बुधबार अष्ट्रेलियाबाट हुने ‘उद्धार’ उडान सरेर असार ९ गते पुग्यो

काठमाडौं । अष्ट्रेलियाबाट असार ३ गते बुधबार हुने भनिएको ‘उद्धार’ उडान अर्काे हप्ताका लागि सरेको छ । अष्ट्रेयालियास्थित नेपाली दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको असार ९ गते (२३ जुन) लाई सारेको जानकारी दिएको छ । त्यस्तै मेलबर्नबाट हुने दोस्रो चार्टर्ड उडान असार १२ गते अर्थात् २६ जुनमा हुने दूतावासले प्रकाशित गरेको सूचनामा उललेख गरिएको छ । दुवै चार्टर्ड उडान नेपाल एयरलाइन्समार्फत हुनेछ । नेपाल सरकारले तोकेको प्राथमिकताकालाई मध्यनजर गर्दै २ जुनसम्म नेपाल फर्कने फाराम भरेका नेपालीलाई पहिलो र दोस्रो सूचीमा परेकाहरुलाई कन्फर्मसेनका लागि इमेल गरिसकिएको दूतावासले जनाएको छ ।

भारतको मध्य प्रदेशमा रोजगार मेला हुने

भुपाल । भारतको मध्य प्रदेश सरकारले रोजगार मेलाको आयोजना गर्ने भएको छ । प्रदेश भरीमा रोजगारी दिने र रोजगारी खोज्नेहरुका बीचमा समन्वय गराउने गरी मेलाको आयोजना गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई सहयोग पुग्ने उद्धेश्यले रोजगार मेलाको आयोजना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । ‘विभिन्न प्रदेश तथा देशबाट आएका आप्रवासी कामदारहरुका लागि पनि काम खोजी दिन मेलामार्फत् सहयोग पुग्ने विश्वास गरिएको छ’ एक सरकारी अधिकारीले भने । विषेश गरेर प्रदेशभन्दा बाहिरबाट फर्किएका आफ्नो प्रदेशका जनतालाई प्राथमिकतामा राखेर रोजगारदातासँग सामन्वय गरिदिन लागिएको ती अधिकारीको भनाई छ । अत्यधिक महत्वका साथ हेरिएको यो प्रदेशस्तरी मेला यही जुन महिनाको तेस्रो हप्तातिर शुरु हुने जनाइएको छ । कामदारहरुले आफै सरकारलाई रोजगारीका लागि नाम दर्ता गराउने छन्, उनीहरुलाई नै रोजगारी मेलामा बोलाइनेछ र उनीहरुलाई रोजगारदातासँग भेट गराईनेछ, सरकारी अधिकारीले भने । कारखाना सञ्चालक, निर्माण व्यवसायीलगायतसँग भेट गराएर बेरोजगारलाई रोजगारीको व्यवस्था गरिने जनाइएको छ । मेलामा सहभागी हुन आउने कामदारहरुलाई खाना तथा पानीको समेत व्यवस्था गरिनेगरी प्रदेश सरकारले योजना बनाएको छ । मेलाका बेलामा कोरोना भाइरसबाट जोगिनका लागि अप्नाउनु पर्ने आधारभूत सतर्कताहरुलाई पनि ध्यान दिइने सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क तथा पन्जा लगाउनु पर्ने लगायतका व्यवस्था पनि उनीहरुले गराउने भएका छन् । रासस/पिटिआई

गाउँलेको दुःखमा सघाउँदै प्रवासी

गलकाेट । तीन साताअघि भएको आगलागीले गलकोट नगरपालिका–७ मल्मका जुक्तबहादुर खड्काको घरबास गुम्यो । खाद्यान्न, लत्ताकपडासहित सरसमान सबै जले । लाखौँको भौतिक क्षति भयो । त्यसको केही दिनपछि सोही वडाका लक्ष्मण सुनारको साउदी अरबमा निधन भयो । हृदयाघातका कारण मृत्यु भएका सुनारको परिवारलाई बच्न पर्यो । श्रीमती, बालबच्चा बिचल्लीमा परे । गत फागुनमा रोजगारीका लागि साउदी अरब पुगेका सुनारको शव उतै रोकिएको छ । परिवारका सदस्यलाई अन्तिमपटक मुख हेर्ने धोको छ । बन्दाबन्दीले शव ल्याउन कठिन छ । प्रक्रिया झण्झटिलो र खर्चिलो छ । यसरी गाउँका दुई छिमेकी परिवारलाई परेको विपद्ले जापानमा रहेका गलकोटेको मन कुँडियो । दुःख, अप्ठेरोमा सघाउन बानी परेका उनीहरुले खड्का र सुनार परिवारका लागि सहयोग अभियान चलाए । एक सातामै झण्डै १५ लाख जुट्यो । अग्निपीडित खड्का परिवारका लागि ८ लाख १९ हजार २ सय ४४ सङ्कलन भएको अभियानकर्मी दुर्गा थापाले बताए । उनीसहित दिल थापा ‘रामु’ प्रकाश केसी, कृष्ण केसी, दिनेश थापा, तुलवीर थापालगायत अभियानमा जुटेका थिए । “जापानमा रहनुभएका १ सय ४७ भन्दा बढी गलकोटेहरु यो अभियानमा जोडिनुभएको छ”, उनले भने, “हामी सबैको प्रयासले यो सम्भव भएको हो ।” अभियान थालेको एक साताभित्रै उक्त रकम सङ्कलन भएको उनको भनाइ छ । सोही अवधिमा सुनार परिवारको राहतका लागि रु छ लाख १७ हजार ६ सय २० सङ्कलन भएको जापानबाट दिनेश थापाले जानकारी दिए । उनका अनुसार दुवै घटनापछि सङ्कलित सहयोग रकम वडा कार्यालयमा पठाइसकिएको छ । “वडामार्फत राहत प्रदान गर्ने गरी रकम पठाइसकेका छौँ”, दिनेशले भने, “उक्त रकम पीडित परिवारको हितमा सही ढङ्गले सदुपयोग होस् ।” वडाध्यक्ष टीकाबहादुर थापाले जापानबाट राहत रकम वडाको खातामा आइसकेको बताए । अग्निपीडित खड्का परिवारको घर निर्माणमा उक्त रकम सहयोग गरिने उनको भनाइ छ । “पीडित परिवारको पनि राय लिएर उपयुक्त काममा सहयोग गर्छौं”, वडाध्यक्ष थापाले भने । सुनार परिवारमा पनि बालबच्चाको पढाइ र उनीहरुको सुरक्षित भविष्यका लागि राहत रकम प्रदान गर्ने वडाको सोच छ । कमाउन विदेश पुगेका लक्ष्मणको अल्पायुमा निधन भएपछि परिवारमा सङ्कट आइलागेको छ । अग्निपीडित खड्का परिवारको व्यथा पनि सानो छैन । न्यून आय भएको परिवार भएका कारण सबैको सहयोगको खाँचो छ । यसअघि पनि विभिन्न सङ्घसंस्था र व्यक्तिले उक्त परिवारलाई राहत प्रदान गरेका थिए । महिला जागरण केन्द्र मल्म, रेडक्रस बागलुङ, लायन्स क्लब अफ धवलागिरिलगायतका सङ्घसंस्थाले राहत रकम र खाद्यान्न सामग्री दिएका थिए । जिल्ला प्रशासन कार्यालयले पनि १० हजार उपलब्ध गराएको थियो ।  रासस