सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

ध्रुवसागर शर्मा गलेश्वर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिनमात्र बाँकी रहँदा म्याग्दी जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल, उम्मेदवार, प्रमुख निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरु निर्वाचनको लगभग अन्तिम तयारीमा जुटेका छन् भने नागरिकहरु मतदानको प्रतीक्षामा छन् ।   माघको चिसोमा शरीरभरि न्यानो कपडा लगाएर उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुग्न थालेपछि लामो समयदेखि सुनसान देखिने गाउँबस्ती, सदरमुकाम बेनी बजार, सार्वजनिकस्थल र चिया पसलहरूमा चुनावी बहस सुरु भएको छ ।  एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, मङ्गल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिस्पर्धामा रहेका छन् । दलहरू घरदैलोमा सक्रिय निर्वाचन नजिकिँदै जाँदा यहाँ राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । ठूलादेखि साना दल र स्वतन्त्र उम्मेदवारले मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू सञ्चालन गरिरहेका छन् । नेकपा (एमाले)ले वडादेखि टोलस्तरसम्म छलफल, भेला र बैठक गर्दै सङ्गठनात्मक गतिविधि तीव्र बनाएको जनाएको छ । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई गति दिएको र मतदाता भेटघाटमा व्यस्त रहेको नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताए । एमालेले जिल्ला बाहिर (पोखरा) मा रहेका मतदाताहरुसँग उम्मेदवारसहितको टोली पोखरामा नै पुगेर मतदाता भेटघाट गरेको जनाएको छ ।      नेपाली कांग्रेसले पनि घरदैलो गरी मतदाता भेटघाट कार्यलाई तीव्र बनाएको छ । रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका केही वडामा पुगेर मतदाता भेटघाटपछि उम्मेदवार भण्डारीसहित नेपाली कांग्रेसका नेता कार्यकताहरु सोमबार मतदाता भेटघाटका लागि पश्चिम म्याग्दीतर्फ लागेका नेपाली कांग्रेस म्याग्दीका नेता विक्रम बोगटीले बताए । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि मतदाता भेटघाट, आन्तरिक भेला, जनवर्गीय सङ्गठनका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरामा रहेका मतदाताहरुसँग भेटघाट गरी जिल्ला फर्केको नेकपाको टोली यतिबेला गाउँका मतदाताहरु भेट्न व्यस्त छ । स्वतन्त्र उम्मेदवार डा महावीर पुनलगायत अन्य दलका उम्मेदवारहरु पनि मतदाता भेटघाट गरी आफ्ना योजना तथा विचारहरु सुनाउन घरदैलो अभियानमा व्यस्त रहेका छन् । मुख्य तीन दल र स्वतन्त्र उम्मेदवार पुनबीच प्रतिस्पर्धा म्याग्दीमा कांग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवार महावीर पुनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले २४ हजार २१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार, १८९ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले समेत सर्मथन गरेका थिए । यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसँगै  स्वतन्त्र उम्मेदवार डा. पुन पनि रहेका छन् । यसपटक प्रतिस्पर्धा थप चुनौतीपूर्ण हुने आकलन गरिएको स्थानीयको भनाइ छ । यहाँका मतदाताले प्रत्येक निर्वाचनमा स्वविवेकको आधारमा फरक–फरक दललाई अवसर दिँदै आएको देखिन्छ । यही कारण यसपटकको निर्वाचन परिणाम २०७९ सालको भन्दा फरक हुन सक्ने अनुमान गरिएको छ ।  