भारतको मध्य प्रदेशमा रोजगार मेला हुने

भुपाल । भारतको मध्य प्रदेश सरकारले रोजगार मेलाको आयोजना गर्ने भएको छ । प्रदेश भरीमा रोजगारी दिने र रोजगारी खोज्नेहरुका बीचमा समन्वय गराउने गरी मेलाको आयोजना गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई सहयोग पुग्ने उद्धेश्यले रोजगार मेलाको आयोजना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । ‘विभिन्न प्रदेश तथा देशबाट आएका आप्रवासी कामदारहरुका लागि पनि काम खोजी दिन मेलामार्फत् सहयोग पुग्ने विश्वास गरिएको छ’ एक सरकारी अधिकारीले भने । विषेश गरेर प्रदेशभन्दा बाहिरबाट फर्किएका आफ्नो प्रदेशका जनतालाई प्राथमिकतामा राखेर रोजगारदातासँग सामन्वय गरिदिन लागिएको ती अधिकारीको भनाई छ । अत्यधिक महत्वका साथ हेरिएको यो प्रदेशस्तरी मेला यही जुन महिनाको तेस्रो हप्तातिर शुरु हुने जनाइएको छ । कामदारहरुले आफै सरकारलाई रोजगारीका लागि नाम दर्ता गराउने छन्, उनीहरुलाई नै रोजगारी मेलामा बोलाइनेछ र उनीहरुलाई रोजगारदातासँग भेट गराईनेछ, सरकारी अधिकारीले भने । कारखाना सञ्चालक, निर्माण व्यवसायीलगायतसँग भेट गराएर बेरोजगारलाई रोजगारीको व्यवस्था गरिने जनाइएको छ । मेलामा सहभागी हुन आउने कामदारहरुलाई खाना तथा पानीको समेत व्यवस्था गरिनेगरी प्रदेश सरकारले योजना बनाएको छ । मेलाका बेलामा कोरोना भाइरसबाट जोगिनका लागि अप्नाउनु पर्ने आधारभूत सतर्कताहरुलाई पनि ध्यान दिइने सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क तथा पन्जा लगाउनु पर्ने लगायतका व्यवस्था पनि उनीहरुले गराउने भएका छन् । रासस/पिटिआई

