काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका रक्तसञ्चार केन्द्रलाई आफ्नो केन्द्रमा मौज्दात रहेको रगत तथा रक्ततत्वको विवरण ‘रक्त ट्र्याकिङ तथा रक्तदाता व्यवस्थापन प्रणाली’ (बीटीडीएमएस) मा अनिवार्य रूपमा प्रविष्ट तथा अद्यावधिक गर्न निर्देशन दिएको छ ।
मन्त्रालयअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालित उक्त प्रणालीमा आबद्ध भएका रक्तसञ्चार केन्द्रहरूले आफ्नो केन्द्रमा उपलब्ध रगत तथा रक्ततत्वको विवरण तत्कालीन तथ्यांक (रियल टाइम डाटा) का रूपमा प्रविष्ट तथा अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बीटीडीएमएस प्रणालीमा प्रविष्ट गरिएको विवरण स्वास्थ्य मन्त्रालयको वेबसाइट तथा नागरिक एप मार्फत समेत सर्वसाधारणले हेर्न सक्ने व्यवस्था गरिएको छ । यसबाट नागरिकले आफूलाई आवश्यक पर्ने रगत वा रक्ततत्व कुन रक्तसञ्चार केन्द्रमा उपलब्ध छ र त्यसको मौज्दात कति छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन् ।
हाल केही रक्तसञ्चार केन्द्रहरूले आफ्नो केन्द्रमा मौज्दात रहेको रगत तथा रक्ततत्वको सही विवरण प्रणालीमा प्रविष्ट तथा अद्यावधिक नगरेको गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसैले तालिम सम्पन्न गरेका ३९ वटा रक्तसञ्चार केन्द्रलाई आफ्नो केन्द्रमा उपलब्ध रगत तथा रक्ततत्वको मौज्दात परिमाण, प्रकार तथा अन्य आवश्यक विवरण प्रणालीमा प्रविष्ट गरी नियमित रूपमा अद्यावधिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले प्रणालीमा प्रविष्ट गरिने विवरणको शुद्धता, पूर्णता र समयमै अद्यावधिक हुने सुनिश्चित गर्न सम्बन्धित रक्तसञ्चार केन्द्रका प्रमुख तथा जिम्मेवार कर्मचारीलाई निर्देशन दिएको छ । रगतको विवरण नियमित रूपमा अद्यावधिक हुँदा रक्तसञ्चार सेवा थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री हुने मन्त्रालयको भनाइ छ ।
आवश्यक सहजीकरण तथा प्राविधिक सहयोगका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौंमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।