नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ । नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रअनुसार कम्पनीको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको हो। मन्त्रालयले सहसचिव अरुणा जोशीलाई नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नियमावलीको नियम १२ को खण्ड (छ) अनुसार नेपाल सरकारको प्रतिनिधि सञ्चालकको व्यवस्था भएकाले सचिवस्तरीय निर्णयअनुसार जोशीको नियुक्ति गरिएको हो । नवनियुक्त सदस्य जोशीले गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन् । उनले यसअघि सञ्चालक रहेका कोमल बहादुर खत्रीको स्थान लिनेछिन् ।
अपरिचित सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न प्रहरीको आग्रह
काठमाडौं । पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो । परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताए । उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउँदै ठगी गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । सार्वजनिक सूचनामा अनलाइनबाट सामान खरिद गरी रकम भुक्तानी तिर्दा आधिकारिक बिक्रेता यकीन गरी मात्र तिर्न र नगद दिँदा पनि सुरक्षित हुन अनुरोध गरिएको छ । प्रवक्ता भट्टराईले भने, 'अपरिचित व्यक्ति वा नम्बरबाट श्रव्यदृश्य सन्देश (भिडियोकल) गरी उक्त कल रेकर्ड गरेर भिडियोलाई अश्लिल बनाएर ‘ब्ल्याकमेल’ गर्ने र पैसा माग्ने जोखिम बढेकाले, त्यसतर्फ पनि सावधान हुनुस् ।' उनका अनुसार आफ्ना साथीभाइहरू तथा आफन्तले विभिन्न सामाजिक सञ्जालबाट समस्या देखाइ आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकीन गरेर मात्रै सहयोग गर्न अनुरोध गरिएको छ । उक्त समयमा खाता ‘ह्याक’ हुनसक्ने भएकाले सचेत हुनुपर्ने जरुरी रहेको उनले बताए । सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ । त्यस्तै अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न अनुरोध गर्दै प्रहरीले आफ्नो ‘ओटिपी कोड’ अरुलाई नदिन, आफ्नो मोबाइलको ‘स्क्रिन’ कसैलाई नदिन, सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी नराख्न, आफ्नो ‘पासवर्ड’लगायत नीजि विवरण साथीभाइ वा नजिकैका आफन्तलाई पनि नदिन अनुरोध गरेको छ ।
मुस्ताङमा ४ महिनामा भित्रिए २ लाख २ हजार पर्यटक, एक तिहाइ कोरला नाका भ्रमण गर्छन्
काठमाडौं । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ४ महिनाको अवधिमा २ लाख २ हजार ३५१ जना पर्यटक भित्रिएका छन् । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म बेनी-जोमसोम सडक मार्ग हुँदै १ लाख ६० हजार ९२९ जना आन्तरिक र ४१ हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९ जना र कात्तिक महिनामा ८३ हजार ७६६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । यसअघि आव २०८१/८२ मा राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग हुँदै सात लाख ५ हजार ७७९ हजार आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष ५ लाख ५५ हजार ३२६ जना आन्तरिक र १ लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङमा गत वर्षको कूल पर्यटक सङ्ख्याको तुलनामा चालु आवको पहिलो ४ महिनामा २८.७६ प्रतिशत पर्यटक मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कले देखाउँछ । तर, चालु आवको पहिलो चौमासिकमा युवाको जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटनमा आंशिक असर पुर्याएको थियो । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन वृद्धि भइरहेको छ । यहाँको कोरला सडक अन्तर्गत म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म दुई तिहाइ स्थानको सडक कालोपत्र सम्पन्न भइसकेकाले पनि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको हो । मुक्तिनाथ दर्शनका लागि यहाँ आएका पर्यटकमध्ये एक तिहाइ पर्यटक माथिल्लो मुस्ताङ र कोरला नाका भ्रमणका लागि जाने गरेका छन् । नेपाल-चीन बहुचर्चित कोरला नाका तथा लोमान्थाङ दरबार, झोङ गुफालगायत माथिल्लो मुस्ताङका सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, मानव निर्मित गुफालगायत माथिल्लो मुस्ताङको भौगोलिक तथा जैविक विविधता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षदेखि पर्यटन मन्त्रालयले उपल्लो मुस्ताङको हिम चुचुराको आरोहण खुला गरिएकाले विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको उनको भनाइ छ । यसैगरी, मुक्तिनाथ दर्शन गर्न आएको आन्तरिक पर्यटकले कागबेनी धाममा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने भएकाले आन्तरिक पर्यटक वृद्धि भएको पाइएको हो । यसैगरी लमजुङको बेँसी शहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिने विदेशी पर्यटक जोमसोमबाट हवाईमार्ग हुँदै फर्किने गर्छन् । मुस्ताङ आउने पर्यटकले यहाँको ढुम्बाताल, यारुझो भ्यूटावर, जोमसोम बजार, मार्फा गाउँलगायत अवलोकन गर्न छुटाउँदैनन् ।