लोक सेवा आयोगले खुलायो सातै प्रदेशबाट १९२ जना नासुका लागि जागिर
काठमाडौं । लोक सेवा आयोगले १९२ जना नायब सुब्बा(नासु)को जागिर खुलाएको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गरेर खुल्ला तथा समावेशी कोटामा सो मात्रामा नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको हो । न्युनतम दस्तुर तिरेर माघ १५ गतेसम्म फारम भर्न सकिन्छ भने दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म फारम भर्न सकिनेछ । आयोगले धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयका लागि दरखास्त आव्हान गरेको हो ।
नेपाली कामदारलाई जापान लैजाने प्रकिया शुरू, छनोट विधि प्रतिष्पर्धात्मक र पारदर्शी बनाइने
काठमाडौँ । नेपालका लागि जापानी राजदूत मासामिची साइगाेले नेपाली कामदार जापान लैजाने प्रकिया शुरू भएकाे नेपाल सरकारलाइ जानकारी दिएका छन् । नेपाली कामदारलार्इ जापान लैजाने प्रकिया शुरू नभएकाे श्रम विभागले दावी गरिरहेकाे बेलामा राजदूत साइगाेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगले कामदार लैजाने प्रकिया शुरू भएकाे जानकारी दिएका हुन् । नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई प्रतिस्पधी, पारदर्शी तथा भरपर्दो बनाइने भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच यस विषयमा सहमति भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले साेमबार भएकाे भेटमा कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा गर्ने सहमति भएकाे हाे । नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत मन्त्री विष्टले जाेड दिएका छन् । सो अवसरमा उनीहरुबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो । भेटमा राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा जापान पठाउने सन्दर्भमा जापान सरकारको धारणा सकारात्मक रहेको बताए । उनले नेपाली कामदारलाई जापान लैजाने विषयमा कार्य अघि बढिसकेको जानकारी गराएका छन् । नेपाली कामदारलाई जापान लैजाने विधि र प्रक्रियाका बारेमा छलफल गर्न जापानबाट प्राविधि समूह आगामी माघमा नेपाल आउने तयारी भएकाे उनले जानकारी दिएका छन् ।
दुई लाख बढी घरेलु तथा साना उद्योगमा २४ लाखलाई रोजगारी
काठमाडौँ । नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ६४ हजार नवीकरणमा रहेका बताए । कति उद्योग चलेका छन् भन्नेमा यकिन विवरण नभएपनि अनुमानित दुई लाख उद्योग सञ्चालनमा रहेका महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले जानकारी दिए । नेपालमा सञ्चालित उद्योगमा कूल ३५ हजार ३०० करोड लगानी रहेको भन्दै महासङ्घका कर्याकारी निर्देशक भट्टराईले घरेलु उद्योगको विकासमा सरकारको कम ध्यान पुगेको बताए । विसं २०४७ मा सङ्घको रुपमा स्थापना भएको संस्था २०५३ सालमा महासङ्घ बनेको थियो । महासङ्घका ३५ हजार सदस्य रहेका छन् । महिला मात्रै ११ हजार छन् । उत्पादनमूलक सहकारी एशोसिएट सदस्य हुने व्यवस्था र १९ वस्तुगत सङ्घ रहेका जनाइएको छ । औद्योगिक व्यवसाय ऐन २०६३ अनुसार पाँच लाख पूँजी र नौ जना कामदार भएका तथा २० किलोवाट भन्दा कम विद्युत् खपत गर्ने उद्योग यसमा पर्छन् । घरेलु उद्योगमध्ये सेवामूलक उद्योगमा ४५ प्रतिशत रहेका कार्यकारी निर्देशक भट्टराईले बताए । ऊर्जा र सञ्चार क्षेत्रमा भने न्यून लगानी छ । सबैभन्दा बढी प्रदेश नं ३ मा ३७ प्रतिशत उद्योग सञ्चालनमा छन् । प्रदेश नं ५ मा १७, प्रदेश १ मा १४, प्रदेश ४ मा ९ सुदूरपश्चिममा ६ र गण्डकी प्रदेशमा ९ प्रतिशत उद्योग सञ्चलालनमा छन् । अमेरिकाले नेपालका ७७ वस्तुमा सन् २०२५ सम्म भन्सार नै नलिने घोषणा गरेको जानकारी दिँदै उनले अहिले पश्मिनालगायत न्यून मात्रै वस्तु निर्यात भइरहेको बताए । महासङ्घले साना तथा घरेलु उद्योगको लगानीको वातावरण प्रभावकारी हुन नसकेको बताएको छ । कर्जा लिनदेखि विभिन्न काममा साना उद्योगीलाई समस्या परिरहेको महाङ्घको भनाइ छ । महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि साना तथा घरेलु उद्योगको विकास जरुरी हुने औंल्याउँदै ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नारालाई देशव्यापी बनाउनु पर्नेमा जोड दिए । “साना तथा घरेलु उद्योगीलाई वित्तीय पहुँच नहुनु ठूलो समस्या छ”, प्रजापतिले भने, “ऋण पाउन र व्यापार प्रवद्र्धनमा समेत हामी सक्तनौं, समस्यामा पर्छौं ।” उद्योगमा सिप र दक्ष कामदारको सधै अभाव रहने गरेको महासंघको भनाई छ । नेपाल नविकरणीय उर्जा परिसंघका सल्लाहकार तथा पुर्व मन्त्री गणेश शाहले देशलाई परनिर्भरताबाट स्वावलम्वी बनाउन उद्यमशिलताको विकास जरुरी रहेको औंल्याए । नयाँ प्रविधिको विकाससँगै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिंदे शाहले दाता आउँदा खुसी हुने नभई रोजगारदाता आउँदा खुसी हुने अबस्था सिर्जना गर्नु पर्नेमा जोड दिए ।