परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार पदभार ग्रहण गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय नेता खनाल पार्टीको विदेश विभाग प्रमुखसमेत हुन् । उनले पार्टीभित्र पर्यटन विभाग प्रमुखको जिम्मेवारी पनि वहन गर्दै आएका छन् ।  ४७ वर्षीय खनाल शैक्षिक रूपमा पनि सशक्त पृष्ठभूमि बोकेका छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन-म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् भने बज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।  नयाँ परराष्ट्रमन्त्रीको रूपमा खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउने, कूटनीतिक पहललाई प्रभावकारी बनाउने तथा देशको हितलाई विश्वमञ्चमा अझ मजबुत रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । 

प्रधानमन्त्री बालेन साहको पहिलो मन्त्रिपरिषद बैठक ४ बजे बस्दै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेपछि शुक्रबार साँझ ४ बजे पहिलो मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।  बैठकले आगामी दिनमा सरकारको प्राथमिकता र कार्यदिशा तय गर्ने स्रोतले जनाएको छ ।  बैठकमा नीति तथा कार्यक्रम निर्धारण र देशका तत्कालीन राजनीतिक तथा आर्थिक चुनौतीहरूको सामना गर्ने रणनीतिका विषयहरू समावेश हुने जनाइएको छ । 

गुरुका कारण ‘सुधन बने, अहिले ‘गृहमन्त्री’

काठमाडौं । ‘गुरुलाई ढोग्थें । सम्मान गर्ने बानी पहिलेदेखि नै थियो । गुरुको कारण बनेको सुधन हुँ,’ करिब तीन महिनाअघि सुधन गुरुङले एक टीभी अन्तर्वार्ताका क्रममा भनेका थिए । तिनै गुरुङ आज मुलुकको गृहमन्त्री बनेका छन् । गुरुले समाज र राष्ट्रको महत्त्व बुझाउने तिनै गुरुङले आजदेखि गृह प्रशासनको बागडोर सम्हाल्ने छन् । गुरुङ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा गोरखा १ बाट २९ हजार ८९६ मत पाएर विजयी भएका थिए ।  गुरुङ जेनजी आन्दोलनबाट उदाएका नेता हुन् । यहीँ आन्दोलनले उनको जीवनमा राजनीतिक परिवर्तन ल्याएको हो  गुरुङको सक्रियता आन्दोलनपछि पनि  उत्तिकै थियो । उनले सरकार सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार बनाउन अहम भूमिका खेलेका थिए । कार्की प्रधानमन्त्री बनेपछि उनले राष्ट्रपति कार्यालयमा खुट्टासमेत ढोगेका थिए। कार्की नेतृत्वको सरकारमा उनको हस्तक्षेपकारी भूमिका थियो । गुरुङको जन्म गोरखाको दुर्गम चुमनुम्रीमा २०४४ सालमा सामान्य परिवारमा भएको थियो ।आमासँग सम्बन्धविच्छेदपछि उनको बुवा रोजगारीका लागि भारत गए । तीनजना काकामध्ये कान्छा काकाले सुधनलाई आफ्नै परिवारसँग राखे । उनी हजुरवुवासँग बसेर हुर्किएका हुन् ।  पढाइमा भने सुधन सफल हुन सकेनन् । कक्षा १० मा असफल भएपछि उनले पढाइ छाडे । सुरुमा कल सेन्टरमा काम गरेर सुधनले गुजारा चलाए । पाँच–छ वर्षपछि उनी ठमेलका क्लब र पार्टीहरूमा डीजे बने । ‘डीजे सुधन’ नामले ठमेलका क्लबबीच उनी परिचित भए ।  ठमेलमा उनले पैसा मात्र कमाएनन्, ठूलो नेटवर्क पनि बनाए ।  उनले ‘हामी नेपाल’ नामको गैरसरकारी संस्था स्थापना गरे । यो संस्थाले २०७२ को भूकम्प, कोभिड महामारीमा काम गरेको थियो । विशेषगरी यसले युवा सशक्तिकरणमा काम गर्छ ।  सुधनको सम्पर्क राजनीतिदेखि व्यवसायीसम्म, विदेशी पाहुनादेखि एनजीओसम्म थियो। २०७२ सालको विनाशकारी भूकम्पमा वीर अस्पताल र ट्रमा सेन्टरमा शव र घाइतेको भीड बढ्दा गुरुङ उद्धारमा सक्रिय थिए । उनले स्वयंसेवक परिचालन गरी अस्पताललाई सहज बनाए । त्यहीँबाट उनले ‘सामाजिक अभियन्ता’को परिचय बनाएका हुन् । गुरुङ आफूलाई सामाजिक सेवामा आफ्नै खर्च गर्ने र पारदर्शितामा जोड दिन चाहन्छन् ।