पतञ्जली उद्योगमा मालिक नेपाली, रोजगारी भारतीयलाई

विरगन्ज ७, माघ । गएको मंसीर १ गते निकै तामझमका साथ उद्घाटन भएको पतञ्जली आयुर्वेदिक उद्योग वीरगन्जको मालिक भने नेपाली रहेको पाइएको छ । रामदेव आफैंले लगानी गर्ने अवस्था नरहेपछि नेपालको सिरहा जिल्लाका एक स्थानिय महिलालाई कम्पनीको मालिक बनाई उनलाई जिम्मेवारी दिईएको उद्योग स्रोतले जनाएको छ । हुन त वीरगन्जमा भनिएपनि यो उद्योग वीरगन्जसँग सीमा जोडिएको बाराको प्रसौनी गावसको वडा नम्बर ९ मा सञ्चालि छ । उद्योगमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको पाइएको छ । यद्यपि उद्योगका बिक्री तथा बजार व्यवस्थापक प्रमुख विकास बिडारीले भने प्राविधिक काम बाहेक सकै काममा नेपालीलाई राखिएको जिकिर गरेका छन् । उनले केहि कर्मचारी मात्रै भारतीय रहेको र सबै नेपाली रहेको जिकिर गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट ।

६ महिनामा ६० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य,  स्वरोजगार कोष र साना किसान विकास बैंकसँग सहकार्य

काठमाडौं ६, माघ । सरकारले आगामी ६ महिनाभित्र ६० हजार बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साना किसान विकास बैंकको क्षेत्र विस्तार गर्दै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने सरकारको योजना छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको समृद्ध नेपालको लागि दीगो आर्थिक विकासको तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३’ मा ठूला आयोजनाहरुको कार्यान्वयन, पुनर्निर्माण कार्यमा तिब्रता दिएर रोजगारी सिर्जना गरिने उल्लेख छ। यस्तै स्वरोजगार कार्यक्रमहरुको विस्तार, बित्तीय पहुँचको विस्तार र अन्य सामाजिक कार्यक्रमहरुको विस्तार गरी आन्तरिक रोजगारी बढाइने जनाएको छ । कारोबार दैनिकबाट ।

स्वास्थ्य मन्त्रालयले माग्यो ६ सय ५८ जना कर्मचारी, माघ २० गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, ५ माघ । स्वास्थ्य मन्त्रालयले करार सेवामा ६ सय ५८ जना कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । मन्त्रालयले २५ जिल्लामा कर्मचारी पदपूर्तीका लागि आवेदन माग गरेको हो । मन्त्रालयले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियनलगायतमा आवेदन खुला गरेको हो । स्थायी पदपूर्ति भएपछि करारमा भएको नियुक्ति स्वतः बदर हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तोकिएको न्युनतम शैक्षिक योग्यता पुगेकाहरुले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निर्देशनालयले तोकेका स्थानमा फाराम बुझाउन सक्नेछन् । मन्त्रालयले सबैभन्दा धेरै स्टाफ नर्सका लागि आवेदन खुलाएको छ । सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र अर्थात माघ २० गतेसम्म आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।