिति मार्फत् तोकिएको विभिन्न सूचकका आधारमा उत्कृष्ट संस्थाहरूको मूल्यांकन गरिने र सोही प्रक्रियाबाट कृष्णसार एफएमलाई यस वर्षको अवार्डका लागि छनोट गरिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ अर्ब ८९ करोड बजेट पारित
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा शुक्रबार बसेको सभाले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्रीले सभामा बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसअनुसार प्रतिष्ठानको यो वर्षको बजेट १ अर्ब ८९ करोड ४६ लाख रहेको छ । जसमा सरकारबाट प्राप्त ३६ करोड ९५ लाख र आन्तरिक स्रोतबाट प्राप्त आय १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा प्रतिष्ठानले सरकारबाट ५७ करोड १९ लाख पाएको थियो भने आन्तरिक स्रोतबाट १ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको थियो । कुलपति एवं प्रधानमन्त्री कार्कीले उत्कृष्ट विशेषज्ञ सेवासहित ५ सय शय्या सञ्चालनमा रहेको प्रतिष्ठानलाई सरकारका तर्फबाट आवश्यक सहयोग निरन्तर हुने बताइन् । पछिल्ला केही वर्षयता यस अस्पतालले अत्याधुनिक स्वास्थ्य उपकरणको व्यवस्था गरी वार्षिक लाखौं नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराई आफूलाई भरपर्दो स्वास्थ्य संस्थाका रुपमा प्रस्तुत गरेको विषय हामी सबैको गौरवको विषय रहेको उनको भनाइ थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २०७२ सालबाट स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपन्तारित प्रतिष्ठानका स्नातकोत्तरतर्फ एमडी एमएसमा १३ विभागअन्तर्गत १०० विद्यार्थी अध्ययनरत छन्। एमडी एमएसका तीनवटा ब्याच पूरा भइसकेका छन् । स्नातकतर्फ एमबीबीएस, बीएनएस, बीएसस्सी नर्सिङतर्फ १७० विद्यार्थी अध्ययनरत छन् । सभामा सहकुलपति एवं स्वास्थ्यमन्त्री डा. सुधा गौतम, स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सभाका सदस्यहरूको उपस्थिति थियो ।