केही दिनभित्रै ग्यास आपूर्ति सहज हुन्छ, हतारिएर सञ्चय नगर्नू : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति समस्या अस्थायी रहेको बताउँदै केही दिनभित्रै अवस्था पूर्ण रूपमा सामान्य हुने विश्वास व्यक्त गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री कुमारीले ग्यास अभावबारे फैलिएका अफवाह र भ्रमपूर्ण सूचनाले उपभोक्तामा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै संयमता अपनाउन आग्रह गरिन् ।

उनले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गर्दै सरकारले आपूर्तिलाई नियमित र सहज बनाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिइन् ।

मन्त्री कुमारीले वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सबै ग्यास डिलरलाई खरिदकर्ताको विवरण अभिलेखीकरण गर्न निर्देशन दिइएको बताइन् । साथै, वैकल्पिक सिलिन्डरको व्यवस्था नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि आग्रह गरिएको उनले स्पष्ट पारिन् ।

उनका अनुसार सरकारको प्राथमिकता सबै उपभोक्ताले समान र न्यायोचित रूपमा ग्यास प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु रहेको छ । केही दिनभित्र आपूर्ति प्रणाली पूर्ण रूपमा सहज हुने भएकाले हल्लाको पछि नलाग्न उनले सर्वसाधारणलाई पुनः आग्रह गरिन् ।  

Share News