कोरियाले इपिएस नियममा सुधार ल्याउँदै, यस्ता छन् परिवर्तन हुने नियम
काठमाडाैं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियम अनुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी उक्त श्रमिकले अर्को कम्पनीमा कम्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ । हालसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन नपाउने नियम छ । त्यस्तै कम्पनीमा यौन दुव्र्यवहारमा परी कार्यस्थल परिवर्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफारिसमा पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन पाउने कानूनसमेत संशोधनको तयारी गरेको छ । त्यसैगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेर स्वदेश फर्की पुनः कमिटेड श्रमिकको रुपमा त्यही कम्पनीमा आउनका लागि तीन महिनापछि मात्र आउन पाउने हालको व्यवस्थालाई एक महिनामै आउन पाउने गरी कानूनमा संशोधनको तयारी गरिएको छ । परिवर्तन हुन लागेको नयाँ नियमले आगामी दिनमा बिनाशर्त स्वेच्छाले कर्यस्थल परिवर्तन गर्न पाउनुपर्ने कानून बनाउन सबै प्रवासी श्रमिक एकजुट हुनु आवश्यक भएको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए । रासस
नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने, नर्सिङ क्षेत्रमा योग्यता भएकाले मात्र काम पाउने
काठमाडाैं । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र(अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र)मा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्ने तेलअभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले राससलाई जानकारी दिए । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो । बैठकले श्रम सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा शाक्यलाई अख्तियारी दिने निर्णयसमेत गरेको थियो । दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । सम्झौतापछि नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवासुविधा र संरक्षण पाउने छन् । विभिन्न चरणमा भएको द्विपक्षीय छलफलका क्रममा इजरायल विशेष गरी केयर गिभरमा नेपाली श्रमिक लैजान सकारात्मक देखिएको थियो । इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयर गिभर ल्याउने विषय टुङ्गोमा पुग्दै गर्दा त्यहाँस्थित नेपाली दूतावासले थप सक्रियता देखाएको छ । इजरायलमा नेपाली केयर गिभर लैजाने पूर्वसन्ध्यामा इजरायल सरकारका प्रतिनिधि र दूतावासका उच्च अधिकारीले कार्यस्थल एवं कार्य वातावरणको जानकारी लिने उद्देश्यले केही क्षेत्रको स्थलगत अनुमगन गरेका छन् । केही दिनअघि राजदूत शाक्यले नेपाली केयर गिभरले काम गर्नुपर्ने नर्सिङ होमको स्थलगत भम्रण गरेका थिए । भ्रमणमा राजदूत शाक्यसँगै नेपालका लागि नवनियुक्त इजरायली राजदूत हानन गोदर, नेपाली दूतावासका द्वितीय सचिव घिमिरे, इजरायलको स्वास्थ्य र श्रम मन्त्रालय, अध्यागमन कार्यालय तथा इजरायलमा कार्यरत विदेशी श्रमिकको हकहितमा क्रियाशील संस्थाका प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ । यसैबीच नेपाली दूतावासले इजरायलमा जान चाहनेले आफूलाई सम्पर्क गर्नुहोला भन्दै ठगी गर्ने मनशायका साथ सामाजिक सञ्जालमा केही व्यक्तिले गलत सूचना फैलाएकामा ध्यानाकर्षण भएको जनाएको छ । यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका व्यक्तिले मात्र इजरायलमा रोजगारीको अवसर पाउने दूतावासले जनाएको छ । केयर गिभरमा छनोट हुनका लागि अनमी वा अन्य शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालीम लिएको हुनुपर्नेछ । यस्तै लिखित तथा अन्तर्वार्ता दुवैमा अङ्ग्रेजी भाषा उत्तीर्ण, निश्चित उमेर, तौल र उचाइ, स्वास्थ्यावस्था ठीक तथा कुनै आपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति स्वच्छ प्रतिस्पर्धाबाट छनोट गरिने दूतावासले जनाएको छ । त्यस्तै यसअघि इजरायल गएका व्यक्ति उम्मेदवार हुन नसक्ने पनि दूतावासले प्रष्ट पारेको छ । छनोट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकाले कुनै हल्लाको पछाडि नलाग्न दूतावासले आग्रह गरेको छ । रासस
राष्ट्र बैंकमा जागिर खुल्याे, तलब र सेवा सुविधा आकर्षक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले सिभिल इन्जिनियर र सवारी चालकका लागि आवेदन माग गरेकाे छ । बैंकले बिशीबार एक सूचना जारी गर्दै करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालकका लागि अावेदन माग गरेकाे हाे । सूचना मार्फत करार अवधि ६ महिना हुने राष्ट्र बैंकले जानकारी दिएको छ । सिभिल इन्जिनियरका लागि राष्ट्र बैंकले सिधै अन्तरवार्ताबाट नियुक्त गर्नेछ भने चालकका लागि भने प्रयोगात्मक र अन्तरवार्ता हुने राष्ट्र बैंकले जनाएको छ । सिभिल इन्जिनियरका लागि मासिक ५९ हजार ७ सय रुपैयाँ र त्यसमा अन्य सेवा सुविधा साथै चालकका लागि मासिक २८ हजार तलव र २ हजार खाचा खर्चका अतिरिक्त अन्य सेवा सुविधासमेत उपलक्ध हुने सूचना मार्फत बताइएकाे छ । इच्छुक व्यक्तिले राष्ट्र बैंकबाट दरखास्त आवेदन फारम लिएर दरखास्त दिन सक्नेछन् । सिभिल इन्जिनियरका लागि बीई उत्तीर्ण भई दुई वर्षको अनुभव भएको हुनु पर्नेछ ।