मलेसियामा कामदारले अब लेबी तिर्नु नपर्ने, प्रत्येक कामदारको वार्षिक ६३ हजार जोगिने

काठमाडौं १७, पुस । मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने व्यवस्था लागू गरेको छ । मलेसियाका गृहमन्त्री दातुक अहमद जायिद हमिदीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ नियम आइतबारदेखि लागू हुने जनाएका छन् । मलेसिया सरकारले दुई वर्षअघि मात्र लेबी शुल्क दोब्बर बनाएको थियो । कामदारले वार्षिक दुई हजार ६ सय रिंगेट लेबी तिर्नुपर्ने अवस्था थियो । कामदारसँग लेबी उठाएकोमा मलेसियाको आलोचना हुँदै आएको थियो । श्रम सम्झौता गर्न मलेसियाका प्रतिनिधि आउँदै नेपाल र मलेसिया सरकारबीच श्रम–सम्झौताको विषयमा लामो समयदेखि छलफल चलिरहेको छ । मलेसिया सरकारका प्रतिनिधि एक महिनापछि श्रम–सम्झौताको मस्यौदामा छलफल गर्न नेपाल आउने तयारीमा छन् । सरकारले कामदारको हितका यस्ता निर्णय नेपालसँगको श्रम–सम्झौतामा नै उल्लेख गर्नुपर्ने सुझाब दिएका छन् । नेपाली कामदारलाई प्रत्यक्ष फाइदा मलेसियाको नयाँ निर्णयले नेपाली कामदारलाई समेत प्रत्यक्ष फाइदा पुग्ने भएको छ । नयाँ निर्णयसँगै प्रत्येक कामदारको वार्षिक दुई हजार ६ सय रिंगेट (६३ हजार रुपैयाँभन्दा बढी) जोगिनेछ । मलेसिया नेपाली कामदारको प्रमुख श्रम गन्तव्य हो । मलेसियामा ६ लाखभन्दा बढी नेपाली कामदार छन् । महँगो लेबी, बायोमेट्रिक, माइग्राम्स, भिएलएन, होस्टेल खर्च, परिचय बनाउने खर्चलगायतका शुल्कले गर्दा पछिल्लोपटक मलेसियाप्रति नेपाली कामदारको आकर्षण घट्दै गएको थियो । नेपालबाट जाँदा म्यानपावरलाई चर्को शुल्क बुझाउनुपर्ने र उता पुगेपछि पनि विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने भएपछि मलेसिया जाने घटेका थिए । वैदेशिक रोजगार व्यवसायीले पनि मलेसियाले लेबी शुल्क हटाएपछि नेपाली कामदारको आम्दानी बढ्ने बताएका छन् । नयाँ पत्रिका दैनिकबाट ।

अमेरिकी नागरिकलाई नेपाली पेन्सन, डिभी परेर अमेरिका गएकालाई नेपाल सरकारबाट पेन्सन ?

काठमाडौं १६, पुस । अमेरिकी डीभी भरेर नेपाल प्रहरीमा जागिर खाइरहेका नेपाल प्रहरीका उपरीक्षक प्रमोद खरेलकाबारेमा समाचार प्रकाशित भएपछि उनले राजीनामा दिए। सरकारले एक वर्षअघि नै विदेशी नागरिकता वा पीआर लिएका कर्मचारीलाई जागिर छाड्न वा नागरिकता त्याग्न निर्देशन दिएको भए पनि एसपी खरेल भने चुपचाप बसेका थिए।  आगामी फागुन ११ गते सपरिवारर अमेरिका जाने तयारीमा रहेका उनले महानगरीय आयुक्तको कार्यालयमार्फत राजीनामा दिएका थिए। सरकारी निर्देशन अवज्ञागरेको अभियोगमा उनीमाथि कारबाही गर्नुपर्नेमा प्रहरी प्रधान कार्यालयले भने उनको राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालय पठाएको थियो। गृह मन्त्रालयले पनि कुनै प्रष्टिकरण विना नै राजीनामा स्वीकृत गरेको छ। मन्त्रालयले पेन्सन सुविधा सहित उनको राजीनामा स्वीकृत गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। ‘राजीनामा स्वीकृत भएपछि अब एसपी खरेल अमेरिकी नागरिक हुनेछन्। भने उनले नेपाल सरकारबाट पेन्सन पनि पाउने भएका छन्,’ एक उच्च प्रहरी अधिकृतले भने। नेपाल समाचारपत्र दैनिकबाट ।

घरैपिच्छेका युवा रोजगारीको निम्ति भारतमा, आर्थिक अवस्था भने दयानिय नै

काठमाडौं १५, पुस । ३६ घरपरिवार रहेको कुतियाकभरका अधिकांश घरका युवा रोजगारीका लागि भारत पसेका छन् । गाउँमा बालबालिका र बृद्धबृद्धा मात्रै देखिन्छन् । गाउँका युवा जति सबै भारतमा छन् । रोजगरीका लागि भारत गएका युवा प्राय दसैं तिहारमा घर फर्किन्छन् । गाउँमा बर्षौंदेखि भारतमै काम गरिरहेको भएपनि स्थानियको जीवनस्तर भने दयनीय नै छ । पहिले घरका बृद्धहरु पनि भारतमै मजदुरी गर्थे । उनीहरु बुढ्योलीले छोएपछि घर फर्किएका हुन् । भारतको कमाइले घरपरिवारकै खर्च धान्न मुस्किल हुने स्थानियले बताए । सामान्य लेखपढ गर्नसम्म स्कुल जाने र त्यसपछि रोजगारीका लागि भारत पस्ने यहाँको परम्परा नै बनेको छ । कान्तिपुर दैनिकबाट ।