सहकारीमार्फत बेरोजारी समस्याको सम्बोधन हुन्छः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएकी छन् । उनले कोभिड १९को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र सहकारी भएको बताइन् । राष्ट्रिय सहकारी महासंघले ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै मन्त्री अर्यालले भनिन्,‘यो विषयम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई डाटा दिनुस् । सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानुनमा संशोधन गर्न तयार छ।’ उनले उत्पादन र स्वरोजगार सिर्जना गर्न सक्ने क्षेत्रमा सहकारी प्राथमिकतामा रहेको बताइन् । उनले सहकारी स्वनियमानमा अगाडि बढ्नुपर्ने बताउँदै अर्थतन्त्रमा देखिएका गम्भिर चुनौतीको सामना गर्न , नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन, घर घरमा समृद्ध ल्याउनका सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधानलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउन गरी संचालन गर्नुपर्ने बताइन्न् । उनले सो अवसररमा भुमि व्यवस्थामा सरकारले महत्वपूर्ण कार्य गरिरहेको बताइन्न । ‘भूमिमा समाजवादको शुरुवात भएको छ । मानिसको जमिनको स्वामित्वको सुरक्षा गर्ने काम भएको छ ।’ दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो रहेको बताइन् । ‘अब एक क्षेत्रमा मात्र सिमित भएर हुँदैन । जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानुनी अड्चन फुकाइन्छ’ उनले भनिन् । जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस पटक जलवायु कार्यका लागि सहकारी भन्ने थिमका साथ यो दिवस मनाइएको हो । सो कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार न्यौपानले दिवसको थिम जलवायु कार्यका लागि सहकारी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन बनाएर अगाडी बढेकाले सहकारी क्षेत्रले जलवायु परिवर्तनबाट सिर्जित चुनौती उत्थानीलता र अनुकुलन व्षमता बृद्धि गर्नका लागि सदस्यहरुलाई तयार पार्नुपर्ने बताए । बहु जोखिमयुक्त मुलुकमध्ये नेपाल २० औं स्थानमा जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथो मुलुक रहेकाले यसका लागि सबैभन्दा ठूलो संजाल भएको सहकारीले महत्वपूर्ण तयारी गर्नुपर्ने बताए । कार्यक्रममा युएनडीपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंह देशको लक्ष्यमा सहकारीले ठूलो योगदान दिन सक्छ । सो कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानका लागि दिगो विकास लक्ष्यका गाइडलाइन तयार गरिएको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले नयाँ प्रविधिको अवलम्बनमा जोड दिए । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कार्यक्रमको औचित्य र थिममाथि प्रकाश पारेकी थिइन् ।  कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेका थिए । उत्कृष्ट सहकारी पुरस्कार वितरण ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा सहकारी संघ/संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । केन्द्रीय सहकारी संघहरुमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय संघ, नेफ्स्कून पुरस्कृत भयो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उत्कृष्ट ‘सहकारी पुरस्कार’ संघका अध्यक्ष परितोष पौडेललाई प्रदान गरिने । पुरस्कार राशी नगद २० हजार रूपैयाँ रहेको थियाे । त्यसैगरी जिल्लास्तरीय स.घहरुमध्येबाट जिल्ला सहकारी स.घ लि. बाँके पुरस्कृत भएको छ । प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न ५ प्रदेशका सहकारी संस्थालाईलाई सम्मान गरिएको छ । जसमा प्रदेश २ बाट साना किसान कृषि सहकराी संस्था, रौतहट, बागम्ती प्रदेशबाट चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, काठमाडौं, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की, प्रदेश ५बाट जनउत्थान साकोस, रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था, सुर्खेत पुरस्कृत भए । संस्थाको वित्तीय अनुशासन, नियमिततालगायतका कार्य हेरेर पुरस्कार प्रदान गरिएको महासंघको पुरस्कार छनोट समितीका संयोजक तथा संचालक खेम पाठकले बताए । सो अवसरमा सदस्य संघहरुलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा १० वटा संघलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । जसमा मोरङको जिल्ला कृषि सहकारी संघ, जिल्ला सहकारी स.घ तेह्रथुम, सप्तरी र सिन्धुलीको जिल्ला बचत तथा ऋण सहकारी स.घ रहेका छन् । त्यसैगरी काठमाडौंको जिल्ला बहुउद्देश्यीय सहकारी संघ, ललितपुरका जिल्ला बचत तथा ऋण सहकारी संघ, केन्द्रीय दुग्ध सहकारी संघ रहेका छन् । त्यसैगरी उपकरण सहयोग प्राप्त गर्नेमा स्याङजाको जिल्ला बचत तथा ऋण सहकारी संघ, पाल्पाको जिल्ला सहकारी संघ र दार्चुलाको जिल्ला सहकारी संघ रहेका छन् । नमुना कोपसप प्रवद्र्धनका लागि १५ लाख प्रदान नमुना कोपसपको संचालन गरिरहेको शुभलक्ष्मी सहकारी संस्था गौराहदह झापालाई राष्ट्रिय सहकारी महासंघले १५ लाख अनुदान पैदान गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले नमुना कोपसको प्रवद्र्धनका लागि अनुदान वापत सो रकम बराबरको चेक हस्तान्तरण गरीन् । उपभोक्ता सहकारीको प्रवद्र्धन गर्ने र कोपसपमार्फत स्थानीय उत्पादनको बजारीकरण, कोप ब्रान्ड स्थापना गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सो अनुदान प्रदान गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताइन् । यस अघि महासंघले भक्तपुरको एक उपभोक्ता सहकारीको प्रवद्र्धनका लागि अनुदान प्रदान गरेको थियो । सहकारी पसल संचालन गर्ने विषयलाई संघीय बजेटले समेत प्राथमिकता दिएको छ ।

कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

काठमाडौं। बुधबार कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । कतारस्थित नेपाली दुतावासले  दिएको जानकारी अनुसार पहिलो चरणको उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो । कतारको समय अनुसार विहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा नेपाली समयअनुसार विहान ९ बजे अवतरण हुन्छ । कतारस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीलाई विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए । हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन ५६३२ को उडानबाट प्राथमिकतामा परेका नेपालीहरुलाई स्वदेश लगिएको थियो ।

अलपत्र नेपालीको नियमित उद्धार

काठमाडाैं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् । नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली काठमाडौं ल्याइरहेका छन् भने आन्तरिक उडानको श्री एयरले पनि छोटा गन्तव्यबाट केही चार्टर्ड उडान गरिरहेको छ । त्यस्तै विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, जजीरा एयर, टर्किस एयर, कोरियन एयरलगायत एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजीरा एयरले चार्टर्ड उडानमार्फत नेपाली ल्याउँदैछन् । आज बिहान ८ः३० बजे हिमालय एयरलाइन्सले अबुदाबीबाट नेपाली ल्याएको छ भने जजीराले ८ः४८ बजे कुवेतबाट नेपालीको उद्धार गरेको छ । त्यस्तै नेपाल एयरलाइन्सले विहान १०ः३० बजे साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याउँदैछ । सोही एयरलाइन्सको जहाजले अष्ट्रेलियाको मेलबर्नबाट नेपाली काठमाडौँ ल्याउने विमानस्थलले जनाएको छ । अन्तराष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । शुक्रबार मात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको छ । त्यसअघि असार ६, ७ र ८ गते समान १०, असार ९ र १० गते १४ र असार ११ गते १५ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । उल्लेखित उडान यात्रु चार्टर्ड तथा केही कार्गो उडान हुन् । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।  रासस