वैदेशिक रोजगारीमा समस्या भो ? गुनासा सम्बोधन अब कल सेन्टरबाट
काठमाडौँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले वैदेशिक रोजगारसम्बन्धी गुनासो सम्बोधन ‘कल सेन्टर’ सञ्चालन गर्ने भएको छ । फोनबाटै वैदेशिक रोजगारसम्बन्धी गुनासोलाई सम्बोधन गर्न कल सेन्टर सञ्चालन गर्न थालिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । कल सेन्टर सञ्चालन भएपछि वैदेशिक रोजगारसम्बन्धी गुनासो जुनसुकै ठाउँबाट पनि राख्न सकिने उनले जानकारी गराए । “विदेशमा अलपत्र परेका, बिरामी परेका, वैदेशिक रोजगारमा ठगिएका तथा कुनै समस्या परे अब फोन, इमेल र सामाजिक सञ्जालबाट कल सेन्टरमा गुनासो दिन सक्नेछन्”, उनले भने, “अब वैदेशिक रोजगारसम्बन्धी कुनै गुनासो भए काठमाडौँनै आउनु नपर्ने गरी कल सेन्टर बनाउन थालेका छौँ ।” बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फागुनको पहिलो हप्तादेखि कल सेन्टर सञ्चालनको तयारी गरेको छ । कल सेन्टरका लागि अहिले मन्त्रालयको तल्लो तलामा उपकरण जडानको काम भइरहेको उनले बताए । कल सेन्टरमा आएका गुनासोलाई तत्कालै सम्बन्धित अधिकारीले सम्बोधन गर्ने गरी व्यवस्था गरिने थालेको छ । वैदेशिक रोजगारसम्बन्धी कार्यालयदेखि नेपालका विदेशस्थित राजदूतावासमा रहेका सम्बन्धित अधिकारीको फोन नम्बर र इमेलमा गुनासो जाने छन् । “कल सेन्टरमा आएका गुनासोलाई हामीले सम्बन्धित कार्यालयमा गुनासो सम्बोधन गर्ने अधिकारी समक्ष पठाउँछौँ”, उनले भने, “ती अधिकारीले तत्काल उनीहरूको गुनासो सम्बोधन गर्ने छन् । गुनासो सम्बोधन नगरेसम्म ती अधिकारीको मोबाइल नम्बर र इमेलमा गुनासा आएको सङ्केत बजिरहने छ ।” उनले गुनासो सम्बोधन नगर्ने अधिकारीको मूल्याङ्कन गरेर सरकारलाई समेत जानकारी गराउने बताए । बोर्डले विदेशबाट पनि गुनासो आउने भएकाले २४ घण्टै कल सेन्टर सञ्चालन सञ्चालन गर्नेछ । बोर्डसँग कल सेन्टर सञ्चालनका लागि दक्ष जनशक्ति हाल सबै उपलब्ध नहुने भएकाले करारमा कर्मचारी लिएर सञ्चालन गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए । बोर्डमा वैदेशिक रोजगारमा गएकाको उद्धार, क्षतिपूर्ति, छात्रवृत्तिलगायतका महिनामा करिब ४०० गुनासा आउने गरेका छन् । रासस
हड्तालमा सहभागी ५ हजार श्रमिकले गुमाए रोजगारी
ढाका, बङ्गलादेश । बङ्गलादेशमा विश्व प्रसिद्ध ट्रेडमार्कका लागि कपडा सिलाउने तर निम्न ज्यालामा काम गर्दै आएका श्रमिकले हडतालमा सामेल भएको आरोपमा करिब पाँच हजार जनाको रोजगारी गुमेको छ । जनवरीमा उचित ज्यालादर कायम गर्न माग गर्दै आन्दोलनमा सहभागी भएका कारण उनीहरूको रोजगारी गुमेको हो । केही दिनदेखि जारी हडतालमा देशभरबाट हजारौँको सङ्ख्यामा सहभागी भएपछि करिब ३० अर्ब अमेरिकी डलर लगानीमा सञ्चालनमा रहेको कपडा उद्योगमा काम अवरूद्ध भएको थियो । बङ्गलादेशको असुलियामा कपडा सिलाईसम्बन्धी कम्पनीहरू एच एण्ड एम, वालमर्टलगायतका कम्पनीविरुद्ध भएका प्रदर्शनका क्रममा भएका झडपमा एक जनाको मृत्यु भएको छ भने ५० जनाको मृत्यु भएको छ । प्रदर्शन चर्किँदै गर्दा भएका झडपका क्रममा हजारौँ कामदारले उद्योग तथा तीसँग सम्वद्ध संस्थाबाट सामानहरू लुटेको र तोडफोड गरेको आरोपसँगै उनीहरूलाई उद्योगले हटाएका समाचार बाहिर आएका हुन् । तर श्रमिकहरूको संगठन ट्रेड यूनियनले उद्योगले कामदारलाई अनावश्यक धम्की तथा कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको बताएका छन् । “अहिलेसम्म कपडा उद्योगले चार हजार ८९९ कामदारलाई आन्दोलन गरेको आरोपमा जागिरबाट निकालेको, एक प्रहरीले नाम गोप्य राख्ने शर्तमा एएफपीलाई बताए ।” बङ्गलादेशको एउटै गार्मेन्टमा काम गर्दै आएका र महिनावारी ९५ अमेरिकी डलर आम्दानी रहेका एक हजार २०० भन्दा बढी कामदारलाई हटाइएको यूनियनको दावी छ । ट्रेड यूनियनले कामबाट हटाइएका कामदारको सङ्ख्या करिब सात हजार पुगेको र करिब १०० जनालाई पक्राउ गरिएको बताएका छन् । तर इन्डस्ट्री अल बङ्गलादेश काउन्सिलका महासचिव सलाउद्दिन सापोनले भने यूनियनको आह्वानमा आन्दोलनमा सहभागी भएका कामदार डरले आफै काममा नफर्किएको बताए । करिब तीन हजार कामदार, जसले उद्योगविरोधी गतिविधिमा सहभागी बने, विरुद्ध विभिन्न मुद्दा दर्ता भएका र धेरैले उद्योगमा नफर्किने निर्णय गरेका छन्, उनले एएफपीसँगको कुराकानीमा बताए । मुलुकभर प्रहरी नियन्त्रणमा लिइएका भनिएका कामदारबारे प्रहरीले कुनै प्रतिक्रिया दिन मानेन । बङ्गलादेशमा करिब चार हजार ५०० कपडा सिलाउने फ्याक्ट्री रहेका छन् जहाँ करिक ४१ लाख कामदारले रोजगारी पाइरहेका छन् । बङ्गलादेश विश्वभर तयारी कपडा निर्यातका लागि चीनपछि पहिलो स्थानमा आउँछ । बङ्गलादेशले सामानको नियातबाट गर्ने आम्दानीमा करिब ८० प्रतिशत हिस्सा समुद्रपारको कपडा व्यापारबाट नै हुने गर्छ । रासस/एएफपी
श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धिमा आइएलओले सघाउने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्डबीच मंगलबार महासंघ सचिवालयमा भेटवार्ता भयो । सो अवसरमा महासंघ र आइएलओ नेपाल कार्यालय बीच श्रम वजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि सम्बन्धी परियोजना कार्यक्रम सञ्चालन गर्ने संझौता पत्रमा हस्ताक्षर समेत भएको छ । संझौता अनुसार महासंघ रोजगारदाता परिषदद्वारा संचालन गरिने परियोजना कार्यक्रम अन्र्तगत महासंघका सातवटै प्रदेश च्याप्टरहरूको क्षमता विस्तार, नया“ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, सामाजिक संवाद लगायतका विषयमा चेतना अभिवृद्धि गरी औद्योगिक सम्बन्धको सुधारमा केन्द्रित रहनेछन् । सो अवसरमा महासंघ र आइएलओ बीचको सहकार्य, नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐन लगायत विषयमा समेत विस्तृत छलफल भयो । बैठकमा महासंघका अध्यक्ष राणाले आइएलओको सहयोगप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा महासंघका अध्यक्ष राणाले देशीय निर्देशक रिचार्डको स्वागत गर्नुहुंदै नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । अध्यक्ष राणाले नेपाली निजी क्षेत्र मुलुकभित्र औद्योगिक विकास मार्फत रोजगारी सृजनामा केन्द्रीत भएको, रोजगारदाता एवम् श्रमिक बीचको सम्बन्ध सुमधुर बन्दै गएकोले मुलुक अव विस्तारै आर्थिक समृद्धितर्फ अगाडी बढ्ने आशा निजी क्षेत्रले गरेको बताए । महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष ढकालले आइएलओबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुहु“दै महासंघ आइएलओस“ग निरन्तर सहकार्य गर्न तयार रहेको र आइएलओबाट प्राप्त सहयोगबाट महासंघको स्थानीय प्रदेश च्याप्टहरुको क्षमता अभिवृद्धि भई स्थानीय तहमा श्रम सम्बन्धलाई थप मजवुद बनाउन सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । सो अवसरमा देशिय निर्देशक हवार्डले महासंघको आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि थप प्राविधिक सहयोग एवं कार्यक्रमहरू विस्तार गर्दै जाने प्रतिवद्धता जनाए । नेपालको औद्योगिक श्रम सम्बन्ध विकासमा महासंघ र आइएलओ निकै लामो समयदेखि सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहकार्य गर्दै जाने विश्वास दिलाए । सो अवसरमा महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, उपमहानिर्देशक हंसराम पाण्डे र आइएलओका वरिष्ठ अधिकृत प्रकाश शर्माको उपस्थिति रहेको थियो ।