संविधान दिवसमा टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबीसम्म डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ ।

टेलिकमले ‘अनलिमिटेड लाइट ४९९’ र ‘अनलिमिटेड प्रो ६९९’ गरी दुई प्रकारका डाटा प्याकेज सार्वजनिक गरेको हो ।

‘अनलिमिटेड लाइट ४९९’ प्याकेज ४९९ रुपैयाँ (करसहित) मा उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ । दैनिक ५ जीबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएस गतिको अनलिमिटेड डाटा चलाउन सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि ६९९ रुपैयाँ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ । १० जीबी सकिएपछि पनि बाँकी समय ३ एमबीपीएस गतिको अनलिमिटेड डाटा चलाउन सकिनेछ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेजमा रेन्टल शुल्कसमेत समावेश गरिएको टेलिकमले जनाएको छ ।

यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन उपलब्ध हुनेछ । अफर लिन ग्राहकले मोबाइलबाट *१४१५# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सक्नेछन् ।

Share News