जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख, अमेरिकी जनजीवन बिस्तारै सामान्य

न्यूयोर्क । विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ । तर अमेरिका र युरोपका नेताहरुले कोरोनाभाइरसको खोप तत्काल निर्माण सम्भव नभएपछि जोखिम लिएरै पनि आफ्ना मुलुकमा जारी लकडाउन र प्रतिबन्धहरुमा सहजीकरण गर्न थालेका छन् । यहीबीच, भारतमा एक दिन ५ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित देखिएका छन् भने १ सय ५७ जनाको ज्यान गएको छ । एसियाली मुलुकमै चीनपछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । कोविड–१९ का कारण भारतमा कूल मृतकको संख्या तीन हजार नाघेको छ । चीनमा सोमबार सात जना नयाँ संक्रमित देखिएका छन् र पछिल्लो पटक समस्या देखिएको जिलिन प्रान्तमा सामाजिक दूरीका नियमहरुमा अझ कडाई गरिएको छ । कोरोनाभाइरसको खासै समस्या नदेखिएका बेइजिङ समेतका चीनका अन्य भागमा प्रतिबन्धहरु खुकुलो बनाइनेछ । स्थानीय प्रशासनले प्रतिबन्धहरु खुकुलो बनाएसँगै मानिसहरु मास्क नलगाई सडकमा देखिन थालेका छन् । जापानको प्रधानमन्त्री कार्यालयले सोमबार मुलुकको यथार्थ कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ३.४ प्रतिशत रहने पूर्वानुमान गरेको छ । कार्यालयले आगामी दिनमा जिडिपी अरु न्यून हुने जनाएको छ । जापानको व्यापार चीन र संयुक्तराज्य अमेरिकामाथि बढी नै निर्भर भएकाले पनि अर्थतन्त्र खुम्चिएको हो । निकै समस्यामा परेको इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले सोमबार मुलुकका रेस्टुराँ, बार र बिचहरु खुला गर्ने बताए । इटालीमा यी सेवा खुला गर्न केही हप्ता लाग्ने बताइए पनि प्रधानमन्त्री कोन्टेले परिस्थितिमा नाटकीय सुधार आएको बताउँदै तोकिएको समयावधि अघि नै यी सेवा खुला गर्न आदेश दिए । प्रधानमन्त्री कोन्टेले भने, “हामीले यो जोखिमको सामना गर्नु परिरहेको छ, हामीलाई यसलाई स्वीकार्नै पर्दछ, अन्यथा हामीले कहिल्यै पनि जनजीवन खुला गर्न सक्दैनौं ।” विश्वका अरु मुलुकका सरकारहरु सहित अमेरिकाका धेरै राज्यले कोरोना भाइरसका कारण जारी लकडाउनमा सहजीकरण गर्न र जनजीवन खुला गर्न संघर्षरत छन् । संयुक्तराज्य अमेरिकाका धेरै राज्यका बारहरु, रेस्टुराँ, बिचहरुमा मानिसको ठूलो भिडभाड देखिएका छन् । उनीहरुले राज्यहरुले जारी गरेका सामाजिक दूरी समेतका नियमहरु बेवास्ता गरेको पाइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरसको खोप सम्भवतः कहिल्यै बनाउन नसकिने बताए । विश्वभर खोप बनाउन प्रयास भइरहे पनि यो सम्भव देखिन्न, प्रधानमन्त्री जोन्सनले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्र र जनजीवनलाई जतिसक्दो चाँडो सहज तुल्याइने बताए । उनले एनबिसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भने, “हामी खोप बनाउने, उपचार गर्नेतर्फ विचार गरिरहेकै छौं, तर यी कुराहरु निकै जटिल छन् ।” राष्ट्रपति ट्रम्पका वरिष्ट आर्थिक सल्लाहकार पिटर नाभारोले कोरोना भाइरस महामारीका बारेमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पर्याप्त अध्ययन गर्न नसकेको बताए । अमेरिकामा मात्र ३ करोड ६० लाख मानिस बेरोजगार भइसकेका छन् । व्यवसायहरु बन्द भएका कारण ठूलो क्षति व्यहोर्न बाध्य धेरै अमेरिकी राज्यहरुले घरमै बस्ने र अरु प्रतिबन्धहरु हटाएका छन् । राज्यहरुले केही विशेष किसिमका व्यवसाय खुला गर्न दिइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार झण्डै ४८ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् भने तीन लाख १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकामा मात्र ८९ हजारभन्दा बढीको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा १ लाख ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ । अधिकांश अवस्थामा मानिसमा कोरोनाभाइरसका सामान्य लक्षणहरु देखिन्छन् । तर ज्येष्ठ नागरिक र स्वास्थ्य समस्या रहेका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ । यस्ता व्यक्तिको मृत्यु पनि हुने गर्दछ । रासस–एपी

