खड्काले बोलाए इतर समूहको बैठक, राष्ट्रिय भेला गर्नेबारे निर्णय हुन सक्ने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक बोलाएका छन् । पूर्व सभापति शेरबहादुर देउवाको नाममा संगठित भएको यस समूहको बैठक शुक्रबार दिउँसो २ बजे गोल्फुटारस्थित आफ्नै निवासमा बस्ने नेताहरूले बताएका छन् । बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारी तथा शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ । बैठकमा पार्टीभित्र पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रम, इतर समूहको आगामी रणनीति तथा संगठनात्मक गतिविधिबारे विस्तृत छलफल हुने बताइएको छ । विशेषगरी काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा बैठकले औपचारिक निर्णय गर्न सक्ने स्रोतको भनाइ छ । खड्काले केही दिनअघि संस्थापन पक्षले उठाएका विषयमा सातबुँदे लिखित जवाफ बुझाएका थिए । त्यसको राजनीतिक सन्देश, पार्टीभित्र परेको प्रभाव र अब इतर समूहले अपनाउने रणनीतिबारे पनि बैठकमा समीक्षा हुने जनाइएको छ । विशेष महाधिवेशनपछि इतर समूहले आफ्नो संगठनात्मक सक्रियता बढाउँदै सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ । अब त्यसैको निरन्तरतास्वरूप राष्ट्रियस्तरको भेला आयोजना गरेर आगामी राजनीतिक दिशा तय गर्ने तयारीमा समूह रहेको नेताहरूले बताएका छन् । कांग्रेसभित्र विभिन्न समूहबीच राजनीतिक परामर्श पनि तीव्र बनेको छ । बिहीबार मात्रै पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच छुट्टै छलफल भएको थियो । त्यसलगत्तै खड्काले इतर समूहको बैठक बोलाएकाले कांग्रेसभित्र आगामी रणनीतिक तयारीसँग यसलाई जोडेर हेरिएको छ।
रास्वपाका सांसद डिजिटल निगरानीमा, हरेक गतिविधि ‘पल्सआरएसपी’मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई ‘पल्सआरएसपी’ नामक डिजिटल प्रणालीबारे अभिमुखीकरण गराउने भएको छ । पार्टीलाई डिजिटल रूपमा व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको उक्त प्रणालीबारे जानकारी दिनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गर्न आज बैठक राखिएको हो । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०:३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । बैठकलगत्तै प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग गर्न सकिने, संसद्मा उठाइने विषयवस्तु प्रणालीमा राख्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य कार्यक्रमको विवरणसमेत पोर्टलमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यस प्रणालीमार्फत नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग गुनासा राख्न सक्ने, त्यसको अनुगमन हुने तथा सोही आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने सुविधा समावेश गरिएको रास्वपाले जनाएको छ । पार्टीले उक्त अभिमुखीकरण कार्यक्रममा सबै सांसदको अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिएको छ ।
'मेहनत गरे नेपालमै कमाइ सम्भव छ'- मन्त्री रामजी यादव
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन् । मन्त्रालयमा सबहीबार (आज) आयोजित कार्यक्रममा मन्त्री यादवले युवा उद्यमी र व्यवसायीको सहयोगीका रुपमा मन्त्रालयले भूमिका खेल्ने बताए । उनले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमीलाई पुरस्कृत र सम्मानसमेत गरे । मोरङस्थित प्रशंसा ‘हनि’ फर्मका सञ्चालक लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ भने अन्य ६ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । कतारमा रोजगार गरी स्वदेश फर्केर मौरीपालन गर्दै उद्यमीका रुपमा स्थापित भएका राईले उद्यम यात्राको अनुभव सुनाए । उनले मेहनत भए आफ्नै देशमा आम्दानी गर्न सकिने विश्वास व्यक्त गरे । यसैगरी, झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यमकुमार गोले, पर्वतका शिवकुमार क्षेत्री, अर्घाखाँचीका दिनेश खत्री र बाजुराका कर्मराज मल्लले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरे । कार्यक्रममा मन्त्रालयले बालश्रममुक्त घोषणा भएका १३ स्थानीय तहलाई सम्मान गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका र बाणगङ्गा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बागलुङ्गको बरेङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका र फेदीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाका प्रमुखले सम्मान र प्रशंसापत्र ग्रहण गरे । मन्त्रालयले रोजगार श्रमिकको मापदण्ड पूरा गरेका ६ व्यवसायी प्रतिष्ठानलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नवजीवन अस्पताल प्राली, होङ्सी शिवम् सिमेन्ट, पूर्वी नवलपरासी, अम्बे स्टिल लिमिटेड, एशियन पेन्ट्स नेपाल, मारुती सिमेन्ट लिमिटेड, मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेड रहेका छन् । कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले श्रमिकको हकहित संरक्षण, रोजगार वातावरण सिर्जना र बालश्रममुक्त समाज निर्माण गर्न मन्त्रालयले सधैं प्रभावकारी भूमिका निर्वाह गर्न तत्पर रहँदै आएको बताए । उनले यी तीन पक्ष एकअर्काकामा अन्तर सम्बन्धित भएकाले सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।