राष्ट्र बैंकमा जागिर खुल्याे, तलब र सेवा सुविधा आकर्षक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले सिभिल इन्जिनियर र सवारी चालकका लागि आवेदन माग गरेकाे छ । बैंकले बिशीबार एक सूचना जारी गर्दै करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालकका लागि अावेदन माग गरेकाे हाे । सूचना मार्फत करार अवधि ६ महिना हुने राष्ट्र बैंकले जानकारी दिएको छ । सिभिल इन्जिनियरका लागि राष्ट्र बैंकले सिधै अन्तरवार्ताबाट नियुक्त गर्नेछ भने चालकका लागि भने प्रयोगात्मक र अन्तरवार्ता हुने राष्ट्र बैंकले जनाएको छ । सिभिल इन्जिनियरका लागि मासिक ५९ हजार ७ सय रुपैयाँ र त्यसमा अन्य सेवा सुविधा साथै चालकका लागि मासिक २८ हजार तलव र २ हजार खाचा खर्चका अतिरिक्त अन्य सेवा सुविधासमेत उपलक्ध हुने सूचना मार्फत बताइएकाे छ । इच्छुक व्यक्तिले राष्ट्र बैंकबाट दरखास्त आवेदन फारम लिएर दरखास्त दिन सक्नेछन् । सिभिल इन्जिनियरका लागि बीई उत्तीर्ण भई दुई वर्षको अनुभव भएको हुनु पर्नेछ ।
रुकुम–पूर्वमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना
रुकुमपुर्व । रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ । प्रदेश ५ सरकारले आर्थिक तथा सामाजिक सूचकाङ्कका आधारमा कमजोर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिएको हो । सूचकाङ्कमा कमजोर समुदाय, घरपरिवार वा व्यक्तिहरूको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसरहरू तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने मुख्य उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमको लागि अहिले जिल्लाबाट ३२ वटा योजना छनोट भएका छन् । जसमा चालुतर्फका २२ वटा र पुँजिगत तर्फका १० योजना छन् । यस वर्ष सिस्ने गाउँपालिकामा १२ कार्यक्रम सञ्चालन हुने छन् भने भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा दश/दश वटा कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका जिल्ला संयोजक लिलामणि गौतमले बताए । कार्यक्रम सञ्चालनको लागि तीन गाउँपालिकामा ६० लाखका दरले रु एक करोड ८० लाख बजेट आएको छ । जिल्ला समन्वय समितिले स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको चरणमा गइसकेको संयोजक गौतमले बताए । लक्षित वर्ग, स्थानीय तह र गैरसरकारी संस्थासँगको सहकार्य एवं सहभागितामा यो कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमले गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच तथा सीप विकासका कार्यक्रममार्फत लक्षित वर्गको क्षमता वृद्धि र सशक्तीकरण गर्ने, स्वरोजगारी तथा आयआर्जनका क्रियाकलापमा प्राथमिकता दिने छ । सामाजिक संरक्षणसम्बन्धी कार्यक्रमअन्तर्गत असहाय अशक्त, अपाङ्ग भएका व्यक्तिहरूको पुनःस्थापनासम्बन्धी गतिविधि सञ्चालन गर्ने र कुनै प्रकोप तथा घटनाबाट घरवारविहीन भएका परिवारलाई सहयोग गरिने कार्यक्रम संयोजक गौतमको भनाइ छ । यस वर्ष भने कोरोना महामारीको चपेटामा परेकालाई मध्यनजर गर्दै मागमा आधारीत उद्यमशिलता कार्यक्रम सञ्चालन गरिने जिल्ला कार्यक्रम संयोजक गौतमले बताए । रासस