पूर्व शिक्षामन्त्री डा पुन भित्रिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले भने मैदान छोडेको छ । स्वतन्त्र पार्टीका जिल्ला सभापति युवराज रोकाले पार्टीको सहमतिमा उम्मेदवारी फिर्ताको घोषणा गरे पनि हालसम्म जिल्ला, प्रदेश र केन्द्रीय समितिले समर्थनको पत्र सार्वजनिक गरेको भने छैन । पुराना दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपासँग स्वतन्त्र उम्मेदवार डा. पुन नै प्रमुख प्रतिस्पर्धी मानिएको छ । म्याग्दीका राजनीतिक दलले डा पुनको उपस्थितिको सुरुमा कल्पना नगरेपनि अन्तिममा उनले उम्मेदवारी दिएका थिए ।  एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको यस जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ । यहाँ कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।  बदलिँदो राजनीतिक परिवेश विसं २०७९ पछि सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका घटनाले राजनीतिक माहोल बदलिएको छ । युवा मतदाताको सक्रियता, सामाजिक सञ्जालको प्रभाव र नयाँ मतदाताको प्रवेशले २०८२ को निर्वाचनलाई थप चासोपूर्ण बनाएको देखिएको छ । घोषित निर्वाचन मिति नजिकिँदै जाँदा म्याग्दीमा राजनीतिक गतिविधि झन सक्रिय बन्दै गएको छ । गत भदौको ‘जेनजी’ आन्दोलनपछि केही समय सुस्त देखिएको दलीय गतिविधि पुनः पुरानै लयमा फर्किएको स्थानीयहरू बताउँछन् । सुरुमा विगतमा झैँ नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको भए पनि अहिले परिस्थिति फेरिएको धेरैको अनुमान छ । नेकपा एमालेको २०४६ सालयता बलियो आधार मानिएको अन्नपूर्ण गाउँपालिका ८, राम्चे, नाँगीका स्थायी बासिन्दा रहेका छन् डा. पुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका एमालेको बलियो मत भएको क्षेत्रमा डा पुनको उपस्थितिले नयाँ तथा पुराना मतदाताहरूको सोचमा पनि फेरबदल आउन सक्ने देखिन्छ ।  यस्तो छ निर्वाचनको तयारी  आसन्न निर्वाचनका लागि मतदाताको सुरक्षा, मतदानस्थलको निरीक्षणलगायत आवश्यक सम्पूर्ण तयारीहरु तीव्र गतिमा रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्रमध्ये माघ १९ गते (आइतबार)सम्म एकसय मतदान केन्द्रको अनगुमन तथा निरीक्षण गरेर आवश्यक तयारी गर्न सुरु गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमलगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमन तथा निरीक्षण गरेको हो । टोलीले मतदानस्थलको भौतिक पूर्वाधार, सडक, खानेपानी, शौचालय, घेराबार, विद्युत्लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमन गरिएको हो ।  'मतदानस्थलमा पानी, बिजुली, मतपत्र ढुवानीको सहजता, मतदातालाई सुविधालगायत समग्र पूर्वाधारको अवस्थाका बारेमा अनुगमन निरीक्षण  गरेका छौँ', प्रजिअ आचार्यले बताए । सबै मतदानस्थलको अनुगमन सकेपछि सुधार गर्नुपर्ने देखिएका मतदानस्थलको तत्काल सुधारको काम पनि थाल्ने योजना बनाएको उनले बताए । निर्वाचन प्रहरी छनोट तथा प्रशिक्षण  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहहादुर थापाका अनुसार शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरूलाई आवश्यक निर्देशन र प्रशिक्षण दिन सुरु गरिएको छ ।  निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २८६ जनामध्ये २१२ जना छिमेकी जिल्ला बागलुङमा पठाइएको छ । छनोट भएका निर्वाचन प्रहरीहरुका लागि आइतबारदेखि तालिम सञ्चालन गरिएको छ ।  निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गरिएको हो । जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यसहित सुरक्षा अधिकारीहरुको टोलीले मतदानस्थलको निरीक्षण कार्यलाई अन्तिम चरणमा पुर्याएको जनाइएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्यमा दुई, छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ मतदानस्थलमा १२० मतदान केन्द्र कायम गरिएको छ । रासस