गाउँलेको दुःखमा सघाउँदै प्रवासी

गलकाेट । तीन साताअघि भएको आगलागीले गलकोट नगरपालिका–७ मल्मका जुक्तबहादुर खड्काको घरबास गुम्यो । खाद्यान्न, लत्ताकपडासहित सरसमान सबै जले । लाखौँको भौतिक क्षति भयो । त्यसको केही दिनपछि सोही वडाका लक्ष्मण सुनारको साउदी अरबमा निधन भयो । हृदयाघातका कारण मृत्यु भएका सुनारको परिवारलाई बच्न पर्यो । श्रीमती, बालबच्चा बिचल्लीमा परे । गत फागुनमा रोजगारीका लागि साउदी अरब पुगेका सुनारको शव उतै रोकिएको छ । परिवारका सदस्यलाई अन्तिमपटक मुख हेर्ने धोको छ । बन्दाबन्दीले शव ल्याउन कठिन छ । प्रक्रिया झण्झटिलो र खर्चिलो छ । यसरी गाउँका दुई छिमेकी परिवारलाई परेको विपद्ले जापानमा रहेका गलकोटेको मन कुँडियो । दुःख, अप्ठेरोमा सघाउन बानी परेका उनीहरुले खड्का र सुनार परिवारका लागि सहयोग अभियान चलाए । एक सातामै झण्डै १५ लाख जुट्यो । अग्निपीडित खड्का परिवारका लागि ८ लाख १९ हजार २ सय ४४ सङ्कलन भएको अभियानकर्मी दुर्गा थापाले बताए । उनीसहित दिल थापा ‘रामु’ प्रकाश केसी, कृष्ण केसी, दिनेश थापा, तुलवीर थापालगायत अभियानमा जुटेका थिए । “जापानमा रहनुभएका १ सय ४७ भन्दा बढी गलकोटेहरु यो अभियानमा जोडिनुभएको छ”, उनले भने, “हामी सबैको प्रयासले यो सम्भव भएको हो ।” अभियान थालेको एक साताभित्रै उक्त रकम सङ्कलन भएको उनको भनाइ छ । सोही अवधिमा सुनार परिवारको राहतका लागि रु छ लाख १७ हजार ६ सय २० सङ्कलन भएको जापानबाट दिनेश थापाले जानकारी दिए । उनका अनुसार दुवै घटनापछि सङ्कलित सहयोग रकम वडा कार्यालयमा पठाइसकिएको छ । “वडामार्फत राहत प्रदान गर्ने गरी रकम पठाइसकेका छौँ”, दिनेशले भने, “उक्त रकम पीडित परिवारको हितमा सही ढङ्गले सदुपयोग होस् ।” वडाध्यक्ष टीकाबहादुर थापाले जापानबाट राहत रकम वडाको खातामा आइसकेको बताए । अग्निपीडित खड्का परिवारको घर निर्माणमा उक्त रकम सहयोग गरिने उनको भनाइ छ । “पीडित परिवारको पनि राय लिएर उपयुक्त काममा सहयोग गर्छौं”, वडाध्यक्ष थापाले भने । सुनार परिवारमा पनि बालबच्चाको पढाइ र उनीहरुको सुरक्षित भविष्यका लागि राहत रकम प्रदान गर्ने वडाको सोच छ । कमाउन विदेश पुगेका लक्ष्मणको अल्पायुमा निधन भएपछि परिवारमा सङ्कट आइलागेको छ । अग्निपीडित खड्का परिवारको व्यथा पनि सानो छैन । न्यून आय भएको परिवार भएका कारण सबैको सहयोगको खाँचो छ । यसअघि पनि विभिन्न सङ्घसंस्था र व्यक्तिले उक्त परिवारलाई राहत प्रदान गरेका थिए । महिला जागरण केन्द्र मल्म, रेडक्रस बागलुङ, लायन्स क्लब अफ धवलागिरिलगायतका सङ्घसंस्थाले राहत रकम र खाद्यान्न सामग्री दिएका थिए । जिल्ला प्रशासन कार्यालयले पनि १० हजार उपलब्ध गराएको थियो ।  रासस

कतारबाट नेपाल फर्कनेकाे सूची सार्वजनिक, पहिलाे चरण ५ हजार बढी आउँदै

काठमाडौं । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीको सूची दोहास्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमा रोजगारीको अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनका लागि पहिलो चरणको सूचीतय गरेको जनाएको छ । श्रम अवधि सकिएको, रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, आफन्तको मृत्यु पछिको संस्कारमा लागि आउनु पर्ने, वेतलबी विदामा बसेका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ । फर्किने सबै व्यक्तिहरुको उडान अनुमति प्रक्रिया पुरा गरेर मात्र नेपाल ल्याउने व्यवस्था छ । जसमा कोरोना संक्रमण नभएको हुनु पर्नेछ । संक्रमित विरामी कुनै देशबाट पनि नेपाल आउन नपाउने व्यवस्था सरकारले लागु गरेको छ । त्यस्तै आममाफी पाएका डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको दूतावासले जानकारी दिएको छ । नेपाल एयरलाइन्सका २ उडानहरु १६ र २० जुन त्यस्तै हिमालय एयरलाइन्सका १७ र २२ जुन मा हुने २ उडानमार्फत नेपालीहरु नेपाल फर्किने छन् । हवाई भाडा व्यक्ति आफूले नै तिर्नु पर्ने व्यवस्था छ । प्रति टिकट ४ सय ९० अमेरिमी डलर भाडादर सरकारले तोकेको हो । यस अगाडी सरकारले उडान भाडा ५ सय अमेरिकी डलर तोकेको थियो । शुक्रबार सरकारले सबै देशकाे भाडादर थाेरै घटाएकाे छ । नेपाल आउँन सबैभन्दा बढी भाडा लण्डनमा रहेका नेपालीले तिर्नुपर्ने, कुन देशमा रहेकालाई कति ?