केही दिनभित्रै ग्यास आपूर्ति सहज हुन्छ, हतारिएर सञ्चय नगर्नू : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति समस्या अस्थायी रहेको बताउँदै केही दिनभित्रै अवस्था पूर्ण रूपमा सामान्य हुने विश्वास व्यक्त गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री कुमारीले ग्यास अभावबारे फैलिएका अफवाह र भ्रमपूर्ण सूचनाले उपभोक्तामा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै संयमता अपनाउन आग्रह गरिन् । उनले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गर्दै सरकारले आपूर्तिलाई नियमित र सहज बनाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिइन् । मन्त्री कुमारीले वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सबै ग्यास डिलरलाई खरिदकर्ताको विवरण अभिलेखीकरण गर्न निर्देशन दिइएको बताइन् । साथै, वैकल्पिक सिलिन्डरको व्यवस्था नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि आग्रह गरिएको उनले स्पष्ट पारिन् । उनका अनुसार सरकारको प्राथमिकता सबै उपभोक्ताले समान र न्यायोचित रूपमा ग्यास प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु रहेको छ । केही दिनभित्र आपूर्ति प्रणाली पूर्ण रूपमा सहज हुने भएकाले हल्लाको पछि नलाग्न उनले सर्वसाधारणलाई पुनः आग्रह गरिन् ।  

देउवा पनि राष्ट्रिय भेलामा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जनाएको छ । भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी विवादमा पूर्वनिर्णय पुनरावलोकनका लागि निस्सा दिएपछि पार्टीभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको र त्यसले राष्ट्रिय भेलाप्रति कार्यकर्ताको उत्साह थप बढाएको उनले बताए । उनले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अन्तिम न्यायिक निर्णयबाट आफूहरू न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरे । अदालतको पछिल्लो आदेशले राष्ट्रिय भेलाको उद्देश्य वा कार्यदिशामा कुनै परिवर्तन नआएको, बरु पार्टीभित्र वैचारिक तथा सांगठनिक अभियानलाई थप बल पुगेको उनको भनाइ थियो । कोइरालाका अनुसार सुरुमा १० देखि २० हजार प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता हुने अनुमान गरिएको भए पनि अदालतको आदेशपछि सहभागिता अपेक्षाभन्दा धेरै हुने संकेत देखिएको छ ।   उनले पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्का स्वास्थ्य अवस्थाका कारण तथा नेता डा. शेखर कोइराला पूर्वनिर्धारित कार्यक्रमका कारण विराटनगरमा रहेकाले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको स्पष्ट पारे ।  यद्यपि राष्ट्रिय भेलाप्रति दुवै नेताको पूर्ण समर्थन रहेको उनले बताए । साउन २६ गते पूर्वसभापति देउवा स्वदेश फर्कने क्रममा सम्भावित धरपकडको चर्चा भइरहेका बेला कोइरालाले त्यस्तो कुनै सम्भावना नरहेको दाबीसमेत गरे ।  यदि कुनै प्रकारको हस्तक्षेप वा धरपकडको प्रयास भए कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए । कोइरालाले मुलुकको वर्तमान राजनीतिक अवस्थाले कांग्रेसलाई वैचारिक रूपमा पुनः एकताबद्ध र सांगठनिक रूपमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय भेला त्यस दिशामा महत्त्वपूर्ण मोड साबित हुने दाबी गरे। उनले कांग्रेसका भातृ संस्था, शुभेच्छुक तथा देशभरका कार्यकर्तालाई भेलामा सक्रिय सहभागिताका लागि आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल विचारलाई केन्द्रमा राखेर पार्टीलाई नयाँ ऊर्जा र नयाँ दिशा दिने अभियानका रूपमा राष्ट्रिय भेलालाई सफल बनाउन आग्रह गरे ।

सर्वोच्चको आदेशपछि कांग्रेस एकताबद्ध हुने सम्भावना बढ्यो : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पार्टीभित्र एकताको सम्भावना थप बलियो बनेको बताएका छन् । शुक्रबार (आज) सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको आदेशले कांग्रेसभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको उल्लेख गर्दै राष्ट्रिय भेलाप्रति नेता–कार्यकर्ताको आकर्षण बढ्दै गएको दाबी गरे ।  उनका अनुसार भेलामा सहभागी हुनेको संख्या अपेक्षाभन्दा बढी हुने संकेत देखिएको छ । पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उल्लेख गर्दै कोइरालाले उनको आगमनका क्रममा कुनै धरपकड नहुनेमा विश्वास व्यक्त गरे ।  यदि त्यस्तो अवस्था सिर्जना भए त्यसको राजनीतिक प्रतिवाद गरिनेसमेत उनले चेतावनी दिए । ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन भन्ने हाम्रो विश्वास छ । यदि त्यस्तो भइहाले हामी विरोध गर्छौं,’ उनले भने । पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्का अनुपस्थित हुनुको कारण स्वास्थ्य अवस्था रहेको जानकारी पनि उनले दिए।  खड्काको स्वास्थ्यमा सुधार भइरहे पनि चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेकाले कार्यक्रममा सहभागी हुन नसकेको उनले बताए । त्यसैगरी, अर्का नेता डा. शेखर कोइरालाले पनि राष्ट्रिय भेलालाई समर्थन गरेको दाबी गर्दै उनले विराटनगरस्थित निजी निवास निर्माणको काममा व्यस्त रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।