१७ सय सरकारी कर्मचारी कारवाहीमा पर्दै

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ । केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए । उनका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार ११९ जना र पोशाक नलगाउने ५४९ जना रहेका छन् । कारवाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् । उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १८८ जना समय पालना नगर्ने र २८० जना पोशाक नलाउने परेका छन् । समय पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारवाही गर्न निर्देशन दिइएको बताइएको छ । उनका अनुसार स्पष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारवाही गर्न सिफारिस गरिएको बताए । रासस

अाठ महिनामा २२४ वैदेशिक रोजगारमा जाने कामदार अंगभंग, संख्या बढ्याे

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली कामदार बिरामी र अंगभंग हुने दर अघिल्ला वर्षभन्दा बढ्दै गएको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/७५ को प्रथम आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारमध्ये २२४ जना बिरामी र अंगभंग भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा २०६ थियो । रोजगारीको खोजी गर्दै विभिन्न देश पुगेका नेपाली कामदारमध्ये अंगभंग हुनेमा २२१ पुरुष र तीन महिला छन् । अघिल्लो वर्षमा अंगभंग हुनेमा महिलाको संख्या आठ र पुरुषको संख्या १९८ थियो । आव २०७२/७३ मा भने ११६ कामदार बिरामी तथा अंगभंग भएका थिए । जसमा १११ पुरुष र पाँच महिला कामदार थिए । सरकारले रोजगारीका क्रममा बिरामी र अंगभंग भएका २२४ जनालाई रु तीन लाख ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपालबाट रोजगारीको खोजी गर्दै हरेक वर्ष लाखौँको संख्यामा कामदार विदेशिने गर्छन् । यसरी विदेशिएका कामदारलाई कडा खालको रोग लाग्ने, अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक छ । बोर्डले सार्वजनिक गरिएको आव २०७४/७५ को चैत मसान्तसम्मको तथ्यांकअनुसार महिला १५ र पुरुष ५९३ गरी जम्मा ६०८ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो आवभन्दा मृत्युको संख्यामा केही कमी आए पनि तथ्यांक गम्भीर नै छ । आव २०७३/७४ मा महिला १८ र पुरुष ७३८ गरी कुल ७५६ जनाको मृत्यु भएको थियो । मुख्य गरी मुटुसम्बन्धी रोग, कार्यस्थलमा दुर्घटना, सडक दुर्घटना, हृदयघातजस्ता कारणले वैदेशिक कामदारलाई मृत्युको मुख पुर्याएको पाइएको छ । आव २०७४/७५ को चैत मसान्तसम्मको तथ्यांकले मुटुसम्बन्धी रोगका कारण ५३, आत्महत्याका कारण ९९, कार्यस्थलमा दुर्घटनाबाट ४४, प्राकृतिक मृत्यु ९८, बिरामी भएर ४७, सडक दुर्घटनाबाट ९३, हत्याबाट एक, हृदयघातका कारण ९४, अज्ञात मृत्यु ११ र अन्य कारणबाट ३६ जनाको मृत्यु भएको देखाउँछ । विशेषगरी यसबाट खाडी मुलुकमा गएका कामदार बढी प्रभावित भएका छन् । रासस

शिखर इन्स्योरेन्सले खुलायो १२५ जनालाई रोजगारी, १५ दिनभित्र विवरण पेश गर्नुपर्ने

काठमाडौं । तपाई योग्य हुनुहुन्छ ? योग्यताअनुसार जागिर नपाएर भौतारिरहनु भएको छ ? जागिर नपाएर निराश हुनु भएको छ ? अब निराशलाई आशामा परिणत शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्ने भएको छ । शिखरले सहायक तहदेखि प्रवन्धक सम्मका लागि १२५ जनाका लागि जागिर खुलाएको छ । सहायक प्रवन्धकमा २ जना, बजार प्रवन्धक २०, ब्राण्ड अधिकृत १, एज्युकेटिभ सेक्रेटरी १ र अन्डरराइटिङ, दावी, बजार र लेखाका लागि १०० जना मागेको छ । १५ दिनभित्र आफनो योग्यताको प्रमाणपत्र पेश गर्न शिखरले भनेको छ । कम्पल्यान्स अफिसर, खरिद तथा प्रशासन अधिकृत, बजार प्रव्न्धक, मानव संशाधन, ब्राण्ड र एज्युकेटिभ सेक्रेटरी कर्पोरेट कार्यलय र सहायक, अण्डरराइटर, लेखा, बजार र दावीका लागि उपत्यका बाहिर खटाइने कम्पनीले जनाएको छ ।