क्षेत्र नम्बर ९२ देखि गुल्मी–२ सम्म बदलिँदो जनमतको कथा

काठमाडौं । गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का घरघरमा अहिले चुनावको रौनक छ । स्थानीय ९५ वर्षीय बुद्धिप्रसाद भुसाल भन्छन्, ‘यो क्षेत्रमा २००४ सालको पञ्चायत चुनावमा पनि उत्तिकै रौनक थियो । त्यो रौनक अहिलेपनि उस्तै छ । भुसालको अनुभवमा २०१५ को आमचुनाव त वडादशैंजस्तै थियो ।’  जिल्लाको तत्कालीन ९२ नम्बर निर्वाचन क्षेत्र हालको निर्वाचन क्षेत्र नम्बर २ हो । उक्त क्षेत्र २०१५ मा पनि हाईप्रोफाइल उम्मेदवारका कारण चर्चामा रहेको थियो । २०१५ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका चर्चित नेता नीलाम्बर पन्थीका कारण चर्चामा थियो । २०१५ मा उच्च मतसहित निर्वाचित भएका पन्थी २०४८ मा राष्ट्रिय सभा सदस्यसमेत भएका थिए भने हाल यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट चौथो जित र एक हारसहित पाँचवटा निर्वाचनको अनुभव बोकेर छैटौं प्रतिस्पर्धामा रहेका छन् ।  फर्केर हेर्दा  २०१५ सालको आमनिर्वाचनमा देशलाई १०९ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो । यो निर्वाचनमा ७८६ जना उम्मेदवारले भाग लिएका थिए । देशको कुल जनसंख्या करिब ८५ लाख ५० हजार रहेको थियो । यस निर्वाचनमा ४२ दशमलव १८ प्रतिशत मत खसेको थियो । गुल्मीको हाल निर्वाचन क्षेत्र नम्बर २ त्यतिखेर निर्वाचन क्षेत्र नम्बर ९२ थियो । उक्त ९२ नं निर्वाचन क्षेत्रमा धुर्कोट, इस्मा, मुसिकोट र मदाने समावेश थिए । यस क्षेत्रका प्रमुख दलहरूमा नेपाली कांग्रेस, राष्ट्रवादी गोर्खा परिषद, संयुक्त प्रजातान्त्रिक पार्टी, नेपाल प्रजा परिषद र प्रजातान्त्रिक महासभा पार्टीका उम्मेदवारहरू मैदानमा थिए । नेपाली कांग्रेसका उम्मेदवार नीलाम्बर पन्थीले ८ हजार मत प्राप्त गरेको डा. हरिप्रसाद भण्डारीले वस्तु स्मारिकाको यस क्षेत्रको निर्वाचन इतिहास भन्ने लेखमा उल्लेख गरेका छन् ।  पन्थीलाई टक्कर दिएका राष्ट्रवादी गोर्खा परिषद्का प्रेमबहादुर मल्लले    झुपडी चिन्हमा ६ हजार मत ल्याएका थिए । संयुक्त प्रजातान्त्रिक पार्टीका केशरजङ माझीले    ३ हजार मत प्राप्त गरेको डा. भण्डारीले उल्लेख गरेका छन् । उक्त निर्वाचनमा निर्वाचन क्षेत्र नम्वर ९२ बाट नेपाल प्रजा परिषद्का गोपालप्रसाद श्रेष्ठले २ हजार र प्रजातान्त्रिक महासभाका शमशेरबहादुर मल्लले १ हजार मत प्राप्त गरेका थिए । डा. भण्डारीका अनसार निर्वाचनअघि मतदाताको सूची गाउँगाउँमा संकलन गरिएको थियो । त्यो बेलामा करिब ४० हजार मतदाता थिए । मतदान नोट–समान टिकटमा गरिन्थ्यो । मतपत्र बाकसमा खसालिएपछि बाकसहरू इस्मा रजस्थल लगेर खुला चौरमा सर्वसाधारणको उपस्थितिमा मतगणना गरिएको भण्डारीले लेखेका छन् । उक्त निर्वाचनको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार निलाम्बर पन्थी सबैभन्दा बढी मत प्राप्त गरी विजयी भएका थिए । संयुक्त जनआन्दोलन २०४६ को सफलतापछि कांग्रेस, वाम मोर्चा र नागरिक समाज सम्मिलित अन्तरिम सरकार बन्यो ।  सोही सरकारले जारी गरेको नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०४८ बैशाख २९ गते आम निर्वाचन सम्पन्न भयो ।  यस अघि २०१५ को निर्वाचनमा क्षेत्र नम्बर ९२ रहेको निर्वाचन क्षेत्र गुल्मी निर्वाचन क्षेत्र नम्बर ३ बन्यो । २०१५ मा कांग्रेसले जितेको उक्त क्षेत्रमा २०४८ मा पनि आफ्नो जित निकाल्यो । कांग्रेसका रुद्रमणि शर्माले १३ हजार ७३२ मत प्राप्त गरेका थिए । शर्माका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टंकप्रसाद पोखरेलले शर्माले भन्दा ३३५ मत कम ल्याएका थिए । पोखरेलले १३ हजार ३९७ मत पाएका थिए ।  २०१५ र २०४८ मा जित निकालेको कांग्रेसले यसपछि भने लय गुमाउँदै गयो । २०५१ को मध्यावधि निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेले पहिलो पटक जित निकाल्न सफल भयो । यस क्षेत्रमा २०४८ कै उम्मेदवार २०५१ मा पनि प्रतिस्पर्धामा थिए । मध्यावधि निर्वाचन २०५१ मा एमालेका पोखरेलले १४ हजार ३९७ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका शर्मा ७३२ मत कम ल्याएर पराजित भए । शर्माले १३ हजार ६६५ मत ल्याएका थिए । ०५६ मा पनि एमालेकै गोकर्णराज विष्ट उक्त क्षेत्रबाट निर्वाचित भए । विष्टले १८ हजार २० मत ल्याउँदा कांग्रेसका त्रैलोक्य प्रताप सेनले १५ हजार ७६४ मत प्राप्त गरेका थिए ।  तर २०६४ को पहिलो संविधान सभा निर्वाचनमा यस क्षेत्रमा एमाले ह्याट्रिक जित निकाल्नबाट भने चुक्यो । उक्त निर्वाचनमा तत्कालीन नेकपा माओवादीका चन्द्रबहादुर थापा सागरले विष्टलाई पराजित गरेका थिए । कांग्रेसका सुरेश भुसाल भने तेस्रो भएका थिए ।  थापा १६ हजार ५८१ मत प्राप्त गरी विजयी हुँदा विष्टले १५ हजार ८८१ मत प्राप्त गरेका थिए भने भुसालले १० हजार मत पाएका थिए । २०७० मा भने विष्टले सानदार कमब्याक गरे । उक्त निर्वाचनमा विष्टले १५ हजार १२ मत ल्याए भने नेपाली कांग्रेसका सेनले ८ हजार ७४५ मत प्राप्त गरेका थिए । माओवादीका उम्मेदवार बामदेव क्षेत्रीले ५ हजार २४२ मत ल्याएका थिए । यसपछि भने एमालेले लगातार जित हासिल गर्दै आएको छ । राज्य पुनर्संरचनापछि पहिलोपटक साविककाे ३ नं. क्षेत्र सबै र १ र २ निर्वाचन क्षेत्रका केही भाग जोडेर निर्वाचन क्षेत्र नम्बर २ भएपछि भएको आम निर्वाचन २०७४ मा एमालेका विष्टले ३४ हजार ६१८ मत पाएर जित निकालेका थिए । विष्टसँग पराजित कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत ल्याएका थिए । यस्तै, २०७९ मा पनि एमालेका विष्टले पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी रामकुमारी झाँक्रीलाई पराजित गरेका थिए । विजेता विष्टले २८ हजार ५८५ मत ल्याएका थिए । उपविजेता बनेकी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी थिइन् ।  एमालेकै अग्रता कायम रहन सक्ने सम्भावना गुल्मी जिल्ला आगामी प्रतिनिधि सभा निर्वाचनको प्राथमिक दृष्टिकोणमा राजनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको छ । विगतका निर्वाचनमा क्षेत्रीय मतदाताले एमालेका उम्मेदवारलाई लगातार विजयी बनाएका थिए र २०७९ को नतिजाले यस ट्रेन्डलाई पुष्टिसमेत गरेको छ । यस आधारमा आगामी निर्वाचनमा पनि एमालेले यस क्षेत्रमा अग्रता कायम राख्न सक्ने सम्भावना उच्च देखिन्छ । एमाले नेताहरूका अनुसार गुल्मी‑२ मा एमालेप्रतिको जनसमर्थन बलियो रहेको छ । यहाँका ग्रामीण क्षेत्रका मतदाताले परम्परागत रूपमा पार्टीको स्थायित्व र विकासमूलक अभियानमा विश्वास देखाउँदै आएको एमालेका स्थानीय नेता विमल घिमिरेले दाबी गरे । यस क्षेत्रमा एमालेले पार्टी उपाध्यक्ष समेत रहेका निवर्तमान सांसद विष्टलाई नै उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले पनि केही वडामा आफ्नो समर्थन बढाउन सक्ने सम्भावना रहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् । कांग्रेसले विगतमा हेर्‍यौं अरूलाई, यसपटक भने कांग्रेसलाई हेर्न आग्रह गरेको स्थानीय नेता रविन्द्र घिमिरेले बताए । कांग्रेसले लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ २०७४ मा भएको स्थानीय चुनावमा रेसुंगा नगरपालिकाको मेयर पदमा पराजित भएका थिए । यसैगरी, २०७९ मा सम्पन्न आमनिर्वाचनमा प्रदेश सभा सदस्यमा उनी पराजित भएका थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका गोविन्द पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी नेपाल प्रहरीका निवृत्त प्रहरी नायव उपरीक्षक हुन् ।  