नेपाली सेनामा ८ हजारलाई जागिर खुल्यो, कहिलेसम्म आवेदन ?
काठमाडौँ । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेका लेखा जम्दार कर्मचारी, सहायक पण्डित हुद्धा, अमल्दार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय बादन तथा विभिन्न ट्रेडका पलोवर्स पदहरुको लागि ८ हजार ५ सय १७ जनाको जागिर खुलाएको हो । भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, पूर्वी पृतना हेडक्वार्टर इटहरी, श्री नम्बर २ बाहिनी अड्डा धनकुटा, श्री रणबम गण भोजपुर, श्री नम्बर १८ बाहिनी अड्डा गाइघाट, श्री शेर गण दिक्तेल खोटाङ लगायताका देशभरका सैन्य कार्यालयहरुमा कर्मचारी माग गरिएको हो । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा खुला प्रतिष्पर्धाकबाट पदपूर्ति गर्न लागिएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सकिने विभागले जनाएको छ । जेठ १ गतेसम्म आवेदन दिन सकिने र जेठ १२ गते दरखास्त पेश गरेको कार्यालयमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।
चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उनले भने । सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनी बताउँछन् । मलेशियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमितरूपमा श्रम स्वीकृति दिइने उनले बताए । श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन शुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते दुईले श्रम स्वीकृति लिएका थिए । त्यस्तै २६ गते १७, २७ गते सात र २८ गते ३८ जनाले श्रम स्वीकृति लिइसकेका छन् । रासस
११ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति सुरु
काठमाडौँ । मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार कार्यालयले सोमबार दुई र मङ्गलबार १७ जना गरी १९ जनालाई अन्तिम श्रम स्वीकृति दिएको जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही चैत १७ गतेदेखि मलेसियाको कलिङ भिसा आएका व्यक्तिका लागि श्रम स्वीकृति दिने गरी खुला गरेको थियो । यसका लागि कलिङ भिसा आएकाको नेपालस्थित मलेसियाली दूतावासबाट राहदानीमा छाप हान्नुपर्ने भएकाले हिजो सोमबार अबेरबाट मात्रै कलिङ भिसा आएकाले श्रम स्वीकृतिका लागि आउन थालेको ताहचलस्थित श्रम कार्यालयका प्रमुख तेजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार झण्डै ११ महिनादेखि बन्द मलेसियाको रोजगारी सोमबारदेखि श्रम स्वीकृति खुलेको हो । पहिलो चरणमा कलिङ भिसा आएकाको श्रम स्वीकृति दिन थालिएको हो । मलेसियाका रोजगारदाताबाट दुई महिनाअघि कलिङ भिसा पठाएकालाई विभागले भिसा दिन श्रम कार्यालय ताहचललाई पत्राचार गरेको छ । विभागले मलेसियन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी सङ्घलाई जिम्मा दिएको छ । सङ्घले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि झण्डै ११ महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्न लागेको छ । सङ्घका अनुसार झण्डै सात हजार जना कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् । कलिङ भिसा लागेकाले अन्तिम श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने बताइएको छ । श्रम सहसचिव रामप्रसाद घिमिरेले कलिङ भिसा आएकालाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन सुरु गरेको र नयाँका लागि पनि प्रक्रिया सुरु भएको जानकारी दिए । श्रम मन्त्री गोकर्णराज विष्टले मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा हुँदै आएको आर्थिक शोषण अन्त्य गर्न गत जेठ २ गते कठोर निर्णय गरेका थिए । मन्त्री विष्ट आफ्नो निर्णयमा अडिग रहेर मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारबाही गरेपछि गएको मलेसियाको रोजगारी बन्द भएको थियो । त्यसयता नेपाली युवा मलेसिया जान पाएका थिएनन् । गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन । मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड पठाएसँगै मलेसिया जान चाहने नेपाली श्रमिकका लागि रोजगारी खुल्ने भएको छ । आजको गोरखापत्र दैनिकमा समचार छ ।