प्राविधिक सीप सिकेर शुरु गरेको व्यवसायले बिर्साइदियो इराकको मासिक १ लाख कमाइ
गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । मासिक एक लाख रुपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने सकेको थिएन । उनले सोचे, “यत्तिको दुःख आफ्नै देशको माटोमा गर्ने हो भने त कसो उभो नलागिएला र ?” त्यसपछि उनी आफ्नै देशमा फर्किए । देशमा फर्किएपछि के गर्ने भन्ने बारेमा उनलाई हुट्हुटी लाग्न थाल्यो । तर उनीसँग आफ्नै माटोका लागि उपयोगि हुने सीप थिएन । कुनै प्राविधिक ज्ञान पनि थिएन । प्राविधिक सीप सिक्नका लागि उनी लागे मुस्ताङको लेते स्थित धौलागिरि प्राविधिक शिक्षालयतर्फ । शिक्षालयमा १८ महिना पशु स्वास्थ्य प्राविधिक विषयमा अध्ययन गररे प्राविधिक ज्ञान हासिल गरेपछि थापाले गाउँ फर्केर व्यवस्थित रुपले शुरु गरेको व्यवसायिक बाख्रा पालनले अहिले उनलाई फलिफाप भएको छ । थापाले निसान बोयर बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रुपमा उन्नत बोयर जातको बाख्रापालन शुरु गरेपछि अहिले उनको जीवनमा इराकको मरुभूमिलाई बिर्साइदिने गरी हरियाली छाएको छ । चार वर्ष अघिदेखि हुलाकेमा बोयर बाख्रा पाल्न शुरु गरेका थापा अहिले बोयर बाख्रा र बोकाको माग बढेपछि उत्साहित बनेका छन् । तनहुँ र धार्केबाट ल्याएका पाँच माउ र एक बोकाबाट थापाले स्थानीय खरी जातका बाख्रालाई क्रस बनाएर पालेका छन् । छिटो बढ्ने र धेरै तौल हुने बोयर बाख्रापालनप्रति कृषकको आकर्षणसँगै बोका र पाठापाठीको माग बढेको थापाको भनाइ छ । शान्त स्वभावका हुने भएकाले बोयर बाख्रा पाल्न सजिलो मानिन्छ । करिब रु १० लाख लगानीमा स्थापना भएको फार्ममा हाल ३५ बाख्रा र बोका छन् । फार्ममा माउ बाख्राको सङ्ख्या बढाएर ५० वटा पु¥याउने थापाको योजना छ । पाँच महिना पालेका बोयर क्रस बोका र बाख्रालाई २० हजारभन्दा बढी मूल्य लिन सकिने थापाले बताए । गत वर्ष करिब २० वटा बोका र बाख्रा बिक्री गरेर करिब १० लाख आम्दानी गरेको उनको भनाइ थियो । आधुनिक किसिमको खोर बनाएका थापाले २० रोपनी जग्गामा बहुवर्षे तथा डालेघाँस खेती पनि गरेका छन् । फार्मलाई खसीबाख्रा र बोका सङ्कलन केन्द्रको रुपमा विकास गराउन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु चार लाख अनुदान दिएको उनको भनाइ छ । कृषकहरुले उत्पादन गरेका खसी, बोका सङ्कलन गरेर फार्ममा ल्याउने र मागअनुसार बजार तथा कृषककहाँ पु¥याउने तयारी गरेको थापाले बताए । खसी बोका बिक्री गरेर वार्षिक रु १० देखि १५ लाखसम्म कमाउन थापा सफल भएका छन् । उनी भन्छन्, “सकेसम्म खाडी मुलुक जाने नै होइन, त्यहाँ गर्ने परिश्रम आफ्नै माटोमा गर्न सक्ने हो भने १० गुणा बढी यही कमाउन सकिन्छ ।” अहिले कोरोना सङ्कटले विदेशिन तम्तयार युवालाई अवसरको वातावरण मिलाइदिएको थापाको बुझाइ छ । थापा भन्छन्, “कोरोना कहर शुरु भएपछि युवा विदेश जान सकेका छैनन्, उनीहरुले गाउँमा नै पशुपालन, तरकारी खेती, फलफूल र कुखुरापालन शुरु गरेका छन् । यो युवा पुस्ताका लागि एउटा अवसर पनि हो । रासस