कर्मचारी सञ्चय कोषमा ३३ जनाको लागि जागिर खुल्यो, कुन पदमा कति ?
काठमाडौँ । कर्मचारी सञ्चय कोषमा ३३ जनाको लागि जागिर खुलेको छ । कोषले आज कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी नौ तहको वरिष्ठ प्रबन्धक देखि ४ तहको सहायक पदसम्म खुला प्रतियोगिताद्वारा कर्मचारी माग गरेको हो । चैत १५ गतेदेखि नै आवेदशन दिन सकिने कोषले जनाएको छ । शुक्रबारदेखि २१ दिनसम्म आवेदन दिन सकिने छ । वरिष्ठ प्रबन्धक(प्रशासन)मा १, प्रबन्धकमा(प्रशासन) १, उपप्रबन्धकमा(प्रशासन) १, उपप्रबन्धक(चार्टड एकाउण्टेण्ट) ३, उपप्रबन्धक(वित्त विश्लेषक) २, सहायक प्रबन्धकमा(प्रशासन) १७, सहायक प्रबन्धकमा(कम्प्युटर) १ र सहायकमा(प्रशासन) ७ जना गरी ३३ जनाको लागि जागिर खुलाइएको हो । विस्तृतमा बिज्ञापन हेर्नुहोस्:
कर्मचारी समायोजन सम्पन्न, २० हजार पदमा लोकसेवा खुल्ने
काठमाडौं । कर्मचारी समायोजनसँगै सरकारले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा झन्डै २० हजार पदमा लोकसेवा खुलाउने गृहकार्य अघि बढाएको छ । कुन तहमा कति भर्ना खुल्ने भन्ने संख्या भने सरकारले निक्र्योल गर्न सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बिहीबार समायोजन प्रक्रिया सम्पन्न भएको घोषणा गर्दै लोकसेवा खुलाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले चैत अन्तिम सातासम्ममा लोकसेवा खुलाउने कार्यले मूर्त रूप पाउने स्पष्ट पारे । सरकारी पक्ष लामो समयसम्म कर्मचारी समायोजनमा अल्झिँदा लोकसेवाका परीक्षा अवरुद्ध हुँदै आएको थियो । ‘संघीयता कार्यान्वयनको एउटा महत्वपूर्ण चरण पूरा गरेका छौं,’ मन्त्री पण्डितले तीनै तहमा समायोजन भएका कर्मचारीको अन्तिम विवरण सार्वजनिक गर्दै भने, ‘अब सबै पदमा लोकसेवा परीक्षाको बाटो खुला भएको छ ।’ मन्त्री पण्डितका अनुसार तीनवटै तहमा गरी १ लाख ३१ जना कर्मचारीको समायोजन गरिएको छ । जसअनुसार संघमा स्वीकृत ४८ हजार ४०९ दरबन्दीमा ३९ हजार ९६० कर्मचारी समायोजन भएका छन् भने स्थानीय तहमा स्वीकृत ६६ हजार ९०८ दरबन्दी मध्ये ४३ हजार ८०७ र प्रदेशमा स्वीकृत २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
कोरिया जान चाहनेको संख्या बढ्यो, भाषा परीक्षाका लागि ८१ हजारको आवेदन
काठमाडौँ । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि बुधबार अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्न सकिने छ । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै, सन् १०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन् । दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनाल सुरक्षित रोजगारी, आकर्षक सेवा सुविधा, काम गर्ने समयावधिको सुनिश्चितालगायत कारणबाट नेपाली युवाको कोरिया मोह बढेको हुनसक्ने बताउँछन् । उनका अनुसार इपिएस अन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै, सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ । भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउने छन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।