चितवनमा सर्ने क्षयरोगका बिरामी बढी, चौध वर्षमुनिका २७ जनामा क्षयरोग
चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका पाइएको छ । नियमित परीक्षणका क्रममा जिल्लामा पहिचान भएका क्षयरोगीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका छन् । तीमध्ये चार जना चार वर्षमुनिका छन् । जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता पाँच हजार ३८२ जनाको परीक्षण गरिएकामा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जसमध्ये २८७ जनामा नसर्ने र ३३६ जना सर्ने खालको क्षयरोग भएको भेटिएको छ । सङ्क्रमितमध्ये सात जनालाई औषधिले काम नगर्ने खालको क्षयरोग भेटिएको छ । सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण गर्ने संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका छन् । क्षयरोग प्रमाणित गर्नका लागि जिल्लामा २८ वटा ‘माइक्रोस्कोप’ र चारवटा ‘जिन एक्स्पर्ट’ गर्ने संस्था छन् । माइक्रोस्कोपबाट तीन हजार ८१ जनाको परीक्षण गरिएकामा १४३ जनामा सङ्क्रमित भेटिएको थियो । यस्तै जिन एक्स्पर्टबाट दुई हजार ३०१ जनाको परीक्षण गर्दा ३०७ जनामा क्षयरोग सङ्क्रमित देखिएको उनले बताए । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये २३५ महिला र ३८८ जना पुरुष रहेका छन् । गत आर्थिक वर्षमा एक हजार ८९ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको थियो । सङ्क्रमितमध्ये २२ जनाको क्षयरोगका कारण मृत्यु भएको थियो । गत वर्ष १३ हजार १०७ जनाको परीक्षण गरिएको थियो । यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो । रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको ब्याक्टेरियाले सङ्क्रमण भई गम्भीर समस्या निम्त्याउने उनले बताए । रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो रोग लागेमा सूर्ति मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छाड्ने गर्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने उनले जानकारी दिए । स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (छदेखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न सुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समय–समयमा परीक्षण गर्न उनी सुझाउँछन् । रासस
सिद्धार्थ बैंकका ५१ कार्यक्रममार्फत २६४९ विद्यार्थी लाभान्वित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले मार्च १६ देखि २२, २०२६ सम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सम्पन्न गरेको जनाएको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित मनाइएको यस वर्षको अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा बैंकिङ सेवा, डिजिटल कारोबार तथा त्यसमा अपनाउनुपर्ने सावधानीबारे जानकारी प्रदान गरिएको थियो । विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, सकारात्मक मनोवृत्ति तथा व्यवहार विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा २ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । साथै, बैंकिङ प्रणालीको व्यवहारिक ज्ञान प्रदान गर्न ४७८ विद्यार्थीलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण गराइएको बैंकले जनाएको छ । ग्लोबल मनी वीक अवधिभर बैंकले कुल ५१ वटा कार्यक्रममार्फत २ हजार ६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको जनाएको छ । सप्ताहभर बैंकले सामाजिक सञ्जालमार्फत दैनिक रूपमा जानकारीमूलक सामग्री प्रकाशन गर्दै वित्तीय सचेतना विस्तार गर्ने प्रयास पनि गरेको थियो । देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्दै सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यअनुसार सञ्चालन गरिएका कार्यक्रमहरूले ग्लोबल मनी वीकका मूल उद्देश्य हासिल गर्न सकारात्मक योगदान पुगेको बैंकको विश्वास छ ।
४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर
काठमाडौं । सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने लक्ष्य नेपालको छ । यो लक्ष्यका साथ सरकारले देशभरि क्षयरोगी पत्ता लगाउने र उपचार गर्ने काम गरिरहेको पनि धेरै वर्ष भइसकेको छ । तर, नेपाललाई दुवै लक्ष्य पुरा गर्न अहिलेको तथ्यांकले चुनौती देखाएको छ । ४२ प्रतिशत बिरामी अहिले पनि उपचार बाहिर रहेकाले चुनौती थपिएको छ भने अहिले पनि नेपालमा वार्षिक ६७ हजार नयाँ बिरामीहरू फेला पर्ने गरेका छन् । नेपालमा क्षयरोग अझै जनस्वास्थ्यको समस्याको रुपमा रहेकाले लक्ष्य पुरा गर्न चुनौती देखिएको विज्ञहरू बताउँछन् । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा वर्षमा करिब ६९ हजार नागरिक क्षयरोगबाट प्रभावित हुने गरेका छन् भने करिब १७ हजारको यही रोगका कारण मृत्यु हुने गरेको छ । अहिले पनि दैनिक ४४ जनाको मृत्यु यही रोगका कारण हुने भएकाले चुनौती थपिएको केन्द्रले देखाएको छ । केन्द्रका निर्देशक डा. भुवन पौडेलले यसको न्यूनीकरणका लागि राज्यका तर्फबाट विभिन्न प्रयास भइरहेको बताए । गत आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार १ सय ५१ जना क्षयरोगी पत्ता लगाइ उपचारका लागि ल्याइएको थियो । जसमा ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत बालबालिका थिए । सरकारले देशभर निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गरेको छ । हाल देशका ६ हजार २ सय ४१ वटा स्वास्थ्य संस्थाबाट क्षयरोगको सेवा उपलब्ध छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार ७ सय ८५ संस्थामा माइक्रोस्कोप सेवा, १ सय ४२ वटा संस्थामा द्रुत परीक्षण सेवा नि:शुल्क रूपमा सञ्चालन गरिएको छ भने औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको छ । यस्तै, १ सय ४९ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान विस्तार भएको छ । फोक्सोका बिरामी धेरै नेपालमा तीन प्रकारका क्षयरोगी भेटिएका छन् । जसमध्ये सबैभन्दा बढी फोक्सो सम्बन्धी क्षयरोग रहेको छ । फोक्सो सम्बन्धी क्षयरोग देखिएको क्षयरोगमा ज्वरो आउने, खोकी लाग्ने, खोकीबाट रगत आउने, तौल घट्ने लक्षण देखिन्छ भने यसले फोक्सोलाई असर गर्छ । फोक्सोभन्दा बाहेक शरीरका अन्य ग्रन्थी, पेट, हड्डी, मस्तिष्कमा पनि क्षयरोग देखिन्छ भने अर्को औषधि प्रतिरोधी क्षयरोग पनि नेपालीमा देखिएको छ । जुन जटिल प्रकारको मानिन्छ । यसमा अन्य क्षयरोग भएका व्यक्तिले खाने औषधिले काम गर्दैन र त्यसको लागि उपचार महँगो र लामो समय लाग्ने हुन्छ । क्षयरोग नियन्त्रणका लागि सरकारले प्रयास गरेपनि नागरिक सम्पर्कमा नआइदिँदा समस्या भएको छ । वर्षेनी करिब ६७ हजार नागरिक क्षयरोगबाट प्रभावित भएपनि धेरै बिरामी सम्पर्कमा नआइदिँदा पनि नियन्त्रणमा समस्या भएको विज्ञहरू बताउँछन्।