वैदेशिक रोजगारीमा रहेका नेपालीको साहारा बन्न राजदूतावासलाई आग्रह
काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै विदेशमा रहेका नेपालीको सुरक्षाबारे सरकारले सो देशको दूतावासलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समा नेपालीको अवस्थाबारे जानकारी लिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको उपस्थितिमा इजराइल, दक्षिण अफ्रिका, मलेसिया, जापान, दक्षिण कोरियामा रहेका नेपालीको अवस्थाबारे उक्त भिडियो कन्फ्रेन्स गरेका हुन् । उक्त छलफलमा भिसा सकिएर नेपाल आउने क्रममा रहेका नेपालीले काम गर्ने कम्पनीसँग समन्वय गरि गाँस, बास र अति आवश्यक सेवा सुविधा व्यवस्थापन गर्न सम्बन्धित दूतावासलाई पहल गर्न सरकारले दिएको छ । नेपालीको उच्च मनोबल खस्किन नदिनको आग्रह गरेको छ । त्यस्तै, सोमबार मध्यपूर्व, अफ्रिकास्थित नेपाली राजदूतसँग त्यहाँको अवस्थाबारे छलफल गरेका थिए ।
नेपाली कामदार फिर्ता गर्न थाले विदेशी कम्पनी, दुई देशका ३ सय ३६ जना फिर्ता गर्न पत्राचार
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीलाई रोजगारदाता कम्पनीले फिर्ता गर्न थालेका छन् । विश्वभर फैलिएको कोरोना सन्त्रासको कारण कम्पनी बन्द भएकोले कामदार फिर्ता प्रक्रियामा त्यस्ता कम्पनी लागेका हुन् । यसै क्रममा दुबई र बहराईनका कम्पनीहरुले ३ सय ३६ नेपाली स्वदेश फिर्ता पठाउने प्रक्रिया सुरु गरेका छन् । ती दुई देशका कम्पनीहरुले नेपालका वैदेशिक रोजगार व्यवसायीलाई पत्र पठाउँदै कामदार फिर्ता लैजान आग्रह गरेका छन् । दुबइ र बहराइनका कम्पनीले नेपाली कामदार फिर्ता लिन आग्रह गर्दै वैदेशिक रोजगार व्यवसायी संघ तथा सम्बन्धित म्यानपावरलाई पत्र पठाएका हुन् । वैदेशिक रोजगार रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुुकका रोजगारदाता कम्पनी बन्द भएसँगै नेपालीलाई फिर्ता पठाउने पत्र आउन थालेको बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारीमा तथा अध्ययन एवंम भ्रमणका लागि विदेशीयका नागरिकको अवस्थाप्रति संसारभरका सरकार केन्द्रित भएका छन् । ‘हालसम्म बहराईन र दुबईका ८ कम्पनीमा कार्यरत ३ सय ३६ नेपाली कामदारलाई फिर्ता पठाउन कम्पनीले सन्देश संप्रेषण गरेका छन्’ महासचिव श्रेष्ठले भने । बहराईनको राजधानीमा रहेको फोर सीजन होटलमा कार्यरत ४८ नेपालीलाई नेपाल फिर्ता गर्ने तयारी भएको भन्दै उक्त होटलले सूचना पठाएको छ । कोरोना भाइरसको संक्रमण फैलिए र होटल बन्द भएसँगै त्यहाँ कार्यरत सबै विदेशी नागरिकलाई आफ्नो देश फर्काइरहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको छ । मिलेनियम् एयरपोर्ट होटेल दुबई बन्द भएसँगै त्यस होटलमा कार्यरत ४ नेपालीलाई नेपाल फर्काउने तयारी गर्दै कम्पनीले पत्रचार गरेको थियो । ग्रान्ड कोज्मोपलिटन् होटल, दुबईमा कार्यरत १९ नेपाली कार्यरत छन् । कोरोना भाइरसको संक्रमणकै कारण होटल बन्द भएसँगै नेपाल फिर्ता पठाउन पत्रचार गरेको छ । दुबईमा रहेको ५ तारे रेडिसन होटल बन्द भएसँगै त्यहाँ कार्यरत ४७ जना नेपाली देश फर्काउनका सन्देश प्राप्त भएको छ । त्यस्तै दुर्बइमा रहेको अर्काे ५ तारे होटल इन्टरकन्टिनेंटल पनि बन्द भएको भन्दै त्यहाँ काम गरिरहेका १ सय २० जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ । क्राउन प्लाजा दुबई पनि बन्द भएको छ । त्यहाँ रहेका ७८ जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ । उक्त प्लाजाभित्र रहेका १२ वाटै रेष्टुरेन्ट बन्द भइसकेको जानकारी आएको छ । नियमित रुपमा देशभरिका धेरै कार्यक्रम हुने तथा खेलाडीको आकर्षित गर्न अब्बल रहेको अबूधाबी गल्फ क्लब बन्द भएको छ । त्यहाँ रहेका १३ जना नेपाली फर्काउन उक्त क्लबले पनि सन्देश पठाएको छ । दुबईमा रहेको अरबियन होटल ग्रुप पनि बन्द भएको र त्यहाँ रहेका ७ जना नेपालीलाई नेपाल फर्काउन उक्त कम्पनीबाट सन्देश प्राप्त भएको श्रेष्ठले जानकारी दिए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जुनसुकै मुलुकमा रहेका नागरिकलाई रोग संक्रमण भएमा दुवै देशको सहमतिविना पठाउन नपाउने घोषणा गरेको छ ।
वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने शव ढुवानी बाहेक सम्पूर्ण सेवा बन्द
काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने शव ढुवानी बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । प्रधानमन्त्रीको सम्बोधन समेत अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्देशन दिएसँगै बन्द गर्ने निर्णय गरेकाे हाे । उक्त निर्देशन र भैपरी आउने जोखिमलाई न्यूनीकरण गर्न वैदेशिक रोजगार विभागले उक्त अर्काे सूचना नआए सम्मका लागि शव दुवानी बाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सभा समारोह लगायत ठूला÷साना जमघट नगर्न निर्देशन दिएको थियो । महामारीको रुपमा विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संघले घोषणा गरेको छ ।