त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य श्रीराम महतलाई उम्मेदवार बनाएको छ । उनी निजी विद्यालय सञ्चालक हुन् । उनी विशेषगरी मुसिकोट नगरपालिका क्षेत्रमा परिचित नेता हुन् ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै सातै प्रदेशमा खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।  उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा पार्टीको अवस्था बुझ्न र संगठन सुदृढीकरण गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो । प्रवक्ता देवराज चालिसेका अनुसार तोकिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशअन्तर्गतका जिल्लामा पार्टी संगठनको अवस्था मूल्यांकन गर्ने, निर्वाचन तयारीबारे जानकारी लिने तथा आवश्यक विषयमा केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी पाएका छन्। कोशी प्रदेशमा ताप्लेजुङ, इलाम, पाँचथर र झापाका लागि सहमहामन्त्री डा. डिला संग्रौलालाई केन्द्रीय प्रतिनिधि बनाइएको छ ।  संग्रौलासँगै निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई समेत खटाइएको प्रवक्ता चालिसेले जानकारी दिए ।  त्यसैगरी, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी जिम्मेवार छन् । सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा र सप्तरीमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी लाई खटाइएको चालीसेले जानकारी दिए । त्यस्तै, बागमती प्रदेशमा धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ ।  काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याल खटिएको चालिसेले जानकारी दिए ।  भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दीलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतमले जिम्मेवारी पाएका छन्। गण्डकी प्रदेशमा पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएका छन् । स्याङ्जा, कास्की, मनाङ र नवलपुरमा ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल तथा गोरखा, लमजुङ र तनहुँमा अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीलाई जिम्मेवारी दिइएको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन् । कपिलवस्तु, अर्घाखाँची, रुकुम पूर्व, प्यूठान र रोल्पामा कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्य रहेका छन् । दाङ, बाँके र बर्दियामा चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रंगमती शाहीलाई जिम्मेवारी तोकिएको चालिसेले जानकारी दिए। सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना खटाइएका छन् । कैलाली र डडेलधुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावललाई खटाइएको चालिसेले बताए ।  यता सुदूरपश्चिमकै अन्य जिल्लामा नृपबहादुर वड तथा डोटी, अछाम र बाजुरामा नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टलाई जिम्मेवारी दिइएको निर्वाचन परिचालन समितिले जनाएको छ । चालिसेका अनुसार कांग्रेसले केन्द्रीय प्रतिनिधिमार्फत संगठन मजबुत बनाउने, स्थानीयको अवस्था बुझ्ने र निर्वाचन तयारीलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।