भारतको रामपुरमा अलपत्र परेकाको उद्धार, गाउँमा पुग्दा खुशी

  काठमाडौं । भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थलारा गाउँपालिकाका ९३ जना गाउँ पुगेका छन् । अलपत्र रहेका थलारावासीलाई उद्धार गरी ल्याउनुपर्ने विभिन्न निकायबाट दबाब सिर्जना भएपछि गाउँपालिकाको टोलीले विभिन्न निकायसँग समन्वय गरी गाउँ ल्याएको हो । भारतको दिल्लीबाट चैत ११ गते घर फर्किनका लागि आएका उनीहरुलाई भारत सरकारले बिचबाटोमा रोकेर रामपुरको क्वारेन्टाइनमा ५० दिनसम्म राखेको थियो । अलपत्र परेका नागरिकलाई उद्धार नगरेको भन्दै चौतर्फीरुपमा आलोचना भएपछि गाउँपालिकाका सबै पार्टीका राजनीतिकर्मी र जनप्रतिनिधिको पहलमा भारतको गौरीफन्टा नाकामा पुर्याएपछि गाउँपालिकाले ५३ दिनपछि उद्धार गरी गाउँ ल्याएको हो । गाउँ पुगेपछि उनीहरूले निकै खुशी हुँदै आफूहरुमा कोरोनाको सङ्क्रमण नभएकोमा ढुक्क भएकोसमेत बताएका छन् । विगत १० वर्षदेखि भारतको फरिदाबादमा चौकीदारी गर्दै आएका थलारा गाउँपालिका–१ का बहादुर थापाले भने, “५० दिनसम्म निकै कष्टकर समय बिताउनुपर्यो, कोरोनाको त्रासले भारत सरकारले समेत लकडाउन गरेपछि घर जाउँ भनी सबै फर्किएका थियाैं तर भारत सरकारले भारतको बरेलीमा रोकेर फेरि ६५ किलोमिटर फर्काएर रामपुरमा लगेर राखेको थियो ।” उनले गाउँ पुगेपछि निकै खुशी भएको बताए  । गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले आफूहरुले निरन्तर पाँच दिनसम्म भारतीय दूतावास, कैलाली जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग समन्वय गरी भारतबाट उद्धार गरी गाउँसम्म ल्याएको बताउनुभयो । उनले भने, “उद्धार गरी ल्याइएकालाई अब गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षण गरेपछि मात्र घर पठाइने छ ।” रासस

राहतको सट्टा रोजगारी

काठमाडौं । जारी बन्दाबन्दीका कारण विपन्न वर्गको जीविकोपार्जनमा कठिनाइ भएपछि झापाको दमक नगरपालिकाले रोजगारी कार्यक्रम ल्याएको छ । नगरपालिकाले राहतका विकल्पमा एक परिवार, एक रोजगारी कार्यक्रम शुरु गरेको हो । सो नगरपालिकाको वडा नं ३ मा करिब ६ सय परिवारलाई लक्षित गरी उक्त कार्यक्रम शुरु गरिएको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । कार्यक्रमको पहिलो दिन शनिबार ८५ जना रोजगारीमा संलग्न भएको थिए । उनीहरुलाई सोही वडाको हम्सेदुम्से सामुदायिक वनसँगको सहकार्यमा रोजगारी प्रदान गरिँदै आएको उनले बताए । दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई लक्षित गरिएको कार्यक्रमअनुसार उक्त सामुदायिक वन क्षेत्रका काममा परिचालन गरिएको उनले बताए । उनका अनुसार वन क्षेत्रमा अहिले वृक्षरोपण गर्ने समय भएकाले वन क्षेत्रमा रहेको झाडी फाँड्ने, आँप बगान गोड्ने, खाल्डो खन्ने कार्य शुरु गरिएको छ । पहिलो चरणमा करिब ६ सय परिवारलाई रोजगारी दिइने तयारी गरिएको र अन्य क्षेत्रमा समेत त्यसरी नै रोजगारीको व्यवस्थापन गर्न लागिएको उनले बताए । स्वास्थ्य सुरक्षासहित सामाजिक दूरी कायम हुने गरी काम शुरु गरिएको हो । दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका एक परिवारलाई दुई दिन रोजगारी दिइने तथा त्यस्ता श्रमिकलाई सरकारले तोकेको दैनिक ज्याला वा खाद्यान्न दिइने वडासचिव सन्दीप सुवेदीले जानकारी दिए । नगरपालिकाले बन्दाबन्दीका क्रममा श्रम गर्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई भने खाद्यान्न राहत नै प्रदान गरिने छ । सो सामुदायिक वनका अध्यक्ष हिमालय दाहालका अनुसार श्रमिकलाई सामाजिक दूरी कायम गराउन वन समिति र वडा कार्यालयले निगरानी गर्न हरेक टोलीमा एक जना स्वयंसेवकसमेत खटाइएको छ । नगरपालिकाले आगामी वर्षदेखि यही मोडलको कार्यक्रमलाई योजना बनाएर सबै वडामा विस्तार गर्ने योजना रहेको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले जानकारी दिए । उनले वडा नं ३ को कार्यक्रमको नतिजाले अन्य वडामा पनि विस्तारमा सहयोग पुग्ने बताए । रासस